अराजकतावादीहरुको अन्तरध्वंशबारे

पार्टीको आठौँ महाधिवेशनदेखि नै एकीकृत जनक्रान्तिको ब्याख्या गर्न र त्यसमा फूलबुट्टा भर्न तँछाडमछाड गर्ने दुई जना ‘बहुमत’वाला कमरेडहरुको दिमागमा रहेको एकीकृत जनक्रान्ति गुटभेलासम्म पुग्दा एकाएक गायब हुन पुग्यो । कसैलाई रिझाउनको लागि कार्यदिशाको महिमा मण्डन गर्ने तर त्यसको मर्मलाई गहिरोसँग आत्मसात गर्न नसक्ने हुँदा यस्तै चमत्कार हुने गर्छ । कार्यदिशाको अकारण भक्तिभजन र अकारण परित्याग गर्ने यस्तो खेलाँचीपनबाट कसैले क्रान्तिको नेतृत्व गर्छु भन्छ भने त्यो क्रान्तिबारे थोरै पनि राजनीतिक चेत भएको मान्छेले पत्याउने कुरा हुँदैन।


समीर यात्री
प्रकाशित मिति : बुधबार, जेष्ठ ४ २०७९
7.2K
SHARES

 

                                                                        समीर यात्री

भर्खरै नेपाल कम्युनिस्ट पार्टीबाट एउटा सानो झुण्ड बाहिरिएको छ । र, त्यसले ‘जसको सिङ छैन, उसको नाम तिखे’ भन्ने नेपाली उखान चरित्रार्थ गर्दै आफ्नो समूहलाई ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत)’ नाम दिएको छ । उनीहरुले तय गरेको भनिएको राजनीतिक कार्यदिशा र कार्यक्रमबारे अहिले धेरै भनिरहनु आवश्यक छैन । उनीहरुले नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमाथि लगाएका आरोपहरुको जवाफ समयले दिने नै छ । पार्टी र क्रान्ति जटिल मोडमा पुगेको यो संगीन घडिमा आखिर उनीहरुलाई पार्टीबाट हठात् बाहिरिने यति धेरै चटारो किन पर्यो भन्ने कुराको रहस्य पनि समयक्रममा खुल्दै जानेछ ।

अन्तरध्वंशले क्रान्ति प्रक्रियामा क्षति पुर्याएको छ । उनीहरुले केही इमानदार नेता कार्यकर्ताहरुलाई भ्रमित गर्दै इमानदार क्रान्तिकारीहरुलाई समेत पथविचलित गर्ने प्रयत्न गरिरहेका छन् । यहाँ के विर्सनु हुँदैन भने क्रान्तिकारी आन्दोलनमा लामो योगदान गरेका एकथरी इमानदार क्रान्तिकारीहरु र नयाँ पुस्ताका युवा क्रान्तिकारीहरुको असन्तुष्ट मनोविज्ञानमाथि खेलेर उनीहरुले गुट निर्माण गरेका छन् । पार्टीमा कतिपय अवस्थामा संकीर्णतावादी प्रवृत्तिको कोपभाजनमा परेर बृत्तिविकास, उचित जिम्मेवारी आदिको अवसरबाट बञ्चित हुन पुगेका इमानदार कमरेडहरुको भावनामाथि खेलेर अन्तरध्वंश मच्चाउने अराजकतावादीहरुको भ्रम चिर्न जरुरी छ । र, यसतर्फ गम्भीर आत्मसमीक्षा गरेर इमानदार कमरेडहरुलाई भ्रमबाट मुक्त गर्दै क्रान्तिकारी आन्दोलनमा एकताबद्ध गर्नैपर्छ ।

यहाँ उनीहरुले वहसको लागि उठान गरेका केही राजनीतिक विषयहरु, पार्टीभित्र उनीहरुका असन्तुष्टिका आयामहरु र क्रान्तिबारे उनीहरुको दृष्टिकोण आदि पक्षहरुमाथि विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

