भ्यालीका ठगले अझै फिर्ता दिएनन् विद्यार्थीको पैसा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
7.4K
SHARES

काठमाडौँ – भ्याली इन्टरनेशनल कन्सल्टेन्सीले विद्यार्थीसँग उठाएको पैसा अझै फिर्ता गरेको छैन । नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरिया पठाइदिने भन्दै भ्यालीका संचालक धिरेन राई र रोशन योञ्जनले ९ देखि १० लाख रुपैयाँ उठाएका थिए । विद्यार्थीको भिसा नलागेपछि कन्सल्टेन्सीले उनीहरुलाई आधा पैसा मात्र दिएर एक बर्षदेखि झुलाई रहेको छ ।

किर्तिपुरमा रहेको भ्याली कन्सल्टेन्सीको शाखाले कोरियाको केसी विश्वविद्यालयमा सत प्रतिशत भिसा लाग्ने भन्दै विद्यार्थीसँग पैसा उठाएको थियो । पछि कोरियाले कोभिडको कारण देखाउँदै भिसा नदिएपछि विद्यार्थी आफूले बुझाएको पैसा फिर्ता मागेका थिए ।

त्यस्तै, पैसा फिर्ता माग्ने मध्यका एक हुन मेघराज पोखरेल । उनले पनि अरु जस्तै कन्सल्टेन्सीले भनेअनुसार पैसा बुझाएका थिए । उनले बुझाएको पैसा अझै फिर्ता भएको छैन् । ‘व्याजमा ल्याएको पैसा तिर्न पाएको छैन । कन्सल्टेन्सीले भोली, पर्सि, एक महिनापछि भनेर झुलाइरहेको छ ।’ मोटिभेट न्यूजसँग पाखरेलले भने, ‘साहुले मार्न लागिसक्यो ।’

उनले केही महिना अघि ५० हजारको चेक दिएर टारेको पोखरेललको भनाई छ । ‘एक महिनामा विश्वविद्यालयले बाँकी पैसा फिर्ता पठाउँछ, अहिलेलाई ५० हजार लिएर जाउ भनेर चेक दिएको थियो ।’ उनले भने, ‘एक महिनाभन्दा धेरै महिना वितिसके, अहिले त धिरेन राइको फोन पनि उठ्न छोड्यो । अफिसमा पनि भेटिनुहुन्न ।’

नेपाली विद्यार्थीलाई कोरियाको केसी विश्वविद्यालयमा अध्ययनका लागि पठाउने भन्दै कन्सल्टेन्सी लाखौँ रुपैयाँ उठाएको थियो । बुधबार मोटिभेटसँगको कुराकानीमा राईले मेघराजलाई बोलाएर पैसा दिने वचन दिएका थिए । त्यसपछि उनको मोवाइल अफ छ ।