सडकछाप हुनबाट बालबाल बचेका शिक्षा मन्त्रालयका उपसचिव पोखरेल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, साउन ४ २०७९
5.1K
SHARES

काठमाडौँ – सार्वजनिक पदाधिकारीहरु प्रायः सत्ता, शक्ति र राज्यको राजस्वमा डुबुल्की मार्नुलाई नै सफलता ठान्दछन् । स्वार्थ पूर्तिका लागि राजनीति र प्रशासनिक तहमा उचित अनुचित सम्झौता गर्दछन् । भ्रष्ट तरिकाले नेतृत्वमा पुग्नेहरुले सुकर्मबाट नभई कुकर्ममा अभ्यस्त हुनुलाई सफलताको कसी ठान्दछन् । आजका नागरिक समाजसमेत उत्कृष्ट र निकृष्टताको फरक छुट्याउन् नसक्ने भएका छन् । फलतः मुलुकमा राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा समेत अनुशासन सिद्धिएको छ र चरम स्वार्थभाव र भ्रष्टाचार अनियन्त्रित रुपमा हैजा सरह बढेको बढ्यै छ ।

भ्रष्ट नेतृत्वका कारण अख्तियारको व्यापक दुरुपयोग भइरहेछ । यी विषयमा अनुसन्धान गर्ने आयोग तथा राज्यका सबै अध्ययन, अनुसन्धान निकायहरु निष्प्राण तथा पूर्ण निकम्मा बने, बनाइए् । राज्य, सरकार तथा नेतृत्व नै प्रभावकारी छैन र सिंहदरवारलाई मूर्दाको बस्तीसम्मको उपनाम दिने कर्मचारी पनि समाजमा छन् । सरकारी कर्मचारीको पदमा बहाल रह्दै भ्रष्टाचार र विकृतिका विरुद्ध सार्वजनिक वकालत गर्ने सहास कम चुनौती होइन । राज्यको शासन प्रणालीमा अराजकता र लुटतन्त्रको कुशासनले सर्वसाधारण जनता बेसहारा भएका छन् । हातमा लौरो, हुनेले भैँसी कब्जा गरेझँै सिँहदरवार, सात प्रदेश, ७७ जिल्ला मुकाम हुँदै ७५३ स्थानीय तहमा कुशासनको विस्तार गरिएको छ ।

सार्वजनिक सम्पत्तिका संरक्षक हुनुपर्ने पदाधिकारी वर्ग तथा राज्यका धनसम्पत्तिका कुबेरहरुबाट नै राज्यस्रोतको पूर्ण दोहन हुने गरेको छ । पार्टीगत कार्यकर्ता, आफन्त, सन्तान, दरसन्तानको हितमा काम गर्दा सार्वभौम देश तथा जनताहरु अनाहकमा लुटिएका छन् । नेतृत्व शैलीमा राज्यका विधि, प्रक्रिया र मूल्यमान्यताहरु लत्याइएका छन् । कतिपय सन्दर्भमा स्थानीय तहका प्रमुखहरु आफ्नो निकायका लागि वार्षिक रुपमा विनियोजित रकमको पाना बोकेर हिडिरहेछन् । संघीय मन्त्रालयमा सोर्सफोर्ससहित त्यो विनियोजित रकमबाट आफूलाई दश, पन्ध्र प्रतिशत झिकेर दिन सक्ने साहसिला प्रशासकीय प्रमुखको खोजी गरिरहेका हुन्छन् । एकै वर्षमा दुई चार पटक प्रशासकीय प्रमुख बदल्ने रोगमा धेरै जनप्रतिनिधिहरु भौँतारिएका कथाहरु पनि रोचकतासाथ बारम्बार सुनिन्छन्, सुनाइन्छन् ।

