एनआईसी एसिया बैङ्कबाट करोडौँ हप्ता उठाउँछन् राष्ट्र बैङ्कका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण


शोभराज बराल
प्रकाशित मिति : शनिबार, असार ४ २०७९
148.1K
SHARES

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा बैङ्कहरूबाट हप्ता उठाउने गरेको पाइएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट गभर्नर अधिकारीले बैङ्कहरूको आर्थिक अवस्था, बैङ्कको कमजोर संस्थागत सुशासन र व्यक्तिगत सम्बन्धका आधारमा हप्ता उठाउने गरेका छन् ।

मोटिभेट न्यूज डटकमलाई प्राप्त विवरण अनुसार अधिकारीले केही वाणिज्य बैङ्कहरूबाट महिनमा १ करोडभन्दा माथि, विकास बैङ्कबाट ५० लाखभन्दा माथि र फाइनान्स कम्पनीबाट लाखौँ रकम असुली गर्ने गरेको आशङ्का गर्न सकिन्छ । नेपालमा २७ वटा वाणिज्य बैङ्क, १७ वटा विकास बैङ्क, १५ वटा फाइनान्स कम्पनी र ६५ वटा माइक्रो फाइनान्स सञ्चालनमा छन् ।

यसमध्ये हामीले वाणिज्य बैङ्कहरूबाट कसरी हप्ता उठाइन्छ भन्ने विषयमा चर्चा गरेका छौँ । हामीले उदाहरणका रूपमा एनआईसी एसिया बैङ्कलाई लिएका छौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने गर्छ । बैङ्कमा संस्थागत सुशासन कायम भएको छ/छैन यसको अनुगमन गर्दै त्यस्तो नदेखिएको पाइए कारबाही गर्ने अधिकार पनि राष्ट्र बैङ्कको हो ।

एनआईसी एसिया बैंकले बैंकहरुको शाखा संख्याबारे मोटिभेटलाई लेखि पठाएको पत्र ।

नेपाल राष्ट्र बैङ्कको पछिल्ला विवरण अनुसार राष्ट्र बैङ्कले समेत संस्थागत सुशासन कायम गरेको पाइदैन । राष्ट्र बैङ्कको विवरणमा एनआईसी एसिया बैङ्कका शाखा संख्या ४ सय ७० उल्लेख गरिएको छ । एनआईसी एसिया बैङ्कले मोटिभेट न्यूजलाई पठाएको विवरण अनुसार बैङ्कका ३ सय ५९ शाखा मात्रै सञ्चालनमा छन् । यो विवरणलाई क्रस म्याच गर्दा राष्ट्र बैङ्कको विवरण र फिल्डको वास्तविकता मिल्दैन ।

बैङ्कका अध्यक्ष, सञ्चालक समिति सदस्य (उनीहरूलाई थाहा नहुन पनि सक्छ), बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ), नेपाल राष्ट्र बैङ्क, बैङ्क सुपरभिजन विभागका कार्यकारी निर्देशक र नेपाल राष्ट्र बैङ्कका गभर्नरको मिलेमतोमा बैङ्कका शाखा बढाएर हप्ता असुलीको धन्दा चलाइएको आशङ्का छ । राष्ट्र बैङ्कको पछिल्लो विवरण अनुसार एनआइसी एसिया बैङ्कका १ सय ११ वटा शाखा धेरै देखाइएको छ ।

नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख भएका एनआईसी एसिया बैंकका शाखा संख्या ।

एउटा शाखामा एक जना शाखा प्रबन्धक,  न्यूनतम तीन जना अन्य कर्मचारी, एउटा सुरक्षा गार्ड, अफिस भाडा र बत्ती, पानी लगायत आउने खर्च बाँडिचुँडी भाग लगाउने भएकाले राष्ट्र बैङ्कले धेरै शाखा देखाएको हुनसक्छ ।

‘नेपाल राष्ट्र बैङ्कको हप्ता असुली धन्दा त कति छन् कति, तपाईँ सामान्य शाखाको कुरा गर्नुहुन्छ ।’ वाणिज्य बैङ्कका एक पूर्वप्रमुख कार्यकारी अधिकृतले भने, ‘शाखा संख्या धेरै देखाएर असुली धन्दा चलाउने चलन पुरानो हो । पहिला चोरै शाखाबाट उठाइन्थ्यो अहिले केही बढेको छ ।’

सामान्य हिसाब गरेर हेर्दा बैङ्कका शाखा प्रमुखको तलब न्यूनतम ५० हजार, एउटा शाखामा न्यूनतम तीन जना कर्मचारी चाहिन्छ । तीन जना कर्मचारीलाई महिनाको न्यूनतम ३० हजारका दरले ९० हजार, एउटा सुरक्षा गार्डलाई खान बस्नसहित न्यूनतम २५ हजार, घर भाडा ३० हजार र अन्य खर्च ५ हजार गरि महिनाका २ लाख खर्च आउँछ ।

यो उपत्यका बाहिरको सामान्य खर्च विवरण हो । यसलाई न्यूनतम मानेर १११ शाखामा गुणन गर्दा २ करोड २२ लाख रुपैयाँ महिनामा खर्च हुन्छ । वर्षमा यो खर्चको सीमा झन्डै २७ करोड पुग्न जान्छ । उक्त रकम बैङ्कका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, राष्ट्र बैङ्कको बैङ्क सुपरभिजन विभाग र गभर्नर कहाँ पुगेको हुनसक्छ ।

कसरी पुग्छ उनीहरुको खल्तीमा ?