अतार्किक असहमति
पार्टीको आठौँ के.स. को बाह्रौँ पूर्ण बैठकमा महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत दस्तावेजमा तीनवटा विषय रहेका छन् । १) एमसीसी बिरुद्ध सङ्घर्ष २) पार्टीको नवौँ महाधिवेशन र ३) स्थानीय निर्वाचन सम्बन्धि तात्कालिक कार्यनीति । अघिल्लो दुइवटा विषयमा उनीहरुको विमति रहेन । स्थानीय निर्वाचनलाई प्रयोग गरेर जाने सम्बन्धि प्रस्तावमा उनीहरु असहमत रहेपछि त्यसमा लामो छलफल भयो । र, अन्त्यमा पार्टी दर्ता नगर्ने, बहिस्कार पनि नगर्ने, एमसीसी बिरोधी, स्वतन्त्र र जनपक्षीय उमेदवारको रुपमा सहभागी गराउने र देशभक्तहरुलाई सहयोग गर्ने नीति पारित भयो ।

यहाँनेर स्थानीय निर्वाचन सम्बन्धि पारित नीतिलाई दुई वटा बुँदामा हेर्नुपर्छ : १) पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने, पार्टीको नाममा भाग नलिने, बहिस्कार पनि नगर्ने । तर, एमसीसी बिरोधी, स्वतन्त्र र जनपक्षीय उमेदवारको रुपमा सहभागी गराउने । २) देशभक्त उमेदवारहरुलाई सहयोग गर्ने । एमसीसी बिरोधी, स्वतन्त्र र जनपक्षीय उमेदवारको रुपमा सहभागी गराउने भनेको पार्टीबाटै पठाउने भन्ने कुरा प्रष्टै बुझिने कुरा हो । पार्टीले आवश्यकता हेरी कुनैपनि स्तरको नेता कार्यकर्ता वा शुभचिन्तकलाई पठाउन सक्ने भन्ने कुरा हो । त्यसैगरी देशभक्त उमेदवारहरुलाई सहयोग गर्ने भनेको पार्टी बाहिरकालाई गर्ने भन्ने हो ।

यही नीतिअनुसार पार्टीले विभिन्न ठाउँमा नेता कार्यकताहरुलाई स्वतन्त्र उमेदवारको रुपमा सहभागी गरायो भने अन्य कतिपय ठाउँमा देशभक्त उमेदवारहरुलाई सहयोग गरेको हो । तर, विचित्र के भयो भने आफै सहभागी भएर गरेको निर्णयका विरुद्ध अराजकतावादीहरु उभिन पुगे । आफै सहभागी भएर गरेको निर्णयको अपब्याख्या गर्दै उनीहरु पार्टी नेतृत्व निर्णयविरुद्ध गएको भ्रमपूर्ण प्रचारवाजी गर्न पुगे । उनीहरु के तर्क गर्छन् भने पार्टीको केन्द्रदेखि जिल्ला तहसम्मका सदस्यहरु सहभागी गराउनु भनेको पार्टीलाई नै सहभागी गराएको हुन्छ । केन्द्रदेखि जिल्ला तहसम्मलाई पार्टी मानिन्छ भन्ने उनीहरुको तर्क छ । त्यसो हो भने के जिल्लाभन्दा तलका कमिटीहरु पार्टी होइनन् ? के ती कमिटीका सदस्यहरुलाई पार्टीका सदस्य नमान्ने हो ? कुन कमिटीसम्मकोलाई चुनावमा सहभागी गराउने भन्ने कुरा बैठकमा प्रष्ट गर्न नचाहेको यस्तै कुतर्क गरेर निहुँ खोज्नलाई त होइन भन्ने प्रश्न उब्जिएको छ ।

अर्को कुतर्क उनीहरुको के छ भने चुनावमा सहभागी गराइनेहरुले पार्टीबाट राजीनामा दिनुपर्छ । स्वतन्त्र रुपमा उमेदवार बन्ने भनेको पार्टी र विचारबाट स्वतन्त्र होइन, निर्वाचन आयोगको आँखामा स्वतन्त्र भनेको हो । चुनावमा ‘स्वतन्त्र’ उमेदवार भनेको निर्वाचन आयोगमा दर्ता भएको दलको टिकटविना चुनावी प्रतिस्पर्धामा सहभागी प्रत्यासीलाई जनाउँछ भन्ने कुरा पनि बुझ्न नसक्नेले क्रान्तिको नेतृत्व गर्लान् भनेर पत्याइदिनु पर्ने हो ?

चुनावमा सहभागिताको कार्यनीतिक विषयलाई मात्र उछालेर टाउको ठोक्दै हिड्नेहरुले दलाल पुँजीवादी सत्ताको चरित्र र यसअन्तर्गत हुने चुनाव सम्बन्धि महासचिवको प्रस्तावले प्रस्तुत गरेको सैद्धान्तिक र रणनीतिक दृष्टिकोण बुझ्न किन आवश्यक ठान्दैनन् ? प्रस्तावले दलाल संसदवादी व्यवस्थाभित्रको चुनाव प्रयोग गरेर त्यसको भण्डाफोर गर्ने, अनियमितता र भ्रष्टाचारका विरुद्ध जनतालाई संगठित गर्ने र अधिकतम सुधारका कामद्वारा समाजमा पार्टी नीति र नेतृत्व स्थापित गर्दै क्रान्तिकारी जनाधार निर्माण गर्न सकिने सम्भावनालाई पक्रने उद्देश्य प्रस्तुत गरेको छ । दलाल पुँजीवादको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको लक्ष्यलाई स्पष्ट रुपले प्रस्तुत गर्दै प्रस्तावले एकीकृत जनक्रान्तिलाई निरन्तर रुपमा अघि बढाउन जोड दिएको छ ।

एकीकृत जनक्रान्तिलाई सम्झौतामा टुङ्ग्याइएको वा परित्याग गरिएको र पार्टीले संसदीय राजनीतिक दिशा अवलम्बन गरेको भन्ने उनीहरुको आरोप छ । त्यस आधारमा उनीहरुले कमरेड विप्लवमाथि क्रान्तिलाई धोखा दिएको मिथ्या आरोप थोपर्दै विप्लवबाट क्रान्ति हुन नसक्ने भ्रम बाँड्दै हिडेका छन् । अझ हास्यास्पद कुरा त के छ भने प्रतिबन्धकालमा सुर्खेतबाट प्रहरी हिडेको सूचना पाउनसाथ कन्चनपुरबाट टाप कस्ने र प्रहरी इन्काउन्टरको डरले खाली कागजमा ल्याप्चे लगाएर आफ्नै मुद्दालाई जटिल बनाउनेहरुले महासचिव विप्लवलाई ‘कायर’ भन्नसमेत लाज मानेनन् ।

उनीहरु आफै सहभागी भएर पारित गरेको यो प्रस्तावलाई बुझेर पारित गरेका हुन वा नबुझेरै गरे, थाहा छैन । नबुझेरै पारित गरेका हुन् भने धेरै भन्नु केही छैन, बुझेर गरेका हुन् भने एघार दिनसम्म बसेको बैठकमा एकीकृत जनक्रान्ति अन्तर्गत रणनीतिक महत्वका निर्णयहरु गरेर बाहिरिएको केही समयमै उनीहरुको दिमाग कसरी उल्टिन पुग्यो भन्ने कुरा आफैमा रहस्यमय छ । यसले उनीहरु आफ्नै विवेक, बुझाई र निष्कर्षमा चलेका छन् भन्ने कुरामा पनि आशंका गर्नुपर्ने ठाउँ दिएको छ ।

