मनोज पाण्डेको अर्को कर्तुत बाहिरियो, प्रहरीको सम्पर्कमा पुगे थप तीन जना पीडित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
350.1K
SHARES

काठमाडौं – किशोरी बलात्कारको आरोपमा पक्राउ परेको कन्सल्टेन्सी संचालक मनोज पाण्डेको अर्को कर्तुत पनि बाहिरिएको छ । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेबाट पीडित अरु पनि प्रहरीको सम्पर्कमा आएपछि उनका कर्तुतहरु बाहिरिएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा थप तीन जना युवतीहरु आएका छन् । ती मध्ये एक पीडित युवती प्रहरी कार्यालयमै पुगेर बयान दिएकी छन् । अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनीहरु कार्यालयमा आइसकेका छैनन् । यद्यपि अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई बोलाएको छ ।

प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यही भिडियोको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।