चोर पो रहेछन् गैरआवासीय नेपाली संघका अध्यक्ष महासचिव !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९
10.2K
SHARES

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि चोरको आरोप लागेको छ । २०७० सालदेखि कानुनी मान्यता पाएको एनआरएनएले बैद्धिक सम्पती चोरी गरेको आरोप लागेको हो ।

अमेरिकामा बस्ने माधव मरासिनीको एनआरएनए–नन रेसिडेन्ट नेपाली एशोसियसनले प्रयोग गर्दै आएको लोगो एनआरएनएले चोरेको हो । २०७० सालभन्दा अघि एनआरएनले परिचित गैरआवासीय नेपाली संघले त्यसपछि फाट्ट फुट्ट रुपमा मरासिनीको लोगो प्रयोग गर्न थालेको थियो ।

मरासिनीको लोगो अहिले एनआरएनएले पूर्ण रुपमा प्रयोग गर्दै आइरहेको छ । मरासिनीले आफ्नो लोगो चोरी भएको भन्दै विभिन्न निकायमा उजुरीसमेत गरेको बताएका छन् । उनको उजुरी पछि एनआरएनएले सहमतिका लागि आग्रह गर्दै पत्राचार समेत गरेको छ ।

अमेरिकामा दर्ता भएको मरासिनीको एनआरएनए–नन रेसिडेन्ट नेपाली एशोसियसनले उक्त लोगोको ट्रेडमार्क समेत लिएकाले एनआरएनएलाई असहज भएको छ । एनआरएनएले आफ्नो ट्रेडमार्क वाला लोगो प्रयोग गरेको लोगो प्रयोग नगर्न बारम्बार पत्रचार गर्दासमेत अटेरी गरेको भन्दै मरासिनीले नेपालको संसदीय मामिला तथा कानुन मन्त्रालयमा समेत उजुरी गरेका थिए । उनको उक्त उजुरी पछि एनआरएनए तालेको छ ।

‘मेरो नाममा ट्रेडमार्क दर्ता रहेको लोगो गैरआवासीय नेपाली संघले प्रयोग गर्दै आइरहेको र बारम्बार पत्राचार गर्दा पनि सुनवाई नभएको हुनाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले हाललाई मेरो अध्यक्षतामा दर्ता भएको एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनलाई मात्र यो लोगो प्रयोग गर्ने अनुमति छ।’ १२ बैशाखमा मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यस बाहेक सबै खाले प्रयोग अबैधानिक र अनधिकृत हुनेछन । तसर्थ दफा १६ को उपदफा (२) दफा १८ उपदफा (३) दफा १८ (ख) को कसरसँगै सम्बन्धित सबै गैर–आवासीय नेपाली संघ (एनआरएनए) को मालसामान जफत गर्न हार्दिक अनुरोध गर्दछु । नेपाल सरकारबाट पनि सुनवाई नभएमा अन्तराष्ट्रिय ट्रेड मार्क कानून अनुसार उजुरीगर्न बाध्य हुनेछौ।’

उक्त पत्रपछि एनआरएनका महासचिव गौरीराज जोशीले जबरजस्त सम्झौतामा आउन धम्की दिएको मरासिनीको भनाई छ । ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियन अन्तराष्ट्रिय तदर्थ समिति हाल माधव मरासिनीको नाममा अमेरिकामा दर्ता रहेकोमा सो समिति तत्काल कानुन बमोजिम बन्द गर्ने, एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियन क्यालिफोर्नियाका प्रेसिडेन्ट माधव मरासिनीको नाममा ट्रेडमार्क दर्ता रहेको एनआरएनए ट्रेडमार्क अंकित लोगोको स्वामित्व गैरआवासीय नेपाली संघलाई प्रक्रिया पुर्याएर हस्तान्तरण गर्ने ।’ एकलौटी रुपमा तयार भएको पत्रमा लेखिएको छ, ‘तत् पश्चात एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियनले कुनै दावी नगर्ने, गैरआवासीय नेपाली संघ तर्फबाट हुने परोपकारी कार्यमा एक आपसमा सहकार्य गर्दै अघि बढ्ने, यो सम्झौता पत्रलाई आमसंचारका माध्यम मार्फत सार्वजनिक नगर्ने, माथि उल्लेखित सहमतिलाई जति सक्दो छिटो कानुनी प्रकृयाबाट समेत टुंगोमा पुराउने ।’

आफूसँग गैरआवासीय नेपालीको सेवा गर्न बाहेक अरु कुनै सर्त नरहेको भन्दै मरासिनीले यस्तो सम्झौतामा हस्ताक्षर गर्न आफू तयार नभएको बताए । ‘उनीहरु करोडौँ रकम कमाउनका लागि गैरआवासीय नेपाली संघको दुरुपयोग गरिरहेका छन । उनीहरुको गैरकानुनी धन्दाको साक्षी बन्न मैले सम्झौता गर्नपर्ने ?’ मोटिभेट न्यूज डटकमसँग उनले भने, ‘उनीहरु सबै मिलेर आएभने मलाई कुनै पनि पद प्रतिष्ठा केही पनि चाहिदैन, मेरो कुनै स्वार्थ छैन । तर कसले धेरै कमाउने भनेजसरी छुट्टा छुटुटै पसल चलाउँछन् भने त्यो कोही पनि गैरआवासीय नेपालीका लागि सैह्य हुँदैन । यस्ताले मेरो निस्वार्थ सेवाका लागि खोलिएको संस्था र लोगो चाहियो भन्नु हाँस्यास्पद मात्र हो। ’

उनको लोगो सन् २०१३ का अध्यक्ष र महासचिवले चोरेका हुन । मरासिनी आफ्नो लोगो प्रयोग नगर्न कानुनी र सामाजिक दुवै लडाईँ लडिरहेका छन् ।