विचारको विकास, नेपाली कम्युनिस्ट र क्रान्ति


भरत बम ‘रणवीर’
प्रकाशित मिति : बिहिबार, साउन १२ २०७९
2K
SHARES

नेपाल कम्युनिष्ट पार्टीले निकट भविष्यमा आफनो नवौँ महाधिवेशन गर्दैछ । उसले ‘विचार विकास’ लाई मुख्य नारा बनाएको छ । कम्युनिष्टहरुसँग यदि मालेमावादको विशिष्टि र मौलिक प्रयोग र विकासको मान्यता हुदैन्थ्यो भने यिनले कम्युनिस्ट सिद्धान्त र नामको दुरुपयोग गरेको मानिन्थ्यो होला । जे भएपनि कम्युनिस्ट प्रिय जनमत नेपाली राजनीतिको सकारात्मक उपलब्धी र यथार्थता हो । तर पनि देशमा कम्युनिष्टको नेतृत्वका किन कुनै क्रान्ति तथा राजनैतिक परिवर्तन हुन सकेन त ? प्रश्न अनुत्तरित नै छ । आउनुहोस्। छलफल यही प्रश्नबाट थालौँ र अघि बढौँ ।

१.समस्या


समस्याबारे विवेचना गर्दा यसका सैद्धान्तिक र व्यवहारिक दुई पक्षमा ध्यान दिनुपर्छ । व्यवहारतः २००६, ००७ सालदेखि हालसम्म करिब ७३/७४ वर्षिय नेपाली राजनीतिक आन्दोलनको इतिहासमा जति पनि युद्ध, क्रान्ति र जनआन्दोलनहरु भए त्यसमा कम्युनिष्टहरुको सकृय सहभागीतासहित निर्णायक भूमिका विना जसरी कुनै पनि महत्वपूर्ण परिवर्तन भएका छैनन् ठिक त्यसरी नै ति कुनै पनि ऐतिहासिक परिवर्तनहरुमा कम्युनिष्टहरुको नेतृत्वदायि भूमिका स्थापित गर्न र हुन सकेको छैन भने सिद्धान्ततः मालेमावादको जति नै सिर्जनशील र मौलिक प्रयोग र विकासको तर्क र दावी गरेता पनि वास्तविकतामा नेपाली विशिष्टतामा मौलिक विचार र कार्यक्रमको विकास गर्न र हुन नसक्नु नै मुख्य समस्याको रुपमा रहेको देखिन्छ ।

२. विचारको विकासः

सन्दर्भ एक

गएको वर्ष २०७८ मा प्रमुख राजनैतिक पार्टी– नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन सम्पन्न भए तर ति धेरै खर्चिला कर्मकाण्डीय र विचारशुन्य रहे । उनीहरुका महाधिवेशनमा देश र जनताका सरोकारका मुद्दा बहस र छलफलमा आएनन्, मात्र संगठनात्मक विषय प्रमुख बन्न गयो भनेर आलोचना भयो । यसबाट यी पार्टीहरु यथास्थितिको प्रतिनिधित्व गर्छन् र प्रगति अनि परिवर्तनको नेतृत्व गर्दैनन् भन्ने तथ्य पनि स्पष्ट भयो । यिनले जति नै यथास्थितिको पक्षपोषण गरेतापनि आम जनताहरु पूरै असन्तुष्ट छन् किनकि जनजीवन एकपछि अर्को झन्झन् कष्टकर बन्दै गएको छ । देश वैदेशिक हस्तक्षेपले आक्रान्त छ । जनताले जीवनमा देखिने सकारात्मक परिवर्तनको माग गरिरहेका छन् तर कथित ठुला पार्टीहरुको प्राथमिकताको केन्द्रीय विषय भने सरकारको रक्षा र परिवर्तन (कुर्सीको रक्षा र परिवर्तन) मात्र बनेको छ । यो पृष्ठभूमिमा विद्रोही शक्तिको पहिचान बनाउदै गएको नेकपाले आसन्न महाधिवेशनमा विचार विकासको नारा अघि सार्नुले उसले अबको प्रगति र परिवर्तनको बाहक क्रान्तिकारी शक्ति बन्ने सन्देश दिएको छ भने यसले अनिवार्यतः देश र जनताको प्रगति र संमृद्धिको मुख्य बाधक के हो भनेर विश्लेषण गर्दै त्यसको सही सामाधान कसरी के हुन्छन् ? स्पष्ट पार्नुपर्ने दायित्व बाेकेको छ । वस्तुतः यो पार्टीले महाधिवेशनमा देश र जनताको भविष्यसँग जोडिएका महत्वपूर्ण सवालहरुको जवाफ खोज्ने प्रयत्न गर्नेछ ।