समाजको विद्यमान गिर्दो नैतिक अवस्था, राजनीतिक दर्शन र प्रशासनिक नेतृत्वदायी व्यवस्थाप्रति आशा गर्ने ठाउँ छैन । जतासुकै विकृति र विसङ्गति तथा भ्रष्टाचार चरम रुपमा मौलाएको र फैलिएको छ । समाजमा व्याप्त अराजकता, कुशासन, भ्रष्टाचारमाथि कटु प्रहार तथा निर्डरतापूर्वक अभिव्यक्ति दिने नागरिक पनि केही पाइन्छन् । सिंहदरवारलाई मूर्दाहरुको बस्तीका रुपमा चित्रण गर्ने तथा चौतर्फी भ्रष्टीकरण भएको नेपाली शासकीय व्यवस्था तथा राज्य प्रणालीमाथि नै धावा बोल्ने सहासी व्यक्ति कर्मचारी पनि एकाध छन् । ति मध्येका एक हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल ।

एउटा व्यक्ति नैतिकवान हुनका लागि परिवारका श्रीमतीको भूमिका ठूलो हुन्छ । श्रीमतीले हरेक दिन यो चाहियो र त्यो चाहियो भन्दै कचकच गरेको खण्डमा एक राष्ट्र सेवक कर्मचारीले पनि बाध्य भएर लामो हात गर्न पुग्छ । तर पोखरेललाई त्यस्तो दवाव आएन । ‘गुल्मी रिमुवा पञ्चायतका तत्कालीन उपप्रधानपञ्च हरिप्रसाद पौडेल तथा हरिकलाका पाँच छोरा र एक छोरी मध्ये पाँचौ नम्बरकी घरायसी नाम लक्ष्मी पौडेल(गंगा)मेरी श्रीमती हुन् । उनका मामा र मेरा फूपाजुले आफ्नै एकमात्र भान्जीसंग लगनगाँठो जोडाउनु भयो । २०४६ असार २५ मा वैदिक रितिपूर्वक मागी विवाह तामझामरहित साधारण तरिकाले भयो । यसरी हाम्रो दाम्पत्य जीवन प्रारम्भ भयो ।गुल्मीको रिमुवामा २०४६ असार २५ मा वैदिक रितिपूर्वक मागी विवाह भएको र दाम्पत्य जीवन प्रारम्भ गरियो । घरपरिवार चलाउन कुलकी केटीको स्थान उच्च हुन्छ । कुनै चिना चिर्पटो हेराएर, आनीबानी र स्वभाव मिल्छ वा मिल्दैन बहस गरेर विवाह गरिएन । सबैले मन पराएकी रुप र बनावटले सुन्दरताकी प्रतिमूर्ति, सुलक्षणा देवीसंग पितृ आशिर्वाद तथा कुल देवताको अनुकम्पाले जीवन जोडियो ।’, मोटिभेट न्यूजसँगको संबादमा पोखरेलले भने, ‘नारी पृथ्वी सरह महानता र सहनशीलताकी खानी हुन्छिन् । जीवनमा कहिल्यै असन्तुष्टि र अभावको गुनासो छैन । सादगी जीवन र साधु चरित्रको मेरो जीवनलाई नै खुशीसाथ स्वीकारिन् । जीवनमा धन संग्रह, परिवार पालन र जिम्मेवारी बहन जस्ता पक्षमा मेरो कुनै चासो थिएन । गार्हस्थ्य जीवनमा प्रवेश भएपछि पनि त्यति धेरै रहेन । आज पनि धन वैभव र भौतिकताप्रति त्यति धेरै कुनै ठूलो लालसा छैन । आधुनिक समाजमा यस्ता महापटमुर्ख नागरिकको भौतिक तथा आर्थिक जीवन कस्तो दयनीय हुँदो हो ? हुन्छ होला ? । सही नेतृत्वदायी र सहनशील श्रीमती नपाएको भए, शायद मेरो जीवन पाटीको वास वा सडकमा पो पुगिन्थ्यो कि ?’

