१० रूपैयाँको माछा बेच्थे, अर्बौँको मालिक भए


सविता बुढा
प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८
145.8K
SHARES

काठमाडौँ – युवा उमेर चढ्दै जाँदा के व्यवसाय गर्ने र कसरी कमाउने भन्ने कुराले दिमागमा डेरा जमाउँछ। कुनै व्यापार–व्यवसाय गर्ने कि, जागिर खाने वा विदेश पो जाने कि ! यस्तै यस्तै सोचाइले दिमाग भरिन्छ तर टुंगो गर्न निकै मुश्किल पर्छ।

आउनुहोस्, यस्तै मुश्किल पार गरेर सफल बनेका दार्चुलाको लेकम गाउँपालिका–१ का मानसिंह साउदको व्यावसायिक जीवनको कथा थाहा पाऔं।

मानसिंहको परिवार कृषिमा आधारित थियो। घरमा काम सघाउँदै उनले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरे।

खेतमा मकै र गहुँ बढी फल्ने भएकाले घरमा चामलको भात विरलै पाक्थ्यो। चामलको भात पाकेका दिन मानसिंह निकै खुसी हुन्थे। घरबाट एक घण्टा हिँड्दा चौलानी नदी पुगिन्थ्यो।

स्कुलबाट फर्केपछि उनी साथीहरूसँग मिलेर चौलानी नदीमा माछा मार्न पासो थाप्थे। पासो थाप्न नदीमै पस्नु पर्थ्यो। जाडो महिनाको चिसो पानीमा डुब्दा मुश्किल हुन्थ्यो। बेलुका थापेको पासोबाट माछा निकाल्न एकाबिहानै पुग्थे र उसै गरी नदीमा पस्थे।

‘यसरी समातेका माछा बेचेर म सानोतिनो खर्च जुटाउँथे। गोकुलेश्वर बजारमा एउटा माछा दस रूपैयाँमा बेच्थेँ’ उनले भने, ‘त्यही पैसाले लुगा धुने, नुहाउने साबुन किन्थेँ। कापीकलम पनि ल्याउँथेँ।’

मानसिंह किसानका घरमा हुने घाँस काट्ने, दाउरा बोक्ने, गाईबस्तुको स्याहार गर्ने इत्यादि अरू सबै काम गर्थे। एसएलसी परीक्षापछि उनी अलि फरक काम गर्न चाहन्थे। यो कुरा आफ्नी आमालाई बताउँथे। कहिले जागिर खान्छु भन्थे त कहिले व्यापारको कुरा गर्थे।

एक पटकको कुरा हो। गाउँमा झोलुंगे पुल बनाउने काम गर्न ओभरसियर आएका थिए। मानसिंहलाई ओभरसियर हुन मन लाग्यो। एसएलसी सकेर ओभरसियर हुने सोच्दै थिए, दुई विषयमा फेल पो भए। अर्को पटकमा पास भए तर ओभरसियर हुने सपना अलपत्र पर्‍यो।

जागिर पाउन सजिलो थिएन। उनले सेना वा प्रहरीतिर जाने सोच पनि बनाए। त्यति बेला उनका एक जना दाजु अनुसन्धान विभागमा जागिरे भएका थिए। मानसिंहलाई भने बरू जागिरभन्दा बढी कुनै व्यापार–व्यवसायतिर जाने सोच आयो।

त्यो समय दार्चुलामा विद्यार्थीले किताबकापी किन्न सजिलो थिएन। पैसा भए पनि चाहिएको बेलामा पाइन्थेन। मानसिंहले किताबकापी बेच्ने पसल चलाउने विचार गरे। घरमा सल्लाह गरे, कुरा मिल्यो। धनगढीबाट किताबकापी लगेर दार्चुलामा बेच्ने भए। मानसिंह र उनका एक जना दाजुले काम थाले।

उनीहरूले कृषि विकास बैंकबाट २५ हजार रूपैयाँ ऋण निकाले। दाजुले जागिरबाट आएको केही रकम लगाए। अनि गोकुलेश्वरमा खोले ‘चौलानी पुस्तक पसल ।’

पाठ्यक्रमका किताब, गेसपेपर, गाइड, कापी लगायत थोकमा किन्न धनगढी र महेन्द्रनगर पुग्नु पर्थ्यो। त्यस बेला चौलानी नदीमा पुल थिएन। महेन्द्रनगरबाट गाडी बैतडीतर्फ नदी किनारमा मात्रै पुग्थ्यो। गाडीले झारिदिएपछि मानसिंह र उनका दाजु सामानको भारी आफैं बोक्थे। घर र पसलको पैदल दूरी करिब डेढ घण्टा थियो। सुरूसुरूमा थोक व्यापारीबाट सबै नगद किने पनि बिस्तारै उधारो पाउन थाले।

‘सानोतिनो व्यापार थाल्न धेरै पैसा चाहिँदैन। थोरैले सुरू गरेर पनि राम्रो गर्दै व्यवसाय बढाउन सकिन्छ,’ मानसिंह भन्छन्, ‘व्यवसाय ग्राहक र साहु (थोक व्यापारी) ले सिकाउँछन्। सामान किन्न आउनेले यो(यो चाहिन्छ भन्छन्। साहुले कुन सामान बढी बिक्छ भन्ने बताइदिन्छन्।’

