गभर्नर अधिकारीले एनएमबि बैंकलाई ससुराली बनाएका थिए, यता पनि छानविन गर्नेकी अर्थमन्त्रीज्यू ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
265.8K
SHARES

काठमाडौँ – उच्च सम्मान र इज्जत पाउने ठाउँ हो ससुराली । श्रीमान श्रीमती सबैभन्दा नजिकको नाता, श्रीमतीले भनेको काम श्रीमानले हमेसा गरिदिने गर्छन् । श्रीमतीले भनेपछि ससुरालीको काम नहुने पक्कै भएन । यसको लाभ ससुरालीले लिने भइहाल्यो ।

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले एनएमवी बैंकलाई ससुरालीको व्यवहार गर्दा बैंकले ९० करोड लाभ लिएको छ । अधिकारीले उन्मुक्ति दिदा राज्यलाई ९० करोड घाटा लागेको छ । बैंक जरिवाना हुनबाट बचेको छ ।

एनएमबि बैंकले करीव १० अर्वको कर्जाको चलखेल गर्दा राज्यलाई ९० करोड घाटा लागेको हो । आर्थिक वर्ष २०७७/२०७८ को पुष मसान्तमा एनएमबि बैंकले करीव १० अर्वको झूठा कर्जा स्विकृत गरेको देखाएर आफूलाई ९० करोड जरीवानाबाट बचाएको हो ।

प्राप्त विवरण अनुसार २०७७ मंसीर समान्तसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा बैंकको कुल कर्जा करीव रु. ३ अर्व ३ लाख मात्र थियो । ३ अर्व ३ लाखको कर्जा पुष मसान्तमा आई पुग्दा करीव रु. १३ अर्व ९७ करोड भयो । एक महिनाबाट अर्को महिनामा कर्जा बढ्नु स्वभाविकै हो तर जुन अनुपातले कर्जा बढेको छ त्यो भने असम्भव नै हो ।

किन बैंकले झूठो कर्जा देखायो ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘क’ वर्गका बाणज्य बैंकहरुले पुष, चैत्र र असार मसान्तसम्म आफ्नो कुल कर्जाको कृषिमा ११, उर्जामा ६ र साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा न्यूनतम ११ प्रतिशत कर्जा अनिवार्य प्रवाह गर्नु पर्ने हो । यदि उल्लेखीत कर्जा प्रवाह गर्न नसकेमा बैंकहरुले आर्थिक जरीवाना नै तिर्नु पर्ने निर्देशनमा प्रष्ट उल्लेख छ ।

आर्थिक वर्ष २०७७/२०७८ को पुष मसान्तमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कृषीमा ११ प्रतिशत कर्जा प्रवाह गर्न नसकोले ५७ लाख ८४ हजार छ सय सत्र रुपैयाँ आर्थिक जरीवाना तिरेको प्रतिवेदन नेपाल राष्ट्र बैंकले नै प्रकाशित गरेको छ ।

यसरी राष्ट्र बैंकले जरीवाना असुल गर्ने नै भएकोले एनएमबि बैंकले पनि आफूलाई जरीवानाबाट बचाउन भूठो कर्जा स्विकृतीको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको देखिन्छ ।

बैंकले कसरी झूठो विवरण राष्ट्र बैंकलाई पठायो त ?

हामीलाई प्राप्त विवरण अनुसार २०७७ मंसीर समान्तसम्म बैंकको साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा प्रवाह गरेको कर्जा ३ अर्व ३ लाख मात्र छ । पुष मसान्तमा उल्लेखीत शिर्षकमा बैंकको कर्जा रु. १३ अर्व ९७ करोड देखिन्छ । मंसीर र पुषको कर्जा तुलना गर्दा बैंकले पुष महिनामा मात्र करीव रु. १० अर्वले कर्जा स्विकृत गरेको देखिन्छ । पुष मसान्तसम्म बैंकले सर्वसाधारणलाई उपलब्ध गराएको कर्जाको प्रतिशत र नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एनएमबि बैंकको कर्जाको प्रतिशतमा करिव समानता देखिन्छ ।

उर्जा बाहेक अन्य कुनै पनि क्षेत्रमा नेपालमा भएका २७ वटा ‘क’वर्गका बैंकहरुले एक महिनामा १० अर्वको कर्जा स्विकृत गर्न सम्भव नै छैन । बैंकहरुको आर्थिक घरालत हेर्दा र विगतका १२ महिनाहरुमा भएको कर्जा प्रवाहको अनुपातलाई तुलना गर्दा कुनै पनि बैंकले १० अर्वको कर्जा एउटै शिर्षकमा स्विकृत गर्ने क्षमता राख्दैनन् ।

साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा झनै सम्भव छैन । निर्देशक अनुसार १ करोड भन्दा साना कर्जा मात्र यो शिर्षकमा समावेश गर्न पाइने भएकोले १० अर्व स्विकृत गर्न असम्भव नै देखिन्छ । बैंकले स्विकृत गरेको १० अर्वको कर्जाको लागि पुष महिनामा बैंकले न्यूनतम १००० वटा कर्जा स्विकृत गरेको हुनुपर्छ । के यो सम्भव छ ? बैंकको क्षमताले यो सक्छ ? मंसीर महिनामा बैंकको कुल जम्मा कर्जा करीव १ खर्व ३६ अर्व थियो । पुषमा सो बढेर रु. १ खर्व ४३ अर्व पुगेको थियो । पुषमा मात्र बैंकको कर्जा करीव ७ अर्वले बढ्दा एउठै शिर्षकमा कसरी १० अर्वले कर्जा बढ्यो ?

एनएमबि बैकको २०७७ श्रावण अन्तिमसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा बैंकको कर्जा रु. २ अर्व ८२ करोड छ । भदौ अन्तिमसम्म सो कर्जा बढेर रु. २ अर्व ९७ करोड पुग्यो । त्यस्तै अशोजमा रु. ३ अर्व ५ करोड पुग्यो । कार्तिकमा रु. ३ अर्व ५ करोडमा नै स्थिर भयो । मंसीरमा कर्जा घटेर ३ अर्व ३ लाखमा पुग्यो । मंसीरमा ३ अर्व ३ लाख पुगेको कर्जा पुषमा आई पुग्दा करीव रु. १३ अर्व ७१ करोड पुग्यो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप एनएमबि बैंकले पुषमा मसान्तसम्म रु।. ११ प्रतिशत वा रु. १३ अर्व ९७ करोड कर्जा प्रवाह गर्नु पर्ने थियो । मंसिरसम्म बैंकको कर्जा रु. ३ अर्व ३ लाख मात्र भएकोले पुष महिनामा बैंकले करीव १० अर्व कर्जा स्विकृत सहित नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकलाई जम्मा कर्जा रु १३ अर्व ७१ करोडको भनि विवरण पठाएको देखिन्छ ।

बैंकले पठाएको विवरणमा पनि करीव २६ करोड कर्जा पुगेको देखिदैन । १० अर्वको झूठो कर्जाको विरण पठाएकोले तोकी दिएको न्यूनतम प्रतिशत करीव पुगेको देखिन आएकोले नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई कारवाहि गर्न सकेन । यदि बैंकले झूठा विवरण नपठाएको भए बैंकले थप गरेको १० अर्वको जरीवाना तिर्नु पर्ने हुन्थ्यो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लिने अधिकतम ब्याज १२ प्रतिशत मान्दा १० अर्वको जरीवाना करीव रु. ३० करोड हुन्छ । पुषमा राष्ट्र बैंकलाई पठाएको १३ अर्व ९७ करोड झूठो कर्जाको धरातलमा चैत्र र असारको कर्जा पनि देखिएकोले चैत्र र असारको १० अर्व कर्जा पनि झूठो मान्दा चैत्रमा पनि ३० करोड र असारमा पनि ३० करोड जरीवाना तिर्नु पर्ने हुन्छ । बैंकले झूठा कर्जाको विवरण पठाई नेपाल राष्ट्र बैंकलाई नै गुमराहमा पारेकोले राष्ट्र बैंकले एनएमबि बैंकबाट जरीवाना असुल गर्न सकेको देखिदैन । मंसिर, चैत्र र असारको गरि उसको जरिवाना करिव ९० करोड हुन्छ । यो कुरा गभर्नर अधिकारीलाई राम्रोसँग थाहा छ, तर उनले बैंकलाई ससुराली सरहको व्यवहार गर्दै उन्मुक्ति दिएका छन् ।

प्रतिष्ठीत बैंकले किन झूठो विवरण नेपाल राष्ट्र बैंकलाई बुझायो भनेर बैंकका प्रतिनिधिलाई सोध्दा कसैले पनि बोल्न चाहेनन् । बैंकका सूचना अधिकारी तथा प्रबक्ता सुदेश उपाध्यायलाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा आएनन् ।

एनएमबी बैंकले राष्ट्र बैंकलाई बुझाएको झुटो विवरण