भर्खरै निर्वाचित मेयरले ‘जोशमा होस् गुमाएपछि’ पक्राउ !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
109.2K
SHARES

अछाम– भर्खरै मतगणना सकिएर चुनावी परिणाम सार्वजनिक भएको थियो । नेपाली कांग्रेसकी अम्बिका कुमारी चलाउने भारी मतान्तरसहित निर्वाचित भइन् । विजय जुलुस मनाउने क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भयो ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको विवाद पश्चात विनोद शाही बेपत्ता भए । बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

उक्त जाहेरीका आधारमा प्रहरीले मेयर चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ । यसअघि जाहेरी दर्ता भएको मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मृतक शाही नेकपा एमालेका कार्यकर्ता हुन् । मेयर चलाउनेको आदेशमा शाहीको हत्या भएको स्थानीयहरुको आरोप छ ।