सन्दर्भ दुई

नेपाल कम्युुनिष्ट पार्टीले विकास गर्ने विचारको पृष्ठभूमि माओवादी जनयुद्धको विसर्जन हो भने यसको जग भनेको त्यो जनयुद्धमा बगेको रगत, आँशु र पसिना हो । कुनै पनि नयाँ विचारको विकास सामाजिक संकटबाटै हुने हो । वास्तवमा जनयुद्धको विघटन र विसर्जनपछि नेपाली समाज वैचारिक र राजनैतिक संकटबाट गुज्रिरहेको छ । स्वभावतः यसको समाधानार्थ नयाँ विचार विकासको विजारोपण पनि भएको छ, जसलाई हुर्काउन र बढाउन आवश्यक छ ।

नेपाली कम्युनिष्ट आन्दोलन सामान्य रुपमा हेर्दा एक सशक्त र जनप्रिय आन्दोलन हो । जो एक प्रकारले उत्कर्षमा पुगिसकेको पनि भन्न सकिन्छ तर यसले यहि रुपमा निरन्तरता पाउँछ कि पाउँदैन अनिश्चित छ । २०७४ को चुनावपछि बनेको कम्युनिष्ट नेतृत्वको सरकार र नेकपा (नेकपा) को गठन एक प्रकारको कम्युनिष्ट आन्दोलनको उत्कर्ष मान्न सकिन्छ जो कम्युनिस्ट विचारको सिजर्नशील र मौलिक प्रयोग र विकासकै परिणाम हो भन्न सकिन्छ तर त्यसले मालेमावादका आधारभूत र सार्वभौमिक पक्षलाई कि त छोडेको छ कि त भने मनपरी संशोधन गरेको छ । परिणामतः सत्ता हैन सरकार प्राप्त गरेर त्यसको रक्षा गर्न असफल भएको छ । साथै, कथित कम्युनिष्ट पार्टी एकताबद्ध रहिरहन पनि सकेन । यो स्थितिले हामीलाई नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान निम्न प्रवृति र पात्रहरुप्रति ध्यानाकार्षण गराउँदछ । पहिलो, मालेमावादी क्रान्तिकारी असल कम्युनिष्ट प्रवृति हो, यो धाराको पछिल्लो चरणमा प्रतिनिधित्व विप्लव, वैद्य, कट्टेल, आहुति, सुशिलहरुले गर्दछन् । दोस्रो, संसोधनवादी सुधारवादी तथा संसदवादी प्रवृति हो, यसको प्रतिनिधित्व केपी, माधव र प्रचण्डहरुले गर्दछन् । तेस्रो, पलायनवादी प्रवृति हो । यसको पछिल्ला र शुरुवाती पात्र क्रमशः डाक्टर बाबुराम र केशरजंग हुन् । र, चौथो, संकिर्ण विर्सजनवादी प्रवृति हो । यो प्रवृतिको नेतृत्व सिपी, रोहित र एमविहरुले गरेको भन्न सकिन्छ । त्यसैले, आजको आवश्यकता मालेमावादी कम्युनिष्ट विचारका आधारभूत र सार्वभौमिक पक्षलाई आधार बनाई विकसित वस्तुस्थिति अनुरुप विचारको विकासमा जोड दिनैपर्छ । ताकि कम्युनिस्ट सरकार हैन पूर्ण सत्ता प्राप्त गर्न र त्यसको रक्षाको सुनिश्चितता पनि गर्न सकियोस, अन्यथा कम्युनिष्ट आन्दोलन ओरालो लाग्ने र पश्चिम बंगाल वा पूर्वी युरोपको नियति भोग्नुपर्ने स्पष्ट चित्र देखिएको छ ।

