एउटा विज्ञप्तिले कन्सल्टेन्सीका विचौलियाको भागाभाग


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असार १३ २०७९
7.8K
SHARES

काठमाडौं – अस्ट्रेलिया जानका लागि गरिदै आएको मेडिकल चेकजाँचलाई छिटो गराइदिने भन्दै ठगीधन्दा चलाउनेहरुको भागाभाग भएको छ । विभिन्न प्रलोभन देखाउँदै छिटो मेडिकल चेकजाँच गर्ने वहानामा कन्सल्टेन्सीहरुले पैसा असुल्ने गरेका थिए ।

नर्विक अस्पतालको एउटा विज्ञप्तिले उनीहरुको भागाभाग भएको हो । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगी धन्दा चलाएको भन्दै उनीहरुको पछि नलाग्न अपिल गरेको छ ।

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ ।

‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौ ।’ अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले अनधिकृत रूपमा विभिन्न गिरोहहरूले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ । नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ ।

हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ ।