प्रभु बैंकले लात हानेपछि माछापुच्छ्रे बैंकको शरणमा पुगे सुनिल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
430.6K
SHARES

काठमाडौँ – प्रभु बैंकले विचौलियाको काम गर्दै आएका सुनिल रेग्मीसँगको सम्झौता तोडेको छ । विदेश अध्ययनका लागि जान चाहाने नेपाली विद्यार्थीलाई विद्यार्थी कर्जामा सहजिकरण गरिदिने सर्तमा प्रभु बैंकले रेग्मीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसारको काम नभएपछि बैंकले उनीसँगको सम्झौता तोडेको हो ।

केही दिन अघि बैंकको कमलादी शाखाले उनीसँग भएको सम्झौता तोडेको हो । अहिले उनको तर्फबाट आएका कुनै पनि फायल बैंकले स्वीकृत गरेको छैन । विद्यार्थीलाई सिधै शाखामा आउन बैंकले आग्रह गरेको छ । ‘अहिले हामीले कर्जामा अलिकति कडाइ गरेका छौँ ।’ बैंकको माथिल्लो तहका एक कर्मचारीले भने, ‘त्यही भएर अहिले एजुकेशन लोन पनि रोकिएको छ । व्यक्तिगत रुपमा कोही विद्यार्थी आएको खण्डमा हामीले काम गरिदिएका छौँ । ठ्याक्कै रोकेको चाँहि होइन् तर पहिला भन्दा विद्यार्थीको चाप घटेको छ र कर्जा पनि थोरै गएको छ ।’

प्रभु बैंकले सम्झौता तोडेपछि उनी अहिले माछापुच्छ्रे बैंकको सरणमा पुगेका छन् । उनले माछापुच्छ्रे बैंकको पुलतीसडक शाखामा गएर बर्षका १० देखि १५ हजार विद्यार्थी लिएर आउने भन्दै प्रस्ताव गरेका छन् ।

त्यसका लागि उनले सर्भिस चार्जमा लाग्ने शुल्कको ३० प्रतिशत कमिसन आफूलाई दिन प्रस्ताव गरेको श्रोतको दावि छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एउटा लोन स्वीकृत भएपछि बैंकले पूर्णकर्जाको ०.८५ प्रतिशत सर्भिस चार्ज लिन पाउँछ । उनले त्यही सर्भिस चार्जको रकममा ३० प्रतिशत माग गरेका हुन । यता बैंकका सूचना अधिकारी सुनिल खतिवडाले यसबारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । मोटिभेट न्यूजसँगको कुराकानीमा उनले आफूले आजसम्म सम्झौता भएको जानकारी नपाएको प्रष्ट पारे ।

बैंकको पुतलीसडक शाखाका शाखा प्रबन्धक मनोज भट्टराईले रेग्मीसँग आफू छलफलकै क्रममा रहेको बताए । ‘अहिले हामी छलफलकै क्रममा छौँ । उहाँले आजसम्म कुनै पनि फायल दिनु भएको छैन । र हामीले लोन स्वीकृत पनि गरेका छैनौं ।’ मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा उनले भने, ‘सम्झौता गरेर जाने भन्ने विषयमा छलफल भएको हो । हेरौँ अव कसरी अगाडि बढ्न सकिन्छ ।’

रेग्मीले प्रभु बैंकको सम्झौता दुरुपयोग गरि नम्कली कर्जा स्वीकृत गर्दै आएका थिए । पछिल्लो समय प्रभु बैंकको कर्जा प्रमाणपत्र नक्कली भएको पाइएपछि बेलायतको म्यान्चेष्टर विमानस्थलबाट ८४ जना विद्यार्थी फर्किएका थिए । त्यसपछि प्रभु बैंकले उनीसँगको सम्झौता रद्द गरेको थियो ।

उनलाई बैंकले ठूलो मात्रमा विजनेस आउने भएपछि विश्वास गरेर सर्भिस चार्जबाट केही प्रतिशत कमिसन दिने गरेको थियो । यो सम्झौता तोडिएपछि उनको रोजिरोटी खोसिएको छ । अहिले उनी त्यही काम गर्नका लागि माछापुच्छ्रे बैंकको शरणमा पुगेका छन । उनी काठमाडौँको पुतलीसडकमा रहेको अर्विट मेडिकल इन्टान्स एजुकेशनका संचालक हुन ।