सन्दर्भ तीन

नेकपाले आगामी नवौँ महाधिवेशनको नारा ‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौँ, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौँ’ भन्ने तय गरेको छ । यो पार्टीले ‘एकीकृत जनक्रान्ति’ लाई केन्द्रमा राखेर मालेमावादका तीनवटै अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा थप विकास गर्ने उदेश्य लिएको छ, साथै, यसले मालेमावादको विशिष्ट विकासको परिणाम एकीकृत जनक्रान्तिलाई मानेको छ । जसलाई अझै विकास गरेर कम्युनिष्ट विचार, आदर्श, मूल्य र
मान्यतालाई नयाँ उचाईमा उठाउने उद्घोष पनि गरेको छ । यो पार्टीले विचार विकासको नाममा यदि मालेमावादको आधारभूत र सार्वभौम पक्षलाई छोड्यो भने यो पार्टी पनि तेस्रो एमाले हुने वा नवमाक्र्सवाद तथा नववामपन्थको बाटो समात्न पुग्नेछ भने विचारको विकास नगरी पुरानैमा टाँसिएर बस्छ भने पनि विसर्जन वा पलायन हुनु अनिवार्य छ । त्यसैले, नेकपाले कम्युनिष्टप्रिय नेपाली जनमतको रक्षा गर्न २१औँ शताब्दीमा मालेमावादी कम्युनिष्ट विचारको विकास गर्ने आँट गर्नैपर्छ । जसबाट महान सम्भावनाका नयाँ क्षितिजहरु खोलिनेछन् र देश र जनताले कम्युनिष्टको नेतृत्वमा मुक्ति र प्रगति प्राप्त गर्न सक्नेछन् । त्यसैले नेकपाको नवौँ महाधिवेशनले समग्र कम्युनिष्ट आन्दोलन र समाजको क्रान्तिकारी रुपान्तरणसँग सरोकार राख्छ र राख्नुपर्छ ।

३. नेपाली कम्युनिष्ट र एकीकृत जनक्रान्ति

नेपाली कम्युनिष्टमा एउटा पुस्ता चाहेर वा नचाहेर बिदा हुँदैछ । जुन पुस्ताले वर्गसंघर्षका सशस्त्र र शान्तिपूर्ण दुवै मोर्चालाई उत्कर्षमा पुर्यायो । यसर्थ यो पुस्तालाई धन्यवाद दिनुपर्छ तर लक्ष्य भने चुम्न सकेन, अझ भनौँ देश र जनताले कम्युनिष्टको कारण उन्मुक्ति पाएको र आफ्नो जीवनमा गुणात्मक सकरात्मक परिवर्तन आएको महशुस गर्न पाएनन् । निश्चित रुपमा अब आउने पुस्ताले पुरानोबाट सिकेर केहि नयाँ गर्नैपर्छ । यदि पुरानै निष्कर्ष र पदचापहरु समातेर हिड्ने हो भने जेनतेन पुरानो पुस्ताले कम्युनिष्टको बेहाल नहुँदै बिदा लिनेछ, तर अर्को पुस्ताको अन्त्य कम्युनिष्टको बिजोक र बिचल्लीसँगै हुनेछ । त्यसैले, सबभन्दा पहिले क्रान्ति पूरा भएको वा सकिएको निष्कर्षमाथि पुर्नविचार गर्नुपर्दछ । अर्को भाषामा माक्र्स र लेनिनसँग माओलाई पनि जोड्नुपर्छ र क्रान्ति जारी रहेको उद्घोष गर्नुपर्छ । साथै जारी क्रान्ति पुरानो हैन नयाँ मान्यतामा आधारित हुने कुरा पनि स्पष्ट पार्नुपर्छ । मुख्य कुरा कम्युनिष्टप्रिय जनतालाई निराश, विचलित र पलायन हुन नदिई कम्युनिष्टको अधुरो लक्ष्य पुरा गर्न अघि बढ्नुपर्छ र भावि परिवर्तनको नेतृत्व गर्ने साहस गर्नैपर्छ ताकि देश र जनताले जीवनमा गुणात्मक परिवर्तन भएको साथै एक स्वतन्त्र, सार्वभौम शक्तिशाली देशको नागरिक भएको महशुस गर्न सकुन् । यसका लागि एकीकृत जनक्रान्ति एक विकल्प हुन सक्छ । जसका बारे केही भन्न जरुरी छ ।