बैठकमा उनीहरुले असहमति जनाएको विषय चुनाव सम्बन्धि मात्रै थियो । त्यस विषयमा पनि छलफल पश्चात सर्वसम्मतले निर्णय भयो । त्यसबाहेक अन्य विषयमा उनीहरुको कुनै असहमति थिएन । यसरी हेर्दा बैठकका सबै निर्णयहरु एकमतले पारित भएका थिए । निर्णित कुनैपनि विषयमा उनीहरुको फरक मत वा ‘नोट अफ डिसेन्ट’ थिएन । बैठकबाट निस्किएदेखि गुटभेलासम्म पुग्दा उनीहरुको दिमागमा पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिको कार्यदिशा सम्बन्धि दृष्टिकोणले नै पल्टा खान पुग्यो । उनीहरुको यो अस्वभाविक परिणतिले दिने गम्भीर सन्देश के हो भने या त उनीहरु कुनै प्रायोजित यात्रामा छन् या उनीहरुमा क्रान्ति सम्बन्धि सुसङ्गत दृष्टिकोणको अभाव छ ।

वास्तवमा उनीहरुको राजनीतिक असहमति के कुरामा थियो भन्ने कतै प्रष्ट छैन । उनीहरुले जे कुरामा आफ्नो असहमति देखाउन खोजेका थिए, त्यो पनि निर्णय प्रक्रियामा उच्च जनवादको अभ्यासकासाथ सर्वसम्मतले टुङ्गिसकेको विषय थियो । निर्णय कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा उनीहरुले प्रकट गरेको असहमतिलाई कुनैपनि तर्कले वान्छनीय पुष्टि गर्न सकिदैन । उनीहरुको यस्तो अतार्किक असहमतिले ‘वामपन्थी बच्कना’को झल्को दिन्छ । तार्किक असहमतिले क्रान्तिकारी आन्दोलनको विकासमा रचनात्मक योगदान गर्छ, तर अतार्किक असहमतिले आन्दोलनमा अन्तरध्वंश मात्र गर्छ । अतार्किक असहमतिको राजनीतिक प्रबृत्ति अराजकतावाद हो । चिन्तनको दृष्टिले अतार्किक असहमति वितण्डतावादको अभिब्यक्ति हो ।

अतार्किक असहमतिको श्रोत
सामान्यतया अतार्किक असहमतिको श्रोत राजनीनिक रुपले अराजकतावाद हो भने दार्शनिक रुपले वितण्डतावाद हो । हामीकहाँ देखा परेको अतार्किक असहमति भने कुण्ठाग्रस्त मनोदशामा बढी आधारित रहेको पाउन सकिन्छ । यस दृष्टिले मनोगतवाद पनि यसको श्रोत बनेको छ ।

मान्छेलाई भित्रैदेखि केही कुरा लागिरहने, केही कुराले घोचिरहने, मनमनै केही निष्कर्षहरुले अत्याइरहने तर भन्नुपर्ने ठाउँमा भन्न नसकिने, भन्दाखेरि पनि पुष्टि गर्न नसकिने मनोदशामा जव मान्छे पुग्छ, त्यतिबेला न ऊ अरुबाट कन्भिन्स  हुन्छ, न त अरुलाई नै कन्भिन्स गर्न सक्छ । यस्तो कुण्ठाग्रस्त हालतमा उसका असहमतिहरु अतार्किक रुपले प्रकट हुन पुग्छन् । यस दृष्टिले अतार्किक असहमति कुण्ठाग्रस्त मनोबृत्ति र असन्तुष्टिको उपज पनि हो ।

प्रतिबन्धकालमा जेल परेका कतिपय नेताहरुलाई पार्टीभित्रैबाट आफूलाई गिरफ्तार गराइएको भन्ने परेको थियो । जसले आफूलाई गिरफ्तार गरायो भन्ने परेको छ, त्यसबारे सम्बन्धित ठाउँमा कुरा उठाउने तथ्यगत आधार पनि छैन । तर, त्यो पिरले पिरोल्न भने छोडेन । मुख्य नेतृत्वले मनको मर्म बुझिदिए हुन्थ्यो भन्ने भइरहने तर मुख्य नेतृत्व ब्रह्मज्ञानी हुने कुरा भएन । मनको पिर मनमै रह्यो, त्यसमा आर्थिक विषयले पनि थप प्रेरकको भूमिका खेल्यो । यहीे अवस्थाले कतिपयलाई यो स्थितिसम्म ल्याइपुर्यायो । आन्तरिक रुपले उनीहरुको यो अतार्किक असहमतिको श्रोत यतैकतै छ ।

