भाँडिने भयो नविल र नेपाल बंगलादेश बैंकको मर्जर, विशेष साधारणसभा बन्यो कारण


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९
9K
SHARES

काठमाडौँ – नविल बैंक र नेपाल बंगलादेशबीच हुनै लागेको मर्जर भाँडिने सम्भावना बढेको छ । नेपाल बंगलादेशले जेठ ७ गते गरेको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेको पाइएपछि मर्जर भाँडिने सम्भावना बढेको हो ।

कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७४) अनुसार कुल शेयर संख्याको ५० प्रतिशत भन्दा बढि शेयर संख्या र शेयर धनीको उपस्थित भए गणपुरक संख्या पुगेको मानिन्छ । तर बैंकले गरेको उक्त सामाधरण सभामा शेयरधनीको उपस्थिति निकै कम देखिएको थियो ।

धेरैले ध्यान नदिएको यो विषय एक जना शेयर धनीले उठाएपछि बैंकमा खैलाबैला मच्चिएको छ । बैंकका साधारण शेयर धनी अंगराज भारतीले विशेष साधारणसभामा राखिएको हाजिरी कपि हेर्न (माइन्युट) खोज्दा बैंकले नदिएपछि यो विषय थप रहस्यमय बनेको छ ।

कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७४) को दफा ७३ को उपदफा (२) मा पब्लिक कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको पचास प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरूमध्ये कम्तीमा तीनजना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिमार्फत उपस्थित नभए सभाको काम कारबाही नहुने उल्लेख छ ।

उक्त दफा अनुसार शेयर धनीको संख्या पुगेपनि शेयर संख्या नगुगेको भारतीको शंका छ । ‘मलाई गणपुरक संख्या नपुगेको शंका लागेपछि एक हप्तादेखि कम्पनी सचिवसँग हाजिरी रजिस्ट्रर मागरिरहेको छु ।’ मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘उहाँले हाजिरी दिनुको त परको कुरा हो उल्टै जे गर्न सक्छस गर भनेर धम्की दिनुभयो । यो लगानीकर्तामाथिको घोर अपमान हो । यहाँ केही न केही गडबड छ ।’

ऐनको दफा ७५ को उपदफा (१) मा साधारण सभामा भएको काम कारवाहीको विवरण माइन्युटसहित कम्पनीको रजिष्ट्रार कार्यालयमा राख्नुपर्ने प्रावधान छ । उपदफा (४) मा उपदफा (१) बमोजिम राखेको विवरण शेयर धनीले हेर्न चाहेमा कार्यालय समयभित्र कम्पनी सचिव वा उसले तोकेको व्यक्तिले देखाउन पर्ने व्यवस्था छ ।

कानुनको उक्त दफा अनुसार आफूले हेर्नचाहेको विवरण नदेखाएको भारतीको आरोप छ । ‘मैले कानुन अनुसार पाएको अधिकारबाट मलाई बन्चित गरियो । यसमा षड्यन्त्रको गन्ध छ ।’ उनले भने, ‘मैले बैंकमा अध्यक्षलाई सम्बोधन गर्दै लिएर गएको निवेदन समेत दर्ता गरिएन । यसको मतलव विशेष साधारणसभामा गणपुरक संख्या पुगेको छैन ।’

बैंकले भने गणपुरक संख्या पुगेको बताएको छ । बैंकका सुचना अधिकारी विश्वप्रकाश पौडेलले बकाइदाका साथ गणपुरक संख्या पुगेको बताए । ‘हाम्रो बैंकमा अरु बैंकको जस्तो समस्या छैन । ४० प्रतिशत शेयर बंगलादेशीको छ, दश प्रतिशत ठूला घरानाको छ । यसमा कुनै समस्या छैन ।’ मोटिभेटसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘हामीले सबै प्रक्रिया पुर्याएर विशेष साधारणसभा सम्पन्न गरेका छौँ ।’

हामीलाई गणपुरक संख्या पुगेको प्रमाण देखाउन सक्नुहुन्छ त भन्ने मोटिभेटको प्रश्नमा पौडेलले त्यो सम्भव नभएको बताए । हामीलाई नभएपनि शेयर धनीलाई त देखाउनु हुन्छ होला नी ? भन्ने अर्को प्रश्नमा पनि नमिल्ने बताए । ऐनको धारा ७५ ले त शेयरधनीलाई कार्यालय समयमा देखाउन मिल्ने भनेको छ नी भन्दा उनी झस्किए । त्यसपछि हामीले फेरी अर्को प्रश्न गयौँ, ‘तपाईँले अंगराजलाई किन देखाउनु भएन ?’

हाम्रो प्रश्नको जवाफ दिदै उनले भने, ‘उहाँ त घरी यो चाहियो भनेर आउनु हुन्छ । घरी त्यो चाहियो भनेर आउनु हुन्छ । सूचना मागेर हैरान पार्नु भएको छ । एउटा सूचना दियो, फेरी अर्को माग्नुहुन्छ । प्रक्रिया पुर्याएर आएपछि हामी दिन्छौँ । उहाँ त्यसरी आउनु भएको छैन ।’

उनले अंगराज भारती सूचना माग्न प्रक्रिया अनुसार नआएको भनेपनि उनले दिएको निवेदन मोटिभेटलाई प्राप्त भएको छ । उक्त निवेदन बैंकले नबुझेको भारतीको भनाई छ ।

यदी गणपुरक संख्या नपुगेको हो भने बैंकले ऐन अनुसार ७ दिनभित्र अर्को विशेष साधारणसभा बोलाउन पर्ने हुन्छ ।