कुमारी बैंकले १ करोड झ्याम पार्न खोजेपछि मेयरले लगाए ताला


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
90.9K
SHARES

महोत्तरी – कुमारी बैंक लिमिटेडले महोत्तरीको भंगहा नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेपछि मेयरले बैंकको शाखामा ताला लगाएका छन् । बैंकले दुई बर्षदेखि बाल पोषणबापतको रकम नदिएको र बृद्ध भत्ता दिन पनि आनाकानी गरेपछि नगरपालिकाका मेयर संजिव कुमार शाहले बैंकको भंगहास्थित शाखामा ताला लगाएका हुन् ।

नगरपालिकाले बाल पोषण भत्ता दुई बर्षअघि र बृद्ध, अपाङ्ग, एकल महिला भत्ता चार महिना अघि नै बैंकमा पठाइसकेको थियो । ‘भत्ता लिन पटक–पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको छु’ मेयर शाहले भने, ‘उहाँलाई जनतालाई दुःख दिने अधिकार छैन ।’

बैंकलाई बारम्बार सचेत गराउँदै जनताको काम छिटो गरिदिन आग्रह गर्दा अटेरी गरेपछि मेयर शाह आफै गएर ताला लगाएका हुन् । नगरपालिकाका सूचना अधिकारी विजय यादवका अनुसार बैंकका म्यानेजरलाई बारम्बार कार्यालयमा बोलाएर सम्झाउँदा पनि नमाने पछि बैंकमा ताला लगाइएको हो ।

‘मैले पटक पटक बैंकका म्यानेजरलाई बोलाएर कुरा गर्दा पनि उहाँले काम गर्नु भएन् । आज मेयर चुनाव प्रचारका लागि गाउँ जानुभएको थियो । उहाँलाई जनताले समाजिक सुरक्षा भत्ता नदिएको गुनासो गर्नुभयो ।’ मोटिभेटसँगको कुराकानीमा उनले भने, ‘त्यसपछि मेयरसाप आफै बैंकमा गएर ताला लगाएर आउनुभएको छ ।’

दुई बर्षदेखि बाल पोषण र बृद्ध भत्ताको दुई किस्ता बैंकले वितरण नगरेको नगरपालिकाले जनाएको छ । यसरी बैंकले दुई बर्षदेखि नरपालिकाको एक करोड भन्दा धेरै रकम रोकेर राखेको छ ।

मेयर साहले ताला लगाएपछि बैंकको सेवा प्रवाह ठप्प भएको छ । बैंकमा कर्मचारी अभाव भएकाले समयमै सेवा दिन नसकिएको बैंकको शाखाले जनाएको छ । कर्मचारी अभावका कारण सर्वसाधारणको बैंक खाता खोल्न समस्या भएको बैंकका एक कर्मचारीले बताए । सर्वसाधारण बर्दिवास गएर खाता खोल्न बाध्य भएको स्थानीयले जनाएका छन् । खाता खोलेर आउँदा पनि बैंकले रकम जम्मा नगरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।

बैंकको शाखाका शाखा प्रबन्धक विक्रम श्रेष्ठले ताला लगाएको कुरा गलत भएको बताए । ‘उहाँ आउनु भएको थियो । किन ढिला भएको भनेर हामीलाई सोधेर जानु भएको छ ।’ मोटिभेटसँगको कुराकानीमा श्रेष्ठले भने, ‘हाम्रो कुरा मिलिसकेको छ । बुझाईमा अन्तर पर्दा केही समस्या भएको मात्र हो ।’