एकीकृत जनक्रान्ति : मर्मबोधको अभाव र अतार्किक असहमतिहरु

सङ्घर्षका सबै मोर्चाहरुको एकीकृत प्रयोग नै एकीकृत जनक्रान्तिको मोडल हो । यसले आवश्यकता अनुसार सबै किसिमका मोर्चाहरु खोल्ने माग गर्दछ । सङ्घर्षको कुन मोर्चा कतिखेर अग्रभाग बन्ने र कतिखेर पृष्ठभाग बन्ने भन्ने कुरा तात्कालिक परिस्थितिमा निर्भर हुने कुरा हो


समीर यात्री
प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
10.2K
SHARES

नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको प्रक्रियामा छ । पार्टीले एकीकृत जनक्रान्तिलाई आफ्नो मौलिक कार्यदिशाको रुपमा विकास गरेसँगै यो प्रक्रिया अगाडि बढेको हो । यस प्रक्रियामा भएका सङ्घर्षको क्रममा पार्टीले दुई वर्ष राज्यको प्रतिबन्ध समेत झेलेको छ । एकीकृत जनक्रान्तिको प्रक्रियामा १२ जना कमरेडहरुको बलिदान भएको छ । राष्ट्र र जनताको पक्षमा सङ्घर्षको नेतृत्व गर्दैगर्दा पार्टीका सयौँ नेता कार्यकर्ताले दलाल पुँजीवादी राज्यसत्ताको बर्बर दमन, हत्या, आतङ्क, गिरफ्तारी, जेल, हिरासत, झुठ्ठा मुद्दा र चरम यातनाको सामना गर्नुपरेको छ । यसरी दलाल पुँजीवादी शासकहरुको जनघात र राष्ट्रघातका विरुद्ध लड्दै पार्टी वैकल्पिक राजनीतिक एजेण्डाकासाथ जनप्रिय वैकल्पिक शक्तिको रुपमा स्थापित हुन सफल भएको छ ।

केही समययता पार्टीमा गम्भीर समस्या देखा परेका छन् । ती समस्याहरु मूलभूत रुपले पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको मर्मलाई ठीक ढंगले बुझ्न वा आत्मसात गर्न नसक्नुसँग सम्बन्धित छन् । पार्टीको आठौँ केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकमा प्रकट भएका यी समस्याहरु त्यसअघि नै लामो समयदेखि पार्टीमा रहदै आएका थिए । विगत लामो समयदेखि गुजुल्टिएर बसेका यी समस्याहरु आज पार्टीले प्रतिक्रियावादी सत्ताको स्थानीय निर्वाचन सम्बन्धी अप्नाउनुपर्ने तात्कालिक कार्यनीतिको सन्दर्भलाई बहाना बनाएर प्रकट हुन पुगेका छन् ।
यस आलेखमा एकीकृत जनक्रान्तिको मौलिकता, त्यसलाई बुझ्ने समस्या र त्यससँग जोडिएका अन्य सन्दर्भमाथि प्रकाश पार्ने प्रयास गरिएको छ ।

एकीकृत जनक्रान्तिको मौलिकता

क) कम्युनिस्ट स्कुल :