पार्टीको अर्थनीतिप्रति असन्तुष्टि
पार्टीको स्पष्ट अर्थनीतिको अभावमा माओवादी आन्दोलनको एउटा हिस्सा जनयुद्धकालमै भ्रष्टिकरणतर्फ गइसकेको थियो । त्यो हिस्सा जनयुद्धकै आडमा नवधनाढ्य वर्गमा बर्गोत्थान भइसकेको छ । जनयुद्धकालमा आर्थिक रुपले इमानदार रहेकाहरुको एउटा हिस्सा भने बर्गोत्थान भएकाहरुलाई हेर्दै जनयुद्धकालमा आफू इमानदार रहेकोमा पश्चाताप गर्ने ठाउँमा पुग्यो । र, ‘अब मौका आए नछोड्ने’ मनस्थिति बोकेर बसेको त्यो हिस्सा पार्टी पुनर्गठनसँगै कमरेड विप्लवको नेतृत्वमा ‘चल्तापुर्जा’ हुन आइपुग्यो । त्यही हिस्सा नै हो, जसले विप्लवको नाममा चन्दाको धन्दा चलाउने काममा ज्यान फालेर लाग्यो र पार्टीले छानवीन गर्न थालेपछि वा कार्वाहीको दायरामा ल्याएपछि कयौँले पार्टी छोडेर हिडे भने कयौँले पार्टीमा बखेडा झिकेर बसे ।

यस्तो आर्थिक अराजकतालाई नियन्त्रण गर्न पार्टीले एकातिर संरचनागत रुपले एकद्वार प्रणाली लागू गर्दै आर्थिक पारदर्शीताको नीति कडाइपूर्वक अवलम्बन गर्यो भने अर्कोतिर वैचारिक रुपले कम्युनिस्ट अर्थनीतिको अवधारणा विकास ग¥यो । यति गर्दागर्दै पनि पार्टीको यो नीति छलेर आर्थिक अराजकता मच्चाउनेहरुलाई पार्टीले कडाईपूर्वक अनुसन्धान गर्न थालेपछि ती मान्छेहरुमा नेतृत्वप्रति असन्तुष्टि चुलिदै गएको थियो । यसरी पार्टीमा असन्तुष्टहरुको झुण्ड बन्न पुग्यो । त्यस्तो झुण्डको वरिपरि केही कार्वाहीमा परेका अराजकहरु, केही चन्दाको धन्दा चलाउने उद्देश्यले लागेका असन्तुष्टहरु र केही प्रतिबन्धमा आत्मसमर्पण गरेकाहरु संगठित भएका छन् । त्यस अतिरिक्त पार्टीभित्र संकीर्णतावादी प्रबृत्तिको कोपभाजनमा परेका केही इमानदार क्रान्तिकारीहरुको असन्तुष्ट मनोविज्ञान पनि केन्द्रीत हुन पुगेको छ ।

यसले के देखाउँछ भने पार्टीले अभ्यास गर्दै गरेको कम्युनिस्ट अर्थनीतिको मर्मलाई आत्मसात गर्न नसक्नु अराजकतावादीहरुको समस्या हो । पार्टीको आर्थिक पारदर्शिताप्रतिको उनीहरुको घोर अरुचिले अराजकतावादी चिन्तनलाई नै ब्यक्त गर्दछ । पार्टीको बाह्रौँ बैठकले सबै केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने निर्णय गरेको छ । यो निर्णय पार्टीका सबै नेता कार्यकर्ताको अर्थजीवन पारदर्शी बनाउने वैचारिक मान्यतालाई व्यवहारिक अभ्यासमा लैजाने अपूर्व थालनी हो । पार्टी निर्णयको यो स्पीरिट हाम्रा ‘विद्वान’ र ‘दार्शनिक’ मित्रहरुलाई पचेन । सिद्धान्तका सुत्र घोकेर अरुलाई उपदेश बाँड्ने तर व्यवहारिक जीवनमा त्यसको जीवन्त अभ्यास गर्न नरुचाउने पाखण्डपनको विरासतमाथि पार्टीको यो निर्णयले धावा बोलेको छ । ढोंगी ‘विद्वान’ र ‘दार्शनिक’हरुको छट्पटाहट यसैको परिणाम हो ।