सार्वजनिक सेवामा प्रवेश भएपछि सधैँ सधैँ पेसा र जिम्मेवारीलाई प्राथमिकतामा राख्ने पोखरेललाई देश विदेशमा पुगेका गरीब, निमुखा र सर्वसाधारण जनताका समस्याहरु दिनहुँ मनमस्तिष्कमा घुमिरहन्थ्यो । आफूलाई स्वदेशमा जागीरे भएको पाउँथे । उनी एक दिन पनि, एक क्षण पनि समयको बर्बादी नहोस् भनी सधैँ सधैँ पेसागत धर्म र कर्ममा जुटिरहेको हुन्थेँ । यसैले घर परिवार छाडेर पुरानो जमानाका मानिसझैँ सधैँ सधैँ जागीरमा अन्यत्र जिल्लामा बस्दा श्रीमतीलाई एक दिन साथ नलगेको र जीवनभर घरमा छाडेको उनको भनाई छ । ‘अरुका श्रीमान् श्रीमतीको परेवापरेवी, ढुकुरको जोडीझैँ बसाइ र सामिप्यताको साथित्वको तुलना गर्दा मैले धेरै अपराध गरेको अनुभूति गर्दथेँ । साँच्चै भनौँ भने मेरी श्रीमतीले मलाई छोडेर डिभोर्स गर्नु अन्याय हुँदैनथ्यो ।’, उनले भने, ‘घर परिवार त हुँदै हुँदैन्थयो । तर यी सबै कमीकमजोरी तथा अपराधी अवस्थालाई सहज रुपमा झेल्दै, मलाई निर्वाध रुपमा झन्झटबाट मुक्त गरी घरगृहस्थी सफल पार्ने र मलाई सडकमा पुग्नबाट बचाउने मेडम नै हुन् । उनीसंगको सम्बन्धले हरेक किसिमको निराशता, अभाव र तिक्ततालाई जीवनबाट हटाएर आशाका बहार ल्यायो । जीवनलाई पूर्ण हराभरा र सार्थक बनाउने काम ग¥यो ।’

वैवाहिक सम्बन्ध कसरी सुखी र सफल हुने ठान्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो घर परिवार ठूलो वटवृक्ष जस्तो सबैको आवतजावत हुने घर थियो । हजुर आमासहित बुबा आमाको संयुक्त परिवार थियो । ती सबैको मर्यादा पालना गर्दै, हजुर आमा र आमालाई निरन्तर सेवासुश्रुषा गर्दै भौतिक शरीरको इहलिला रहेसम्म कुनै गुनासो रहेन । आज पनि ८० वर्षका बुबाको पूर्ण हेरचाह गर्ने र सबै घरपरिवारको व्यवस्थापन गर्ने मेडम नै हुन् । मेडमको निष्ठाले एकजना असामाजिक नागरिकको सम्पूर्ण परिवार सम्हालियो । भताभुङ्ग हुन सक्ने घर बस्यो । मेरा सन्तानले असल आमाको अभिभावकत्व पाए । हामी बीचमा एक आपसमा ठ्याकठुक र बेमेलको बाझाबाझको तीतो नमिठोपनको सामना कहिल्यै गर्न परेन । भाग्य र दैवको खेलमा मसंग जोडिएर मेरो लावारिस डुङ्गालाई सफलतामा पुराउने तर त्यसका लागि मसंग कुनै सर्तसन्धिको माग नगर्ने मेडमको गुण अविस्मरणीय छ । मेरो विवाह हुँदा म सुर्खेतको कुनै स्कूलमा प्रधानाध्यापक थिएँ । उनी काठमाण्डौमा अध्ययनरत थिइन । आफ्नो महामूर्खता र उदासिनताले गर्दा त्यतिबेला आर्थिक हैसियतमा म कति निरीह र लाचार थिएँ भने विवाह भएपछि पहिलो पटक विदाइ हुँदा गोजीमा कौडी थिएन । मैले कुनै आर्थिक सहयोग मेडमलाई गर्न सकिनँ । केही आर्थिक सहयोग गर्ने कुराको सोच पनि आएन । हामीबीच कुनै सम्बन्ध नजोडिएको जस्तो गरी बिदावारी भयौँ । तर आश्चर्य कुनै पनि दिन आर्थिक आवश्यकता सुनाइनन् र रहरको माग पनि गरिनन् । माइती घरका दाजुको आश्रयमा विवाहित छोरीले काठमाण्डौको अध्ययन सिद्धाइन् । तीन वर्षपछि २०४९ माघमा मात्र स्थायी रुपमा सुर्खेतमा बस्न पुगिन् । जागीरका राम्रा राम्रा अवसरलाई गुमाएर पनि सन्तानको हितमा समर्पित हुनु आफ्नो कर्तव्य ठानिन । शिक्षक पेसाबाट निजामती सेवाको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा अर्घाखाँचीमा २०५३ पदस्थापन भएँ । दुई सन्तानकी आमा बनेकी मेडमले बालबालिकालाई हुर्काएर अगाडि बढ्ने क्रममा सिमित आय र स्रोतमा के कसरी व्यवस्थापन गरिन होला ? कुनै दिन, केही कुराको माग र असन्तुष्टि जाहेर गरिनन् । २०५७ पौषदेखि गुल्मी बलिथुमको पदमबहादुर माविमा शिक्षक पदमा जागीर खान थालेपछि सबै कुराको जिम्मा आफैँ बहन गर्न थालिन । घरपरिवार चलाउन, छोराछोरी पढाउन, हजुर आमा, आमाबुबा र मूल घर सञ्चालन, औषधीमूलो गर्न जे जे गर्न पर्ने गरेर दुख कष्टसाथ आर्थिक व्यवहार चलाइन् । खेतीपाती र विविध पक्षमा अनुपम खटाइ र अविस्मरणीय कार्यले घर, परिवार, सन्तान र आर्थिक व्यवस्थापनका विषयमा कहिल्यै चिन्ता र तनावमा रह्नु परेन । आज जे जति पारिवारिक व्यवस्थापन, सम्पत्ति र घरको व्यवस्था तथा आर्थिक हैसियतको जोहो भएको छ, त्यो मेडमकै रगत पसिना र खटाइको परिणाम हो ।’