कम्युनिस्टहरु समाजका उन्नत र सुसंस्कृत दृष्टिकोण र आचरण भएका सदस्य हुन् । यसकारण कम्युनिस्टहरुले कम्युनिस्ट आचरणलाई जीवनपद्धती बनाउनुपर्छ भन्ने स्कुल एकीकृत जनक्रान्तिले स्थापित गर्न खोजिरहेको छ । यो स्कुल विगतमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका शिक्षकहरुले गरेको दिशानिर्देशलाई हाम्रो आफ्नै सापेक्षतामा प्रयोग र विकास गर्ने विचारधारात्मक मान्यतामा आधारित छ ।
कम्युनिस्टहरु कस्तो हुनुपर्छ भन्ने कुरा समाजले उनीहरुका भाषण र गफबाट होइन, उनीहरुको जीवनपद्धतीबाट बुझ्ने कुरा हो । त्यसकारण, कम्युनिस्टहरुले आफ्नो वैचारिक मान्यता, दृष्टिकोण, मानवीय मूल्य र राजनीतिक आचरणको झल्को जीवनपद्धतीबाट दिने गरी प्रारम्भदेखि नै त्यसको अभ्यास गर्नुपर्छ भन्ने कुरामा यो स्कुलको जोड रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा यो नयाँ अभ्यास हो ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बलिदानीपूर्ण सङ्घर्ष, त्याग, तपस्या र योगदानको कमी देखिदैन । इतिहासका विभिन्न कालखण्डमा नेपाली कम्युस्टि आन्दोलनले महान् त्याग, तपस्या, वीरता र बलिदानका कीर्तिमान कायम गरेको छ । तर, ती सबै इतिहासमै सीमित रहेका छन् । ती सबै त्याग, तपस्या, वीरता र बलिदानका कीर्तिमानले नेपाल र नेपाली जनताको सुन्दर भविस्य निर्माणमा परिणाममुखी योगदान गर्न कति सम्भव भयो त भनेर हेर्दा गम्भीर समीक्षाको आवश्यकता हाम्रो अगाडि देखा पर्दछ । यसरी हेर्दा हाम्रो आफ्नै इतिहासबाट गम्भीर पाठ नसिक्ने हो भने आजको पुस्ताले क्रान्तिको कार्यभार पूरा गर्न सम्भव नहुने निष्कर्षमा सहजै पुग्न सकिन्छ । अर्थात त्याग, तपस्या र बलिदानको स्तरमा वैचारिक सांस्कृतिक स्तरलाई एकाकार गर्न अनिवार्य हुन्छ । त्यसो गर्न सकिएन भने त्याग, बलिदान र वैचारिक सांस्कृतिक स्तरबीच अन्तरविरोध पैदा हुन पुग्छ । एकीकृत जनक्रान्तिले अभ्यास गदै गरेको कम्युनिस्ट स्कुल इतिहासको यसै शिक्षामा आधारित छ ।

समाजका विशेषताहरुको ठीक ढंगले पहिचान गर्नु, सामाजिक मनोविज्ञानको गहिरोसँग अध्ययन गर्नु, सामाजिक विशेषतालाई सैद्धान्तिकरण गर्नु र सामाजिक विशेषताको आधारमा सिद्धान्तलाई सापेक्षिकरण गर्ने कुरामा निपूर्ण बन्न सिकाउनु नै कम्युनिस्ट स्कुलको सार हो । यो कार्य कम्युनिस्ट पार्टीलाई समाजमा अन्तर्घुलित गराएर मात्र सम्भव छ । यसरी मात्र कम्युनिस्टहरुले समाजलाई बदल्ने ऐतिहासिक अभिभारा पूरा गर्न सक्दछन् ।
सिद्धान्तको सुगा रटाई गरेर अर्ति दिने, इतिहासका परिघटनाहरु घोकेर बुद्धि विलास गर्ने, कनिकुथी क्लिष्ट शब्दहरु प्रयोग गरेर शब्दाडम्बरमा रमाउने तर ब्यबहार भने गएजुज्रेको हुने परम्परा आजका कम्युनिस्टहरुले भत्काउन जरुरी छ । कम्युनिस्टहरुको जीवनशैली भड्किलो र पाखण्डपूर्ण होइन, सरल, सरस र पारदर्शी हुनुपर्छ । कम्युनिस्ट पार्टीका हरेक नेता कार्यकर्ता जनताका स्वम्सेवक हुन् । समाजका अग्रदस्ता हुन् । उनीहरु भनेका पीपलका बीज हुन, जहाँ जान्छन् त्यहीँ उम्रन्छन् । उनीहरुको जीवन शुष्क, बैराग्यपूर्ण होइन, बरु हराभरा हुनुपर्दछ । हरेक चुनौतीसँग रमाउन सक्ने हुनुपर्दछ । समाजका हर समस्याहरुलाई सिर्जनात्मक ढंगले समाधान दिन सक्ने समयका सारथी बन्नुपर्दछ । एकीकृत जनक्रान्तिको स्कुलले यही मान्यता स्थापित गर्न खोजेको छ ।
आफूलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनको मर्मज्ञ ठान्ने तर त्यसको मर्मको भेउ कहिल्यै नपाउने, इतिहास पढ्ने तर वर्तमान बुझ्न नसक्ने, आफ्नो समय चिन्न नसक्ने, सांस्कृतिक क्रान्तिका ठूला उपदेश दिने तर आफैले सांस्कृतिक विचलनका विकार बोकेर हिड्ने, आर्थिक र सांगठनिक अनुशासनका गफ चुट्ने तर आफैले अराजकता मच्चाउदै हिड्ने जस्ता पाखण्डी रुझानहरु पनि क्रान्तिको लागि बाधक हुने गरेका छन् । यस्ता रुझानका परम्परा तोड्नु पनि कम्युनिस्ट स्कुलको उद्देश्य हो ।