एनआईसी एसिया बैङ्क श्रोतका अनुसार हरेक कर्मचारीको तलब, कार्यालय संचालन खर्च केन्द्रीय कार्यालयबाटै भुक्तानी हुने गरेको छ । भुक्तानी गर्न प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य हुन्छ । बैङ्कको लेखा शाखामा सीइओले आफ्नै नजिकको कर्मचारी राखेका हुन्छन । उनले सीइओको निर्देशन अनुसार भुक्तानी दिने गर्छन् ।

आफन्तको घरलाई बैङ्कले भाडामा लिएको भनेर मासिक घर भाडा भुक्तानी हुन्छ, नजिकका मान्छेलाई बैङ्कको कर्मचारी भनेर राखेको हुन्छ । ‘राम्रोसँग केलाएर छानबिन गर्दै बैङ्क सिस्टममा चल्ने हो भने वर्षमा एक अर्ब बढी आम्दानी थपिन सक्छ । तर यहाँ बैङ्कले बैङ्कका अध्यक्ष, सीइओ, नेपाल राष्ट्र बैङ्कका कर्मचारी पाल्न परेकाले नाफामा कमी आउने गर्छ ।’ एनआईसी एसिया बैङ्क श्रोतले भन्यो, ‘यो विषयको जानकारी एकाउण्टको कर्मचारी बाहेक अरूलाई हुँदैन ।’

यो विषय अडिट रिर्पोटमा कसरी मिलाइन्छ त भन्ने प्रश्नमा श्रोतले भन्यो, ‘हेर्नुहोस्, बैङ्कमा धेरैजसो सिएले जागिर खाएका हुन्छन् । अझ भन्ने हो भने एनआईसी एसिया बैङ्कमा त सिएहरु भरिएका छन् । सबै काम उनीहरुले मिलाइसकेका हुन्छन् । बाहिरबाट नियुक्त भएको सिएले मोटामोटी हेरेर हस्ताक्षर गरिदिन्छ । म त हस्ताक्षर हेरेर मात्रै कुन सिएले कहाँ मिस्टेक गरेको छ । अडिट रिपोर्ट नहेरेरै कैफियत देखाइदिन्छु ।’

बैङ्कले सार्वजनिक गर्ने अडिट रिर्पोटमा कर्मचारी खर्च, अफिस भाडा लगायत खर्चका विवरणहरू एकमुष्ट खर्च देखाएको हुन्छ । कुन शाखाको अफिस भाडा कति र कुन कर्मचारीको नाममा कति रकम जम्मा भयो भनेर खुलाइएको हुँदैन । त्यसैले पनि यो विषय शङ्कास्पद बनेको छ ।

के भन्छ राष्ट्र बैङ्क ?

नेपाल राष्ट्र बैङ्कले आफूहरूसँग भएको विवरण नै आधिकारिक भएको जनाएको छ । बैङ्कका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलका अनुसार नेपाल राष्ट्र बैङ्कसँग भएको विवरण नै आधिकारिक भएको बताए ।

मोटिभेट न्यूजले बैङ्कको ‘बैङ्क सुपर भिजन रिपोर्ट २०१९/२०’ मा उल्लेख गरिएका शाखा सङ्ख्यामा अन्तर आएको भन्दै जवाफ माग गरेको थियो । उक्त जवाफमा उनले उक्त प्रतिवेदन तयार पार्दा कायम रहेका शाखा सङ्ख्याहरू रिपोर्टमा समावेश गरिएको बताए ।

उक्त रिर्पोटमा २०७७ चैत्र मसान्त (१४ महिना अघि) सम्मको विवरण अनुसार एनआईसी एसिया बैङ्कका शाखा संख्या ४ सय २८ उल्लेख छ । पछिल्लो १४ महिनामा राष्ट्र बैङ्कले ४२ शाखा थपिएको उल्लेख गरेको छ । ४२ मध्ये काठमाडौँमा ३४, ललितपुर, भक्तपुर र रुपन्देहीमा दुई–दुई वटा र कञ्चनपुर र नुवाकोटमा एक–एक शाखा थपिएका छन् ।

२०७७ साल चैत्र मसान्तसम्म एनआईसी एसिया बैङ्कका ३ सय १७ शाखा थिए । एक बर्षमा राष्ट्र बैङ्कले १ सय ११ शाखा बढी देखाएर हप्ता असुलिरहेको छ ।

मोटिभेट न्यूजले सूचना हकको प्रयोग गर्दै नेपाल राष्ट्र बैंकसँग मागेको सूचना ।

यो एनआईसी एसिया बैंकको मात्र विवरण हो । अरु १६ वटा बैंकबाट वाणिज्य बैंकबाट यसैगरी हप्ता असुली भइरहेको छ । शक्तिमा रहेका गभर्नर अधिकारीलाई प्रधानमन्त्री र अर्थमन्त्रीले हल्लाउन सकेनन् । उनलाई कारबाही गर्ने हैसियत कसैसँग छैन । उनी राष्ट्र र्बैंकबाट विदा भएभने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही गर्लाकी भन्ने आशा गर्न सकिन्छ, किनकी अहिले त अख्तियारले पनि केही गर्न सक्ने अवस्था छैन ।