कोही मानिसले अरु कसैलाई यतिधेरै माया किन गर्छ ? आफ्नो सम्पूर्ण इच्छा र आकांक्षलाई तिलान्जली दिएर पनि किन ह्वस भनेर बस्छ ? यस्ता प्रश्नहरुको उत्तर पोरेलसँग छ । उनी भन्छन्, ‘पहिलो गुण एक नारीव्रता चरित्र । दोस्रो मद्यपान, धु्रमपान र कुनै पनि नसा र लतबाट मुक्त । तेस्रो जुवा, तास र बाजीमा खेलिने कुनै पनि पक्षबाट अलग । आजको जमानामा पुरुषमा यी तीन गुण कहाँ भेटिनु ? यसैले नै छ महिना वा वर्ष दिनसम्म पनि श्रीमान् श्रीमती भेट नभएको अवस्थामा पनि एक आपसमा विश्वासमा रह्नु हो । यसरी टाढा बस्दा पनि दाम्पत्य जीवनको मायाको पोकाले घेरिनु हो । सबै पक्षमा सरकारी तह तथा नेतृत्वबाट सधैँ उपेक्षा र पद अनुसारको जिम्मेवारी नदिइएको बेलामा पनि तिम्रो चरित्र कमाउनमुखी, चाकरीमुखी भएन र हामीले दुख पायौँ कहिल्यै सुन्न परेन । २०५७ सालपछि तलबभत्ता बुझेर मेडमलाई हातमा दिएको आजसम्म कुनै स्मरण छैन । तर म घरबाट फर्किँदा भाडा छ वा छैन ? भनी सोध्ने र आवश्यकता भएमा सधैँ सधैँ खर्च दिएर पठाउने श्रीमती यो पृथ्वीमा कसले पाएको होला ? यी सबै पक्षमा आफै भिडेर मेरो पेसागत सफलता प्राप्तिमा निरन्तर प्रत्यक्ष तथा अप्रत्यक्ष साथ रहेकी मेडमको गुनासो चाहिँ संस्कृत शिक्षा अध्ययन गरेर पनि आफ्नो धर्म, संस्कृति र वैदिक कर्मकाण्डीय विधि विधान तथा तिनको आचारविचारलाई पूर्ण पालना नगरेको प्रति छ । शुद्ध आचारण तथा आनीबानीमा बसेर आत्मचिन्तनमा रहे हुन्थ्यो भन्ने छ ।’