पार्टीको उत्पादन नीतिप्रतिको असन्तुष्टि
पार्टीले श्रम र उत्पादन सम्बन्धि नीति अघि सार्दै पार्टीका प्रत्यक नेता कार्यकतालाई श्रम र उत्पादनसँग जोड्ने निर्णय गरेको छ । पार्टीले हरेक नेता कार्यकर्तालाई पार्टीको योजना अन्तर्गत उत्पादनमा जोड्ने, आत्मनिर्भर बनाउने, पार्टीलाई आत्मनिर्भर बनाएर चन्दामुक्त पार्टी निर्माण गर्ने लक्ष्य लिएको छ । पार्टीले श्रममा नजोडिनेहरु कम्युनिस्ट हुन सक्तैनन् र आफ्नै श्रममा गौरव गर्न नसक्नेहरुले श्रमजीवी वर्गको नेतृत्व गर्ने हैसियत पनि राख्दैनन् भन्ने मान्यता स्थापित गर्न खोजेको छ । यही मान्यता अन्तर्गत पार्टीले संस्थागत श्रम र उत्पादनका अभ्यासको थालनी गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा सुस्पष्ट वैचारिक मान्यतासहित पार्टी नेतृत्वको प्रत्यक्ष सहभागितामा संस्थागत श्रम र उत्पादनको अभ्यास यो नै पहिलो हो ।

पार्टीको यो नीतिले पार्टी र नेतृत्वको नाम भजाएर चन्दाको धन्दा चलाउने र काठमाडौका महँगा फ्ल्याटमा बसेर कोरा सिद्धान्तका गफ चुट्ने परम्परालाई ब्रेक गरिदिने देखेपछि केही मान्छेहरु अत्तालिएकै हुन् । उनीहरुको सम्पूर्ण ध्याउन्नको ध्यय थियो कि पार्टीलाई यो नीति लागू हुन नसक्ने अवस्थामा पुर्याउन सकियोस् । त्यसको लागि पार्टीमाथि भीषण दमन वा प्रतिबन्ध लाग्ने अवस्था सिर्जना गर्ने र व्यवस्थित कार्यान्वयनको प्रक्रियामा रहेका सबै योजनाहरु ब्रेक गराएर पार्टीलाई अस्तब्यस्त पार्ने योजनामा उनीहरु ज्यान फालेर लागेकै हुन् । चुनाव बहिस्कार गर्नुपर्छ भन्ने उनीहरुको बालहठ यसै उद्देश्यमा आधारित थियो । सारमा यो उनीहरुको श्रम र उत्पादन नीतिप्रतिको असन्तुष्टिकै उपज थियो ।

कार्यदिशाबारे मर्मबोधको अभाव
क्रान्तिको सफलता कार्यदिशामा निर्भर हुन्छ । क्रान्ति आयात र निर्यात हुने कुरा होइन । यो त सम्बन्धित देशका क्रान्तिकारीहरुले आफ्नै मौलिकतामा जन्माउने युगान्तकारी परिघटना हो । त्यसैले क्रान्तिको कार्यदिशा पनि बनिबनाउ हुँदैन । यो पनि सम्बन्धित देशका क्रान्तिकारीहरुले आफ्नै विशिष्टतामा अनुसन्धान र विकास गर्ने क्रान्तिको मौलिक बाटो हो । यसै मान्यताको आधारमा नेपाल कम्युनिस्ट पार्टीले महासचिव कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशा अन्वेषण र प्रक्षेपण गरेको हो ।

