बल्ल आयो एन्फाका अध्यक्ष शेर्पालाई कारबाही गर्ने सहि समय


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
1.7K
SHARES

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछीरिङ शेर्पाले पदमा रहदा ठूलो अपराध गरेका छन् । उनले नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँगै अनलाइन जुवा खेलाउन पाउने गरी सम्झौता गरेर ठूलो अपराध गरेका हुन् ।

शेर्पालाई उक्त अपराधको सजाय दिने सहि समय आएको छ । सोमबार एन्फाको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा दोश्रो कार्यकालका लागि उनले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उक्त निर्वाचनमा उनलाई हराएर अपराधको सजाय दिने उपयुक्त समय आएको हो । उनले अखिल नेपाल फुटबल सङ्घ र स्वीट्जरल्याण्डको कम्पनी इम्पावर स्पोर्टस एजीबिच भएको सम्झौताबारे अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरले कार्यसमितिमा छलफलै नगरी सम्झौता गरेर गम्भीर अपराध गरेका थिए ।

एन्फा र इम्पावरविच सन् २०१८ सेप्टेम्बर १८ मा टेलिभिजनदेखि लिएर अनलाइन प्लेटफर्महरूमा नेपालमा हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न पाउनेबारे सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार एन्फाले वार्षिक २४ हजार पाँच सय अमेरिकी डलर पाउने गरी सहमति भएको थियो।

सम्झौताको अवधि सकिएपछि सन् सन् २०२१ सेप्टेम्बर २१ मा एक वर्षका लागि सम्झौता नविकरणहुँदा त्यसमा अनलाइन जुवाका टन्नै प्रावधानहरू राखियो। एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको निर्देशनमा त्यो सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका थिए ।

सम्झौतामा इम्पावरलाई नेपालमा एन्फाले आयोजना गर्ने र नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको अडियो र भिडियोमा अधिकारसँगै अनलाइनमा जुवा खेलाउने कम्पनी र बेटिङ सप्सहरुलाई समेत ती सामाग्रीमा पहुँच दिने, अनलाइन मार्फत जुवा खेलाउने वेबसाइट, मोबाइल एप्ससँगै बेटिङ प्लेटफर्महरूमा समेत ती सामाग्री राख्ने अनुमति दिने उल्लेख छ।

यस विषयमा एन्फाका एक पदाधिकारीले स्वीजरल्याण्डको कम्पनीसँग भएको सम्झौताबारे कार्यसमितिमा कुनै जानकारी नदिएको दाबी गरेका छन् । ‘कार्यसमितिको बैठकमा के–के सम्झौता हुँदै छ भन्नुपर्नेमा हामीलाई जानकारी दिइएन,’उनले भने, ‘यदि मिडियामा आए अनुसार बेटिङको सम्झौता भएको हो भने यो गैर कानुनी हो। यसको छानबिन हुनै पर्छ।’

उक्त चुनावमा अध्यक्ष शेर्पा र बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले प्यानलै बनाएर मैदानमा उत्रिएका छन् । जम्मा ८४ जना मतदाता रहेको एन्फामा नेम्वाङले जित्ने सम्भावना बलियो छ । यही बेलामा शेर्पालाई हराउँदा उनका अपराधहरुको छानविन गर्नका लागि पनि बाटो खुल्ला हुने छ ।