एकीकृत जनक्रान्तिको स्कुलले पार्टीका हरेक नेता कार्यकर्तालाई आफू जन्मेको, हुर्केको र कार्यक्षेत्र रहेको क्षेत्र वा समुदायमा स्थापित हुने कुराको माग गर्दछ । उनीहरु आ–आफ्नो ठाउँमा जनप्रिय हुन सक्नुपर्छ । जनसमुदायको सुख दुःखको साथी बन्न सक्नुपर्छ । जनताको विश्वास जित्न सक्नुपर्छ । जनताको बीचमा परीक्षित हुनुपर्छ । त्यसको लागि उनीहरुले कम्युनिस्ट आचरण अनुकूल जीवनशैलीको अभ्यास गर्नुपर्छ । हरेक नेता कार्यकर्ता आफ्नो ठाउँमा सिर्जनात्मक रुपले क्रान्तिको ‘मोडल’ बन्न सक्नुपर्छ । र, एकले अर्कोलाई सम्मान गर्ने, एकले अर्कोबाट सिक्ने संस्कार विकास गर्नुपर्छ । यसरी मात्रै क्रान्तिमा जनताको सकृय भूमिका र सहभागिताको आधार तयार गर्न सकिन्छ । आज स्थानीय निर्वाचनलाई आफ्नै मौलिकतामा प्रयोग गर्नुपर्ने कार्यनीतिक आवश्यकताको मर्म यहीँनेर छ । एकीकृत जनक्रान्तिको मर्मलाई सही ढंगले नबुझी यो कार्यनीतिक आवश्यकताको मर्मलाई सही ढंगले बुझ्न सकिदैन ।

ख) क्रान्तिबारे बुझाई:

एकीकृत जनक्रान्तिले क्रान्तिबारे बुझाइको परम्परागत विरासत तोड्न खोजेको छ । क्रान्तिलाई अप्ठेरो तरिकाले बुझ्ने, त्यसलाई केही लेखेपढेका, केही टाठाबाठा, केही बुझक्कड र केही लडाकुहरुको नैसर्गिक कर्मजस्तो मात्र ठान्ने बुझाई विद्यमान छ । विगतमा जनयुद्ध लडेको, देखेको वा भोगेको हुनाले हामीमध्य धेरैमा क्रान्तिबारेको बुझाइमा जनयुद्धको चित्र देखा पर्ने गर्छ । जनयुद्ध छापामार लडाइँमा आधारित भएको हुनाले त्यसको कार्यशैली आम मानिसका लागि रहस्यमय बन्नु वा बनाउनु स्वभाविक हुन्छ । तर, समग्र क्रान्तिबारे यस्तो बुझाई बनाउनु गलत हुन्छ । यसको विपरीत क्रान्तिकर्मलाई जनताको दैनिक जीवनसँग जोडिदिने, जनताले सजिलैसँग क्रान्तिलाई बुझ्ने र पक्रिने बनाइदिनुपर्छ । यसरी मात्र जनताले क्रान्तिमा जीवनको भविस्य देख्ने अवस्था बनाउन सकिन्छ । क्रान्तिमा जनताले आफ्नो सुन्दर भविस्य देख्ने अवस्था नबन्दासम्म क्रान्ति प्रक्रियामा जनताको ब्यापक सहभागितालाई सुनिश्चित गर्न सम्भव हुँदैन ।

