निर्वाचन आयोगले थाल्यो देउवाले सुन्दै एलर्जी हुने काम, अरु पार्टीमा पनि खैलाबैला


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, असार १८ २०७९
18.3K
SHARES

काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुन्दै एलर्जी हुने काम थालेको छ । प्रधानमन्त्री देउवा निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने विषय सुन्नै चाहादैनन्, तर आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग गर्नेगरी तयारी थालेको हो ।

आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्नेगरी साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त आग्रह गरेको हो ।

निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्वन्धी कानूनमा भएको व्यवस्थासमेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धी अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोगले जनाएको छ । ‘आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएमको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भएबमोजिमको स्वदेशमा निर्मित इभीएम तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित इभीएमको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ,’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले संविधान तथा संघीय कानूनबमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा इभीएम प्रयोग गर्न सक्ने कानूनी व्यवस्था रहेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा इभीएम प्रयोग गरेको थियो । २०७१ सालको संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलालीलगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा इभीएमको सफलतापूर्वक प्रयोग गरिएको थियो ।

यो विषयले अन्य पार्टीहरुमा पनि खैलाबैला मच्चिएको छ । ‘निर्वाचनमा मतपत्रमा छाप लगाउन समेत नसक्ने मतदाताले कसरी इलेक्टिक मतपेटिमा छाप लगाउन सक्लान र ?’ नेकपा एमालेको एक नेताले भने, ‘यसरी विद्युतीय मेसिन प्रयोग गर्दा पुराना दलहरुलाई समस्य हुन्छ । नयाँ दलहरुलाई यसले फाइदा दिन सक्छ ।’

नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रशारमा समस्या आउने भन्दै अहिले विकल्प खोज्नेबेला नआएको बताउने गरेको छ । ‘एउटा त मतदाता शिक्षा दिनका लागि समस्या हुन्छ ।’, कांग्रेसका एक चर्चित नेताले भने, ‘अर्को मतदान स्थलमा पनि मतदातालाई मेसिनमै बसेका सिकाउँदा गोपनियताको हनन् हुने भयो । त्यसैले अहिले यो सम्भव छैन् ।’

कांग्रेस सभापति देउवाले मेसिनको विश्वास नहुने भन्द पार्टीको आन्तरिक निर्वाचनमा समेत विद्युतीय मेसिन प्रयोग गरेका थिएनन् ।