क) चुनावको प्रयोग र पार्टी फुट

कथित कम्युनिस्ट सरकारद्वारा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध अनि त्यही सरकारसँग तीन बुँदे सहमतिपछि प्रतिबन्ध हट्नुले एकीकृत जनक्रान्तिको वैज्ञानिकता र विजयको नै पुष्टि भएको हो । तीन बुँदे सहमतिपछि एकीकृत जनक्रान्तिको विचार स्थापित हुँदै गएको थियो । पार्टीको विकसित विचारको पक्षमा सकारात्मक वातावरण बन्दै थियो, जसलाई अझ सहज रुपमा विस्तार गर्न स्थानीय चुनावको प्रयोग गर्ने निर्णय भएको थियो । जुन निर्णयलाई बहाना बनाई क. कन्चनको नेतृत्वमा पार्टी फुट भयो । उहाँहरुले फुट पूर्व र पछि एकीकृत जनक्रान्ति र यसको प्रस्तावक नेतृत्वमाथि जसरी भीषण हमला गर्नुभयो । के यसले एकीकृत जनक्रान्तिको विकसित विचारको औचित्य समाप्त पार्छ ? अँह पार्दैन बरु, एकातिर नयाँ विचारले चौतर्फि विरोधको सामाना गर्नैपर्ने नियमानुसार नकारात्मक ढंगले एकीकृत जनक्रान्तिलाई स्थापित गर्न सहयोग नै भएको छ भने अर्कोतिर उहाँहरुमा वैचारिक दरिद्रता पनि प्रकट भएको छ । किनभने उहाँहरु हमलामा उत्रिदा ‘अबको क्रान्ति नयाँ विचार र कार्यदिशाको विकास नगरी सम्भव छैन’ भन्ने पूर्व मान्यताबाट पछि हटेर अझ भनौँ एकीकृत जनक्रान्तिप्रतिको एकदमै कमजोर र सतही बुझाइलाई प्रकट गरेर स्पष्ट पार्नु भयो । जहाँसम्म उहाँहरुले नेकपासँग दार्शनिक, राजनैतिक, आर्थिक, सांगठनिक र संस्कृतिमा जे समस्या छन् भनेर भन्नुभएको छ । त्यसलाई त एउटै (ती केवल आरोप मात्र हुन् भन्ने) वाक्यबाटै खारेज गर्न सकिन्छ । यद्यपि ठिक यसरी नै उहाँहरुले नेकपालाई जवाफ दिन सक्नु हुन्छ । तर उहाँहरुका सन्दर्भमा भने फुटवाद नै प्रमाणित भएको छ । हो, उहाँहरुले पार्टी फुटाएर गम्भीर गल्ती गर्नु भएको छ । किनभने, कुनै विषयमा प्रश्न उठनु वा शंका उत्पन्न हुनु भनेको निष्कर्षमा पुग्ने प्रर्याप्त आधार हुँदैन र दिदैन । बरु, सम्बन्धित पक्षले कसरी उत्तरित गर्दछ र उत्पन्न आशंकालाई कसरी निवारण गर्दछ भन्ने सवाल मुख्य हुन्छ साथै त्यसका लागि पनि निश्चित समय र
प्रकृया आवश्यक पर्छ । प्रश्न उठ्ने बित्तिकै दमन गर्नु र निचोड निकालेर भाग्नु दुवैले कमजोर वैचारिक स्तर र पछौटे बहसको परम्परालाई मात्र व्यक्त गर्दछन्। स्वभाविक रुपमा नयाँ विचार र विषयले सधैँ नै प्रश्न र शंका गर्ने ठाउँ दिइनैरहेको हुन्छ । तर उहाँहरुले सबै— प्रश्न, शंका, निष्कर्ष र निर्णय— एकैपटक गरेर पार्टी नै अलग गर्ने जे कदम चाल्नु भयो यो उचित र स्वभाविक देखिदैन । एकीकृत जनक्रान्तिको मान्यताबाट हेर्दा स्थानिय चुनावको कार्यनैतिक प्रयोग सकारात्मक कुरा हो भने त्यो विषयलाई लिएर पार्टी फुटाउनु नकारात्मक कुरा हो । साथै चुनावी परिणामलाई लिएर निराश हुने, खिसिट्युरी गर्नु संसदवाद हो भने त्यसलाई गम्भीरतापूर्वक लिएर अविचलित भै आफूलाई सुदृढ गर्नु माक्र्सवाद हो ।