समाजबाट बिद्रोह गरेर मात्र क्रान्तिको अभिभारा पूरा हुँदैन । क्रान्तिकारी बन्ने र बनाउने प्रक्रियामा समाजबाट बिद्रोह गर्ने, परिवारबाट बिद्रोह गर्ने, परम्परागत मूल्य, मान्यता र संस्कारबाट बिद्रोह गर्नेसम्मका काम बिगतदेखि हुँदै आएका छन् । मुख्य कुरा समाजमा क्रान्तिकारी विकल्प स्थापित गर्ने कुरा हो । त्यस्तो विकल्प स्थापित हुन नसक्दा एउटा समयमा विद्रोह गरेका क्रान्तिकारीहरु अर्को समयमा पुरानै अवस्थामा फर्किने गरेका वा विद्रोहहरु प्रतिक्रान्तिमा बदलिएका थुप्रै परिघटनाहरु हाम्रा अगाडि छन् । जनताको जीवनसँग अभिन्न रुपले नजोडिएको, जनताको सकृय भूमिका र अपनत्व विनाको कुनैपनि विद्रोहले क्रान्तिकारी विकल्प दिन सम्भव हुँदैन ।

त्यसैले, क्रान्तिबारेको सहि बुझाई स्थापित गर्न जरुरी छ । क्रान्तिलाई जनताको जीवनसँग जोड्नको लागि पार्टीलाई जनताको जीवनपद्धतीसँग एकाकार गर्नैपर्छ । पार्टीलाई उत्पादनसँग जोड्ने, पार्टीको उत्पादन नीतिलाई जनतासँग जोड्ने र पार्टीको योजनामा जनतालाई कम्युन वा सहकारीको अभ्यासमा संगठित गर्दै लैजाने पार्टीको नीति क्रान्तिलाई जनताको जीवनसँग जोड्ने दिशातर्फ परिलक्षित छ । नेपाली क्रान्तिमा यो नयाँ अभ्यास हो । यो एकीकृत जनक्रान्तिको मौलिक योगदान हो ।

क्रान्तिलाई सिद्धान्तको तहमा परिभाषित गर्न जति सजिलो छ, त्यसको व्यवहारिक प्रयोग गर्न त्योभन्दा कयौँ गुणा कठिन हुन्छ । आधारभूत सिद्धान्तको मूलमर्मलाई पकडेर यसको व्यवहारिक प्रयोगलाई जति सजिलो र लचिलो बनाउन सकिन्छ, त्यति नै यसले जनताको जीवनपद्धतीमा गहिरो प्रभाव छोड्न सक्छ । र, जनजीवनको जीवन्त अभ्यासले क्रान्तिको मान्यतालाई विकसित गर्न थप योगदान गर्दछ । क्रान्तिको स्वरुप कस्तो हुने भन्ने कुरा त्यसको कार्यदिशाले निर्धारण गर्छ । नेपाल कम्युनिस्ट पार्टीले अभ्यास गर्दै गरेको क्रान्तिको मोडेललाई एकीकृत जनक्रान्ति भनिएको छ । र, यस अन्तर्गत प्रयोगमा आएका कार्यनीतिक नीति र कार्यक्रमहरुलाई पनि यसै कार्यदिशाका विशेषताको रुपमा लिइएको छ ।

ग) कार्यदिशाबारे बुझाई:

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिको कार्यदिशाबारे दुई खाले अति रहदै आएका छन् । एउटा अतिले जडतामा बुझ्छ, कोरा सिद्धान्तको रटान गर्छ तर व्यवहारमा सधैं अन्यौलग्रस्त रहन्छ भने अर्को अतिले सिर्जनात्मक प्रयोगको नाममा माक्र्सवादका आधारभूत मान्यताबाट समेत चिप्लिन पुग्छ । र, संसदवादको दलदलमा फस्छ । यी दुवै अतिबाट बचेर मालेमावादका सार्वभौम शिक्षालाई दह्रोसँग पक्रदै आफ्नो समय र समाजको विशिष्टताका आधारमा कार्यदिशाको गम्भीर अनुसन्धान र अन्वेषण गर्नेतर्फ कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले मेहनत गरेको छ । कमरेड लेनिनका अनुसार क्रान्तिको बाटो कहिल्यै पनि बनिबनाउ हुँदैन, बरु यो अँध्यारोमा छामछाम छुमछुम गर्दै आफ्नो बाटो आफै पहिल्याउने कुरा हो ।