उनीहरूले पसल खुल्ने र बन्द हुने समय कहिल्यै फरक पारेनन्। अरू व्यापारीले किताब किन्दा कापी किन्नै पर्ने भन्थे, मानसिंहले भने यो नियम लगाएनन्। जुन किताब खोजेको हो त्यही मात्र दिए। खुकुलो नियमले उनको पसलमा ग्राहकहरू रत्तिए।

मानसिंहको पसलमा बझाङको बुङ्गलबाट पनि ग्राहकहरू आउँथे। उनीहरू बाटोमा बास बस्नु पर्थ्यो। टाढाका ग्राहक बढी आउने समयमा पसल सकेसम्म धेरै समय खुला राख्थे। त्यस्तै टाढाका ग्राहकले मागेअनुसार पठाइदिने व्यवस्था पनि गरे।

‘पैसा धेरै कमाउने अरू पनि व्यापार थिए तर किताबको व्यापारले मलाई सन्तुष्टि दियो,’ मानसिंह भन्छन्, ‘बिस्तारै पत्रिका, कस्मेटिक सामान र चकलेटहरू पनि राखेँ।’

यसैबीच उनलाई फोटो व्यवसाय चलाउने सोच आयो र फोटोग्राफी सिक्न दिल्ली गए। उताबाट फर्केपछि उनले क्यामरा र ल्याब राखेर फोटो स्टुडियो चलाए।

मानसिंहको व्यवसाय बढ्दै गयो। वार्षिक आम्दानी १५–२० लाख रूपैयाँ पुग्यो। तत्कालीन सशस्त्र द्वन्द्वकालमा माओवादीहरू आफ्ना पत्रपत्रिका बेच्न लगाउँथे। कार्यक्रमका फोटा प्रिन्ट गराउँथे। यसबाट पनि आम्दानी हुन्थ्यो।

एकदिन मानसिंहका भान्जा माओवादीका फोटासहित पक्राउ परे। माओवादीले आफ्ना फोटा प्रहरीलाई बुझाएको आरोप लगाएर मानसिंहको पसललाई तारो बनाउन थाले। पक्राउ परेको हो भनेर विश्वास दिलाउन सकेपछि केही सहज त भयो तर कहिलेकाहीँ तर्साइरहे।

उता माओवादीका पत्रिका बेचेको भन्ने पोल परेपछि सरकारी सेना र प्रहरीले हैरान पार्न थाले। उनको पसल माओवादी र प्रहरीको दोहोरो मारमा पर्‍यो। माओवादीले त चन्दा तोक्यो, सरकारी सेवाबाट दाजुलाई फिर्ता बोलाउनू भनेर उर्दी जारी गर्‍यो।

दुवैतिरबाट चेपिएपछि मानसिंह २०६० सालमा धनगढी झरे। दार्चुलाको पसल थप तीन वर्ष दाजुले चलाए। मानसिंहले एउटा सटर र अर्को एउटा कोठा भाडामा लिए। त्यसैमा ुचौलानी पुस्तक भण्डारु चलाउन सुरू गरे।

‘धनगढीमा मेरो अनुभव र सिपको अधिकतम उपयोग गरेँ,’ उनले भने, ‘ग्राहकलाई दिन सक्नेसम्मको सुविधा दिएँ। व्यवसाय बढ्दै गयो।’

एक वर्षपछि उनले काममा मद्दत गर्न घरबाट बहिनी बोलाए। विद्यार्थी बहिनीले व्यवसायमा मद्दत गरिन्। अर्को वर्ष एक जना सहयोगी कर्मचारी राखे। पछि दाजुभाइको सल्लाहले दार्चुलाको पसल बेचे। महेन्द्रनगरमा अर्को पसल खोले।

यसरी यो व्यवसायमा मानसिंहले सत्र वर्ष बिताइसके।

अहिले चौलानी ग्रुप नाममा पुस्तक पसलबाहेक डिपार्टमेन्टल स्टोर, क्लब चौलानी, निको हस्पिटालिटी सञ्चालन भइरहेका छन्। क्लब र हस्पिटालिटी अन्तर्गत स्विमिङ पुल, रेस्टुरेन्ट, फिटनेस केन्द्र, बैठक हल लगायत छन्। यस्तो व्यवसाय धनगढी, मसुरिया, पहलमानपुर र सुखडमा चलेको मानसिंहले बताए। चौलानी ग्रुपमा एक सय ३५ जनाभन्दा बढीले रोजगारी पाएका छन्।

‘पर्यटकलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा हस्पिटालिटी सेवा चलाउने योजना छ,’ उनले भने, ‘हाल चौलानी ग्रुपमा ८० करोड रूपैयाँको लगानी छ। दार्चुलाबाट कैलालीसम्म ब्रान्ड स्थापित गर्न मैले निकै परिश्रम गरेको छु।’ सविता बुढाले लेखेको सामाग्री सेतोपाटीबाट साभार ।