संक्षिप्तमा माथि नै उल्लेख गरिसकियो कि कुनै पनि नयाँ विचार र विषयले सधैँ नै चौतर्फि विरोध, प्रश्न र शंकाको सामना गरिरहनु पर्दछ । किनभने, विचारको विकास र विचलनमा कुनै चिनियाँ पर्खाल हुँदैन बरु, नयाँ विकासप्रतिको विश्वास, त्यसको सफलता र व्यवहारिक पुष्ट्याई मुख्य कुरा हो । यसका लागि विज्ञानलाई बलियोसँग समातेर समयानकूल थप विकास गर्ने हिक्मत गर्नैपर्छ । नेकपाले यही आँट गरेको छ र हो, जसले नेपाली कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान गर्नसक्ने विश्वास गर्न सकिन्छ ।

ख) नेपाली कम्युनिष्ट र एकीकृत सत्य

नेपाली कम्युनिष्ट सापेक्ष सत्यलाई लिएर विभक्त छन् । उनीहरुसँग आफ्ना आफ्ना सत्यहरु छन् र आफ्नो सत्यलाई नै पूर्ण र निरपेक्ष सत्य दावी गरिहेका छन् । यो स्थिति विश्व कम्युनिष्ट आन्दोलन र सारा संसारभरि नै रहेको छ । नेकपा एमालेसँग ‘बहुदलीय जनवाद’ को सत्य छ । नेकपा माकेसँग ‘२१औ शताव्दीको जनवाद’ को सत्य छ । नेकपा लगायत अन्यसँग ‘वैज्ञानिक समाजवाद’को सत्य छ र नेकपा (क्रान्तिकारी माओवादी) लगायत केहीसँग ‘नयाँ जनवाद’ को सत्य छ । साथै यी सत्य प्राप्तिका मूलतः २ वटा बाटो छन् । एक, शान्तिपूर्ण संसदीय र दोस्रो, सशस्त्र (जनयुद्ध वा जनविद्रोह) संघर्षका सत्य छन् । यी दुवै सापेक्ष सत्य हुन् । सशस्त्र संघर्ष के सापेक्ष सत्य हो त ? बहस हुन र विचलनको आरोप आउन पनि सक्छ तर समग्रतामा हेर्दा जसरी वर्ग सत्य सापेक्ष हो ठिक त्यसरी सशस्त्रसंघर्ष पनि सापेक्ष सत्य नै हो । वस्तुगत आवश्यकता यो छ कि यी सापेक्ष बहु सत्यहरुमाझ एकीकृत सत्यको खोजी र पहिचान गर्नु, ताकि उनीहरुले
राजनैतिक परिर्वतनको मुख्य नेतृत्व गर्न र आफ्नो लक्ष्य भेट्न सकून् । सत्य धेरै हुन्छन् । शतप्रतिशत सत्य भन्ने पनि हुँदैन । तर यसको अर्थ सबै सत्य सापेक्ष मात्र हुन्छन् भन्ने होइन । बरु, ती सबै सत्यहरुमा एउटा पूर्ण सत्य हुन्छ जो निरपेक्ष सत्य हो, जसलाई एकीकृत सत्य