हामीले विगतमा दिर्घकालीन जनयुद्धको कार्यदिशा प्रयोग गर्दै नेपाली क्रान्तिको पहल ग¥यौँ । चीनमा कमरेड माओले प्रयोग र विकास गरेको यो कार्यदिशाले हाम्रो सन्दर्भमा जहाँसम्म काम ग¥यो, त्यहाँसम्म जनयुद्ध आफ्नै मौलिकतामा अघि बढ्यो । जनयुद्ध विकासको एउटा निश्चित अवस्थामा पुगेपछि जव उक्त कार्यदिशा हाम्रो सन्दर्भमा अपर्याप्त हुनपुग्यो, त्यसले थप विकासको माग ग¥यो । जनयुद्धको विकासले सिर्जना गरेका चुनौतीलाई सामना गर्दै अघि बढ्नका लागि कार्यदिशामा विकास गर्नु अनिवार्य आवश्यकता बन्न पुग्यो । त्यही अनिवार्य आवश्यकतालाई पूरा गर्न नसक्दा नै जनयुद्ध विसर्जनमा पुगेको तथ्यलाई राम्रोसँग बुझ्न जरुरी छ । क्रान्ति सम्पन्न गर्न ठीक ढंगले कार्यदिशाको निरुपण गर्ने कुरा र त्यसको आवश्यकता अनुसार विकास गर्दै लैजाने कुराको महत्व यहीँनेर छ । कार्यदिशाबारे सहि समझदारीविना यो सम्भव हुँदैन ।

सङ्घर्षका सबै मोर्चाहरुको एकीकृत प्रयोग नै एकीकृत जनक्रान्तिको मोडल हो । यसले आवश्यकता अनुसार सबै किसिमका मोर्चाहरु खोल्ने माग गर्दछ । सङ्घर्षको कुन मोर्चा कतिखेर अग्रभाग बन्ने र कतिखेर पृष्ठभाग बन्ने भन्ने कुरा तात्कालिक परिस्थितिमा निर्भर हुने कुरा हो । कुन मोर्चा कतिखेर खोल्दा क्रान्तिकारी कदम हुन्छ र कुन मोर्चा खोल्दा संशोधनवादी कदम हुन्छ भन्ने कुरा पनि पार्टीको आवश्यकता र बस्तुगत परिस्थितिले निर्धारण गर्ने कुरा हो । यो कुराको फैसला कुनै सैद्धान्तिक जडताले होइन, बरु क्रान्तिको अनुसन्धान गर्ने गम्भीर जिम्मेवारीबोध र त्यसको आधारमा गरिने सतत् सङ्घर्षको साधनाले गर्दछ ।

क्रान्तिको निशाना छनौट
नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा प्रवेश गरेसँगै क्रान्तिको स्वरुपमा पनि विकास गर्न आनिवार्य बन्न पुग्यो । हिजो सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवाद सत्तामा थियो र नेतृत्व सामन्तवादले गर्दथ्यो । सामन्तवाद र नेपाली जनताकाबीचको अन्तरविरोध प्रधान अन्तरविरोध थियो । र, त्यसैले क्रान्तिको पहिलो निशानामा पनि सामन्तवाद नै रह्यो । आज सामन्तवादको हातबाट नेतृत्व दलाल पुँजीवादको हातमा पुगेको छ र दलाल पुँजीवाद र नेपाली जनताबीचको अन्तरविरोध प्रधान अन्तरविरोध बन्न पुगेको छ । त्यसैले, आज क्रान्तिको निशाना पनि दलाल पुँजीवादमाथि नै बनाउनु परेको छ ।

दलाल पुँजीवादको शोषण र उत्पीडनको दायरा जुन हदसम्म फैलिएको छ, त्यही हदसम्म क्रान्तिको अभिभारा पनि फराकिलो बन्न जानु स्वभाविक हुन्छ । त्यसैले दलाल पुँजीवादी सत्ताका विरुद्ध गरिने क्रान्तिमा एकातिर दलाल पुँजीवादको उत्पीडनमा परेका वर्ग, राष्ट्र, समुदाय र अर्कोतिर देशभक्तहरु, मध्यमवर्ग समेतलाई साथमा लिन आवश्यक हुन्छ । त्यसैगरी, दलाल पुँजीवादका विरुद्ध लड्दै गर्दा वैज्ञानिक समाजवादलाई क्रान्तिकारी विकल्पको रुपमा अघि सारिएको छ । किनकि, दलाल पुँजीवादको विकल्पमा अर्को स्वरुपको कुनै पुँजीवाद पेश गर्नु क्रान्तिकारी विकल्प हुन सक्तैन । कतिपयले भन्ने गरेजस्तो नयाँ जनवाद आजको क्रान्तिकारी विकल्प हुन सम्भव छैन । किनकि नयाँ जनवाद पनि पुँजीवादकै भिन्न स्वरुप हो ।

कम्युनिस्ट अर्थनीतिको अवधारणा
नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट अर्थनीति सम्बन्धि अवधारणा अघि सारेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अर्थनीति सम्बन्धि कम्युनिस्ट दृष्टिकोणलाई दस्तावेजिकरण गरी संस्थागत गरिएको यो पहिलो अभ्यास हो । कम्युनिस्ट पार्टी र सत्ताको लागि समेत विकास गरिएको यो अवधारणाले नेता, कार्यकर्ता र आम जनताको लागि उन्नत चेतना, पारदर्शी जीवन र उच्च मानवीय मूल्य निर्माणको लक्ष्य लिएको छ ।
यो अवधारणा यसअघि विश्वमा अभ्यास गरिएका समाजवादका सीमाहरु समेतको शिक्षामा आधारित छ । पार्टीभित्र नेता कार्यकर्ताहरुमा बारम्बार देखा पर्ने गरेका आर्थिक अनियमितता र अर्थलिप्सामुखी प्रबृत्तिको गहिरो अनुसन्धान गर्दै कमरेड विप्लवले यससम्बन्धि समाधानको खोज गर्ने क्रममा यो अवधारणा विकसित गर्नुभएको हो ।

यो अवधारणा पार्टीको संस्थागत नीति बनेपछि पार्टी र नेतृत्वको नाम भजाएर चन्दाको धन्दापानी गर्ने सोंचले पार्टीमा लागेका थुप्रै मान्छेहरुमा बेचैनी सुरु भयो । केही पार्टीबाट बाहिरिए । केहीले भने पार्टी नीतिलाई उलङ्घन गर्दै पार्टी योजनाभन्दा बाहिर गएर चन्दाको धन्दा गरेर बसे । जव पार्टीले उनीहरुको धन्दालाई अनुशासनको विषय बनायो, उनीहरुले अनेक बखेडा झिकेर पार्टी र नेतृत्वविरुद्ध गुटबन्दी सुरु गरे । अन्ततः पार्टी र क्रान्तिमाथि घात गर्न पुगे ।
आज पार्टी, क्रान्ति र नेतृत्वका विरुद्ध देखा परेको केही मान्छेहरुको गुटबन्दी र अराजक गतिविधिले पार्टीलाई क्षति पु¥याएको छ । ठूलो मेहनत र सङ्घर्षको बीचबाट राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा क्रान्किारी राजनीनिक एजेन्डाकासाथ स्थापित हुन पुगेको पार्टीलाई जानाजान कमजोर बनाउन ज्यान फालेर लाग्ने ती मान्छेहरु कसको सेवा गर्ने उद्देश्यबाट अभिप्रेरित छन् भन्ने कुरा समयले बताउला । अहिलेलाई यति मात्र भन्नु उपयुक्त होला कि तीमध्य नेतृत्व तहका केही मान्छेहरुले उछालेजस्तो यहाँ विवाद वा वहस कुनै विचार, सिद्धान्त वा कार्यदिशामा हुँदैहोइन । बरु केही अतृप्त कुण्ठाहरुलाई विचारको जलप लगाइएको मात्र हो । उनीहरुको भ्रमबाट प्रभावित भएकाहरु ढिलोचाँडो भ्रमबाट मुक्त हुने समय पनि आउने नै छ । राजनीतिक रुपले भन्नुपर्दा यो समस्या एकीकृत जनक्रान्तिलाई सहि ढंगले बुझ्न र आत्मसात गर्न नसक्नुको परिणाम हो भन्न सकिन्छ ।