डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
5.4K
SHARES

काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले युवाहरुलाई अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

कार्कीले दुई जनाबाट २१ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पोखरा महानगरपालिका घर भएकी २२ वर्षीया युवतीलाई आरोपीले क्यानडा पठाउँछु भनेर ११ लाख ७१ हजार नगद ठगी गरेका हुन् ।

काठमाडौंको पेप्सिकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउँछु भनेर उनले ९ लाख ७५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।

ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् ।