क्रान्तिकारीहरुले कार्यदिशाको मर्मलाई गहिरोसँग आत्मसात गर्नैपर्छ । त्यसो नगरी न कार्यदिशाको अनुसन्धान र विकास हुन सम्भव छ, न त क्रान्तिको कार्यभार नै पूरा गर्न सम्भव हुन्छ । कार्यदिशामा ओठेभक्ति दर्शाएर मात्र पुग्दैन, कार्यदिशाको मर्मलाई गहिरोसँग नबुझी क्रान्ति बुझ्न पनि सकिदैन । यो कुरा गुटभेलासम्म पुगेर हास्यास्पद निर्णय गरेका ‘विद्वान’ र ‘दार्शनिक’ मित्रहरुको वैचारिक दिवालियापनले राम्रैसँग पुष्टि गरेको छ ।

पार्टीको आठौँ महाधिवेशनदेखि नै एकीकृत जनक्रान्तिको ब्याख्या गर्न र त्यसमा फूलबुट्टा भर्न तँछाडमछाड गर्ने दुई जना ‘बहुमत’वाला कमरेडहरुको दिमागमा रहेको एकीकृत जनक्रान्ति गुटभेलासम्म पुग्दा एकाएक गायब हुन पुग्यो । कसैलाई रिझाउनको लागि कार्यदिशाको महिमा मण्डन गर्ने तर त्यसको मर्मलाई गहिरोसँग आत्मसात गर्न नसक्ने हुँदा यस्तै चमत्कार हुने गर्छ । कार्यदिशाको अकारण भक्तिभजन र अकारण परित्याग गर्ने यस्तो खेलाँचीपनबाट कसैले क्रान्तिको नेतृत्व गर्छु भन्छ भने त्यो क्रान्तिबारे थोरै पनि राजनीतिक चेत भएको मान्छेले पत्याउने कुरा हुँदैन।

अराजकताको अभ्यास
अराजकतावादीहरुले विगत केही समयदेखि नै अन्तध्र्वंशको सुनियोजित अभ्यास गर्दै आएका थिए । पार्टी के.स. को बाह्रौँ बैठकको लागि तयार गरिएको राजनीतिक प्रस्ताव बैठकअघि नै सचिवालय सदस्यले पार्टीबाहिर बाँडिसकेका थिए । यो पार्टी पद्धतीको घोर उलङ्घन थियो । त्यसैगरी केही महिना अघिदेखि नै स्कूलिङ विभागको नाममा कार्यालय खोली समानान्तर हेडक्वाटरको अभ्यास गरिएको थियो । त्यहींबाट पार्टीभित्र गुटबन्दीजन्य गतिविधि चलाइएको थियो । पार्टीको नीतिविपरीत अनाधिकृत रुपले चन्दाको ‘डिल’ भइरहेको थियो । बैठकमा जानु अघि नै बैठकमा प्रस्तुत गरिने प्रस्तावबारे तल्ला कमिटीका व्यक्तिहरुलाई जानकारी गराउनेदेखि लिएर पार्टी ‘विभाजन’को लागि तयार रहनुपर्नेसम्मको सुनियोजित योजनामा परिचालित भइसकेका थिए ।

बैठक अवधिभर उनीहरुले हेडक्वाटरलाई छल्दै समानान्तर बैठक चलाउने गरे । बैठकस्थलमा छलफल गरिएका सबै विषयहरु उनीहरु आफैले सञ्चारमाध्यममा दिएर पार्टी र नेतृत्वका विरुद्ध समाचार लेखाउने काम गरे । सचिवालयमा छलफल गरेका विषय समेत केन्द्रीय समितिमा नपुग्दै मिडियामा आए । सम्भवतः यो हदसम्मको अनुशासनहिनता र अराजकता नेपाली कम्युनिस्ट आन्दोलनमा यसअघि देखिएको थिएन ।

