परिवर्तन चाहेरै कीर्तिपुरवासिले युवाहरुको ढुक्ढुकी राजकुमारलाई चुनेका हुन्

वामपन्थीहरुको ‘लाल किल्ला’को रुपमा चित्रित गरिने राजधानी काठमाडौं उपत्यकाको दक्षिणी सहर कीर्तिपुरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरै नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिएको छ । १० वटा वडाहरु रहेको कीर्तिपुर नगरपालिकामा मेयर, उपमेयरसहित ९ वटा वडा कांग्रेसले जितेको छ । ५२ जना निर्वाचित प्रतिनिधिहरुमध्ये कांग्रेसले ४५ जना हात पार्न सफल भएको छ । कीर्तिपुरको ईतिहासमै यो ऐतिहासिक उपलब्धी मानिएको छ । ०७४ सालको चुनावमा ३ वटा वडामा सीमित रहेको नेपाली कांग्रेसले ९ वटा र एउटा वडा स्वतन्त्रले हात पारेका छन् ।
कीर्तिपुरको पछिल्लो चुनावी नतिजा देश, विदेशमा चर्चाको विषय बनेको छ । किन उल्टियो त कीर्तिपुरको जनमत ? यसको उत्तर भने त्यत्ति जटील छैन । हुन त गठबन्धनले गर्दा एमाले क्लिन स्विप’ भयो भन्ने तर्क पनि गरिएला तर कीर्तिपुरमा गठबन्धन मात्र उप–प्रमुख पदका लागि जनता समाजवादी पार्टीसंग भएकाले यो तर्क त्यत्ति युक्तिसंगत मान्न सकिन्न, कांग्रेसले एक्लै चुनाव लडेको भएपनि जित्न सक्ने नतिजाले देखाएको छ ।
विगत ५ वर्ष एकछत्र शासन गर्न अवसर पाएको एमाले विना प्रतिपक्ष ‘जंगबहादुर’ शैलीले एक्लौटी शासन गर्दा अलोकप्रिय बनेको र कीर्तिपुरबासि नागरिक उपयुक्त समयको पर्खाईमा रहेको कुरा बैशाख ३० को जनमतको सन्देशले प्रष्टै पारेको छ । विकास निर्माणका नाममा ‘आउरे बाउरे’हरुको पेरिफेरिमा गरिएको कमिसनमुखी कथित विकासका गतिविधिहरुप्रति कीर्तिपुरबासि वाक्क दिक्क बनेका थिए । असमान र भेदभावपूर्ण ब्यवहार र कार्यकर्ता पोस्ने एमाले नेतृत्वको प्रवृत्तिलाई जनताले सडकमा छताछुल्ल बनाई दिएको छ ।
कांग्रेसको पक्षमा जनमत उल्टिनुमा कांग्रेसको पक्षमा मात्र नभई राजकुमार नकर्मीको ब्यक्तित्वको प्रभाव पनि थियो । युवाहरुदेखि बृद्ध–बृद्धाहरुमा पनि यो पटक राजकुमारलाई कीर्तिपुरको मेयर बनाई छाड्ने अठोट देखिन्थ्यो ।
लामो समय कीर्तिपुरको सामाजिक र राजनीतिक क्षेत्रमा जीवन ब्यतीत गरेका राजकुमार नकर्मीबाट कीर्तिपुरबासि नागरिकहरुले परिवर्तन र समृद्धिको सपना देखेका छन् । समावेशी र सहभागितामूलक विकासका लागि विभिन्न क्षेत्रले राजकुमारको नेतृत्वबाट आशा राखेका छन् र ती पूरा हुनेमा विश्वस्त पनि छन् । अन्त्यमा युवा, महिला, ज्येष्ठ नागरिकका ढुक्ढुकी राजकुमार नकर्मीको नेतृत्वबाट भौतिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलगायत खेलकूद क्षेत्रमा कायापलट विकास र परिवर्तन आउने अपेक्षा पूरा गर्न सफल होऊन् । हार्दिक बधाई ।
