अबैध छोरा छोरी पाल्न अछाम जिल्ला इन्चार्जले गरे स्थानीय निर्वाचनमा अन्तरघात


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
13.4K
SHARES

अछाम – नेकपा माओवादी केन्द्रको आधार क्षेत्रका रुपमा स्थापित छ अछामको रामारोशन गाउँपालिका । अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको माओवादीले यो पटक नमजाले हार्न पर्यो । नेपाली कांग्रेसका मान बहादुर साउद ३ हजार १ सय २७ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका पहल साउदले २ हजार ८ सय ९७ मा चित्त बुझाए ।

अध्यक्षमा हार व्यहोरे पनि उपाध्यक्षमा भने माओवादी केन्द्रकी उम्मेदवार शिर्जना देवि वुढा भारी मतान्तरले विजयी भइन् । अध्यक्ष हार्ने र उपाध्यक्ष जित्ने भएपछि अछाम जिल्ला पार्टीले अन्तरघात भएको शंका गर्यो । अनुसन्धान गर्दै जाँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट साउदले अन्तरघात गरेको पाइयो ।

नेकपा माओवादी केन्द अछामले पार्टी पराजयको प्रमुख कारणहरुको प्रतिवेदन प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई बुझाएको छ । उक्त प्रतिवेदनमा जिल्ला इन्चार्ज झपट साउदले ठूलो असहयोग गरेका कारण पराजय भएको उल्लेख छ ।

उक्त प्रतिवेदनमा पार्टी कार्यकर्ताले प्रस्ताव गरेका योजना भन्दा कांग्रेस र एमालेहरुले पैसा दिएकाे भरमा योजनाहरुमा बजेट हाल्ने कामगरी चरम दुरुपयोग र पार्टी बिगार्ने काम गरेको, प्रदेशबाट पहल गरि आफ्नै घर वरिपरि योजना हाली घरकै दाई भाइलाई काम गरेको पैसासमेत नदिँदा पार्टीप्रति जनताको विश्वास टुटेको, पार्टीमा देखा परेका अतरविरोधहरुलाई कार्यकर्ताको बिचमा सामुहिक छलफल बहस गर्न नरुचाउने, कार्यकर्तालाई घरमा बोलाएर एकल भेट्ने, कार्यकर्ताले राजनैतिक, वैचारिक हिसावले राखेका समस्याको सामाधान गर्न नसक्ने लगायतका आरोपहरु लगाइएको छ ।

साथै, निर्वाचनमा केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज स्वयं एउटा पालिकामा कायरत रहँदा पनि इन्चार्जको हैसियतमा एक पालिकालाई कमाण्ड गर्न नसक्नु, निर्वाचनमा दिइएको कार्यक्षेत्रमा काम नगर्नु, कार्यक्षत्रमा काम गरेको भनि दारु खाएर घरमा बस्नु, निर्वाचनको दिनमा आफ़्नो बुथमा काग्रेसले अप्रत्याशित भोट लिनु, निर्वाचनमा भोट बढाउन भन्दै लिएको पैसा परिचालन नगर्नु, पार्टी जिताउने रणनीति नबनाउनु, निर्बाचनमा आफु खटेको बुथमा कार्यकर्तालाई उपर्यक्त निर्देशन नगरेको, पार्टीले हार बेहोर्दा समेत फोन गरि सहानुभूति समेत नराखि पार्टीसंग कुनै सम्पर्क नै नगरि घरबाट निस्किएको उनीमाथि आरोप लागेको छ ।

‘रामारोशन माओवादीको आधार क्षेत्र हो । यहाँ १ सय २५ जना सहिद भएका छन् । अनगिन्ती व्यपत्ता, घाइते र सयौँ होलटाइमर नेता कार्यकर्ता भएको पालिका हो ।’ रामारोशनका एक माओवादी नेताले भने, ‘केन्द्रबाटै खटाएका ठूलाबडा नेताहरुले अन्तरघात गरेर पार्टीलाई हराए । आफ्नै मतदान केन्द्रमा पनि राम्रो भोट खसाउन सकेनन् । ।’

