ऋण लिएर शेयर बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गर्न पर्छ : मुख्यमन्त्री शाही


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, असार ४ २०७९
4K
SHARES

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ऋण लिएर पुँजी बजारमा लगानी गर्ने व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले ब्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलन रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले ऋण लिएर लगानी गर्ने व्यवस्थाको अन्त्य गरेर जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको विकास गर्नुपर्ने तर्क राखे । उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको विकास नभएको उनको ठम्याइ थियो ।

नेपालको संघीयता विश्वमै महाकमजोर भएको भन्दै उनले भने, ‘संसारमा संघीयता सबैभन्दा कमजोर भएको भारत हो, त्यसभन्दा महाकमजोर नेपालको संघीयता भयो,’ उनले कार्यक्रममा सहभागीलाई प्रश्न गर्दै भने ,‘केन्द्रीय सरकार र स्थानीय हिजो पनि थियो । संघीयता भनिएको छ, जग्गाको बारेमा अधिकार छैन । मोदी काश्मिरमा जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो ठाउँमा ल्याण्ड गर्न दिन्न भनेको त सुन्नु भएकै होला नि…! माथिका मान्छेले पावर दिन चाहँदैन । पुलिस यहाँ आएको छैन हो । माथिकाले भन्ने होला पुलिस नै प्रदेशमा गए गृहमन्त्रीले के जुम्रा मारेर बस्ने ? यो खालको समस्या छ । यो सबै कुरा पुँजीसँग जोडिन्छ ।’

मुख्यमन्त्री शाहीले अगाडी भने, ‘कृषि प्रधान देश भन्ने पनि हामी । खान नपाउने पनि हामी नै हो । म हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्छु । हेर्नुहोस् त अहिले पनि खान नपाएर आएका छौँ भनिरहेका छन् ।’

‘पुँजी बजारबाट कोही अरबपति भएका र अरबपतिबाट रोडपति भएका भन्ने कुराहरू पनि सुनिन्छ,’ उनले पुँजी बजारबारे टिप्पणी गर्दै भने,‘ हामी नेपालीहरु बाँदरजस्ता भयौँ । आफू पनि घर नबनाउने अर्काको घर पनि बिगार्ने ।’