प्रायः दार्शनिक चेतका मानिसहरुमा अराजकता, मनोमानी र आफूखुशी प्रवृत्ति हुन्छ । घर, परिवार, आफन्त, सन्तान र जीवन संगीनीसंग कम लगाव हुनाले सौहार्दता हुँदैन । दार्शनिक खालका व्यक्तिमा पेसागत कार्यमा निरन्तर एकोहोरिने र सामाजिक कार्य र व्यवहारहरुबाट धेरै टाढा हुने विकृत मानसिकता हुन्छ । घर, परिवार तथा गृहस्थी सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम आर्थिक जोहो र सहयोगप्रति पूर्ण उदासिनता हुन्छ । सारमा भन्दा दार्शनिक चेतका मानिसहरुबाट घरव्यवहार तथा गृहस्थ सञ्चालन गर्ने दीगो आर्थिक स्रोतसाधन र आयार्जनमा पूर्ण बेवास्ता गरिन्छ । उनी पनि यही प्रकतिका मानिसभित्र पर्छन् ।

‘एक रथका दुई पाङ्ग्र्रा्रको गति र यति नमिलेमा दुर्घटना हुन्छ भनिएझैँ घरपरिवार तथा श्रीमान् र श्रीमतीमा निरन्तर खटपटको अवस्थाले पारिवारिक विखण्डनको समस्याको खतरा रहन्छ । श्रीमान् र श्रीमतीमा मेल नहुने दम्पतीको घरमा शान्ति र सुस्थीर वातावरणको अभाव हुन्छ । नकारात्मक परिणामले सन्तानप्रतिको सही अभिभावकत्व र भविष्य निर्माणको भूमिका बहनमा आमाबाबुहरु पूर्णतः असफल हुन्छन् । फलतः घरव्यवहार तथा जीवनका हरेक घडी र मोडमा सबैतिर नै अनुशासनहिनता सिर्जिन्छ र दुर्घटनाहरु धेरै हुन सक्छन् ।’, उनी भन्छन्, ‘तर मेरो हकमा जीवनभर पेसागत निष्ठा, आचरणगत नैतिकता र प्रशासनिक सदाचारबाट सादगी जीवनमा अडिगका अनुपम उदाहरण बन्न, बनाउन सक्नु नै पारिवारिक सुरक्षाको मुख्य कडी मान्दछु ।’

उनी अगाडि भन्छन्, ‘जीवनभर सिर्जनशील कार्य थाल्दा चारैतिरको बाधा, व्यवधानमा परेका कर्मचारीका रुपमा चित्रित हुने व्यक्तिमा परियो । आफूलाई लागेका र आफ्नै एकल प्रयासमा थालिएका हरेक कार्यलाई जसरी पनि सम्पन्न गर्ने र आइपर्ने समस्या र चुनौतीहरुलाई चिर्दै लक्ष्यमा पुग्ने सहासी कर्मचारीका रुपमा परिचय बनाइयो । प्रायः आफूले हात हालेको पेसागत क्षेत्रको विषयको कामलाई जसरी पनि फक्ते गरि छाड्ने र नतिजामा पुराउने चरित्र निजामती कर्मचारी वृत्तमा धेरै प्रसिद्ध कमाइयो । यति धेरै कार्य र प्रयासमा पूर्ण जवानीको समयमा समेत आवश्यकता र भौतिकताको रहर प्रस्तुत गरेर कहिल्यै नसताएर, मलाई स्वच्छन्द र स्वतन्त्र रुपमा जहाँसुकै दार्शनिक चेतमा विचार प्रवाह, बहस र विवादमा आउन सहयोगी रहेकी श्रीमतीको साथ र सहकार्यले परिवारलाई मजबुत बनाएको छ । मेरो घर जोडेको र बनाएको छ । शायद म आफू पत्नी भएको भए मैले डिभोर्स लिइसकेको हुन्थेँ होला तर मेरो जीवनमा त्यो चुनौतीलाई नजिक आउन नदिएर मेडमले अपूर्व गुण लगाएकी छन् । यसरी उमेर छँदा र सम्पूर्ण दुख व्यहोर्दा एक्लै सामना गरी मलाई अलपत्र नपारेकी मेडमले बुढ्यौलीमा झन किन असुरक्षित पार्लिन् र ? यसैले मेरो घर, परिवार र गार्हस्थ्य जीवन सुरक्षित र आनन्दित हुनेमा विश्वस्त छु । सहनशीलता र महानता नै परिवार सुरक्षाको कडी रहेछ ।’