बैठक सकिए लगत्तै उनीहरु मिडिया गुहार्दै काठमाडौ छिरे । पार्टी, नेतृत्व र बैठकका निर्णय विरुद्ध मिडियामार्फत विषवमन गरे । यो उनीहरुको अराजकताको पराकाष्टा थियो । त्यसक्रममा एउटा टेलिभिजनमार्फत एकजना सचिवालय सदस्यले कमरेड विप्लव, कमरेड प्रकाण्ड र कमरेड सन्तोष बुढातर्फ लक्षित गर्दै ‘महत्वाकाङ्क्षा र भावनामा बगेर आन्दोलनमा लागेको’ बताएका थिए । उनले कमरेड विप्लवहरुमा माक्र्सवादी दृष्टिकोण सम्बन्धि सुझबुझ समेत नभएको टिप्पणी गरेका थिए । यहाँनेर हास्यास्पद कुरा त के छ भने कमरेड विप्लवहरुबारे यस्तो टिप्पणी गर्ने ती महोदय यो पार्टीमा प्रवेश गर्नु अघिसम्म एकीकृत जनक्रान्तिको कार्यदिशा ‘प्रष्ट नभएको’ तर्क गर्दैथिए । नेकपा (क्रान्तिकारी माओवादी) का एकजना केन्द्रीय नेताका अनुसार ती महोदयले नीजि व्यवस्थापनको विषयलाई प्रमुख सर्त बनाएर कमरेड किरणको दैलोमा बार्गेनिङ गर्दैथिए । उनको भड्किलो नीजि व्यवस्थापनको जिम्मा कमरेड किरणले लिन नसक्ने देखिएपछि उनको आँखाले एकीकृत जनक्रान्तिको कार्यदिशा ‘प्रष्ट भएको’ देख्न पुगेको थियो । यसले ती महोदयको ‘मार्क्सवादी दृष्टिकोण सम्बन्धि सुझबुझ’लाई राम्रैसँग ब्यक्त गरेको छ ।

त्यसैबीच स्थितिलाई सम्हाल्ने उद्देश्यले कमरेड महासचिवको पहलमा सचिवालय बैठक बसेर असहमतिलाई आन्तरिक छलफलको विषय बनाउने निर्णय भयो । तर, उनीहरुको गुटबन्दीजन्य क्रियाकलाप र समानान्तर गतिविधि रोकिएन । त्यसैक्रममा कमरेड कञ्चनको नाममा विज्ञप्ति आयो । त्यो उनीहरुको समानान्तर हेडक्वाटरको प्रकट रुप थियो । त्यसलाई पार्टीले खारेज गर्नु अनिवार्य थियो । त्यसको लागि महासचिवले छलफल गर्न केन्द्रीय कार्यालयमा बोलाउँदा उनीहरु गएनन् । त्यसपछि समानान्तर हेडक्वाटर चलाइरहेका सचिवालय सदस्य कमरेड कञ्चन र कमरेड सुदर्शनलाई पार्टीले पदमुक्त गर्न बाध्य भयो ।

यसरी पार्टीका जिम्मेवार नेताहरु नै यो हदसम्म गैरजिम्मेवार बन्ने कुरा, पार्टी नीति र निर्णयका विरुद्ध पार्टीलाई चुनौती दिदै अराजकताको हद नाघ्ने कुरा विल्कूल अस्वभाविक छ । पार्टी पद्धती र अनुशासन सिकाउने नेताहरु नै आफ्नै संगठनात्मक मान्यता तोडेर वैचारिक राजनीतिक आचरणभन्दा बाहिर जानुलाई कुनैपनि तर्कले सहि सावित गर्न सक्तैन । आज क्रान्तिकारी पार्टीमा अन्तध्र्वंश गर्न उनीहरुले अभ्यास गरेको यो नजीरले कुनैदिन उनीहरुकै राजनीतिक जीवन अन्तरध्वंश गर्ने निश्चित छ ।