पनि भन्न सकिन्छ । निरपेक्ष सत्य पनि निश्चित समयका लागि र अलग अलग हुन सक्तछन् तर ती अन्तरसम्बन्धित पनि हुन्छन्, जसलाई एकीकृत गर्न आवश्यक हुन्छ । यो प्रमाणित भएको र आलोचक तथा विरोधी समेतले मानेको सत्य हो । यो पहिलो चरणमा सापेक्ष बहु सत्यहरुलाई नियमशासित रुपले निरपेक्ष सत्यसम्म पु¥याउने भूमिकामा हुन्छ भने दोश्रो चरणमा त्यसले बहुसत्यहरुलाई एकीकृत रुपमा नेतृत्व प्रदान गर्दै परिणाममुखी ऊर्जाको काम गर्दछ र गर्नुपर्दछ । वर्तमानको आवश्यकता सापेक्ष बहु सत्यहरुलाई नियमशाषित रुपले निरपेक्ष सत्यसम्म लैजान भूमिका खेल्ने एकीकृत सत्यको खोजी गर्नु हो । समाज विज्ञानमा आउँदा रणनीतिप्रतिको स्पष्टता र दृढता, समाजको प्रधान अन्तर्विरोध (समस्या) पहिचान र त्यस्को समाधानको सार्थक प्रयास र विगतको २ मा विभाजन अनि त्यसबाट राम्रो सिकाई आदि विषयले सबै सापेक्ष बहु सत्यलाई निरपेक्ष सत्यसम्म लैजान एकीकृत रुपले नेतृत्व प्रदान गर्ने सत्यको काम गर्न सक्छन् । साथै, एकीकृत जनक्रान्ति, स्वामित्व (अर्थतन्त्रमा) र अधिनायकत्व (जनता र पार्टीको) ले पनि एकीकृत सत्यको सहयोगीको रुपमा काम गर्न सक्छन् । प्रायः कम्युनिष्टमा प्रधान अन्तर्विरोध समाधान गर्ने तरिकामा मतभिन्नताको कारण विभाजन हुन्छन् । जसलाई रोक्न आवश्यक छ । अन्यथा बहुमतमा रहेको समाजवादमाथि अल्पमतमा रहेको पुँजीवादद्वारा शाषित भइरहनपर्ने कम्युनिष्टको नियति भोगिरहनपर्नेछ ।

अन्त्यमा, नेपाल कम्यनिष्ट पार्टीले आफ्नो आगामी महाधिवेशनमा मालेमावादी कम्युनिष्ट विचार जो नेपाली विशिष्टतामा एकीकृत जनक्रान्तिमा संश्लेषण भएको छ, त्यसलाई थप विकास गर्ने बताएको छ । अवश्य पनि त्यो विकासले नेपाली कम्यनिष्ट आन्दोलनलाई एकीकृत गर्ने नयाँ आधार प्रदान गर्नेछ र अधुरो क्रान्तिलाई पूरा गर्ने सम्भावनालाई नजिक ल्याउनेछ । जुन क्रान्तिको विजयले मात्र देश र जनतालाई नवऔपनिवेशिक र दलाल पुँजीवादी उत्पीडनबाट मुक्ति दिलाउनेछ ।