उनको घर भएको मतदानबाट माओवादी भोट नआउँदा अध्यक्ष हार्न परेको जिल्ला पार्टीको भनाई छ । ‘वडा नम्बर ६ मा रहेको एउटा मतदान केन्द्रको भोटले वडा अध्यक्ष जिताईयो । अर्को मतदान केन्द्र भटाकाटिया साउदको घरमा पर्छ । त्यहाँका माओवादीका भोट पनि कांग्रेसलाई गए । त्यही भएर पालिका अध्यक्ष हार्न पर्यो ।’ जिल्लाका भरपर्दा नेताले भने ।

नेपाली कांग्रेसका नेताहरुलाई जिताउन साउदले ठूलो रकम लिएर अन्तरघात गरेको स्थानीय नेताहरुले बताउने गरेका छन् । ‘इन्चार्जले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबाट मोटो रकम लिएर पार्टी हराउनु भयो ।’, नाम उल्लेख नगर्ने सर्तमा ति नेताले भने, ‘निर्वाचन प्रचारको समयमा फिल्डमा नदेखिएकाले पनि यस्तो पुष्टि गर्छ ।’

उनको अन्तरघातको श्रृखला अलि लामो भएको प्रदेशका नेताहरुको पनि भनाई छ । ‘प्रदेश सरकारबाट योजना हाल्न पर्यो भने अरु पार्टीका नेताहरुलाई अगाडि सार्ने गर्नुभएको छ । कुन पार्टीको नेताले धेरै कमिसन दिन्छ उनीहरुलाई योजना दिने गर्नुहुन्थ्यो ।’ उनले भने, ‘आफ्नो पार्टीका नेताहरुलाई योजना दिदा त कमिसन आउँदैन नी ।’

बहुविवाह गरेर दुईवटा श्रीमती पाल्न पर्ने भएकाले अन्तरघातदेखि कमिसनका खेलहरु चलाइरहेको स्थानीयको भनाई छ । ‘२०६४ को निर्वाचनमा तत्कालिन नेकपा एमालेका शेरबहादुर कुँबरसँग पराजित भएपछि उहाँ काठमाडौँ प्रबेश गर्नु भयो । त्यसपछि उहाँ १२ बर्षसम्म जिल्ला फर्किनु भएन । यो विचमा उहाँले बहुविवाह गर्ने, योजनामा कमिसन खाने, जग्गा दलाली गर्ने, दलाली गर्दै ठगी धन्दा चलाउने काम गर्नुभयो ।’ पार्टी निकट विश्वस्त श्रोतले भन्यो, ‘त्यतिबेला ठगी मुद्धामा दुई पटक जेल पनि पर्नुभयो । अझैँ ठगी गरेको भन्दै विभिन्न व्यक्तिहरुले खाजिरहेका छन् ।’

उनका पहिलो श्रीमतीबाट ५ छोरी छन् । केही बर्षअघि काठमाडौँकी एक तामाङ थर भएकी महिलासँग दोश्रो विवाह गरे । दोश्रो श्रीमतीबाट एक छोरा र एक छोरी जन्मिएका छन् । उनीहरुले अहिलेसम्म पनि कानुनी मान्यता पाएका छैनन् । उनीहरुको जन्मदर्ता नहुँदा विभिन्न खालका सेवा सुविधाबाट बन्चित भएको पारिवारिक श्रोतको भनाई छ ।

१२ बर्ष पछि गाउँ गएका उनी आजभोली फेरी गाउँ फर्किन नसक्नेगरी काठमाडौँ आएका छन् । अन्तरघात गरेर पालिका अध्यक्ष हराएको भन्दै गाउँका नेताहरुले जहाँ भेट्यो त्यही आक्रमण गर्ने धम्की दिन थालेका छन् । गाउँमा उनलाई खुल्ला रुपमा हिड्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । अन्तरघातका विषयमा साउदसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् ।