बोल्नै नहुने कुरा रामकुमारीको मुखबाट फुत्त खुस्कियो, नेकपा एसमा खैलाबैला


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, साउन २१ २०७९
73.6K
SHARES

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीको मुखबाट बोल्नै नहुने कुरा खुस्किएको छ । पार्टीले सरकारबाट फिर्ता बोलाएदेखि विछिप्त बनेकी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई गलत आरोप लगाउन खोज्दा बोल्नै नहुने कुरा खुस्किएको हो ।

हालै पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा झाँक्रीले अध्यक्ष नेपालमाथि हुँदै नभएको आरोप लगाएपछि नेकपा एसमा खैलाबैला मच्चिएको छ । उनले पार्टी अध्यक्ष माधव नेपालले रौतहट जिल्लामा बिना बजेट, बिना योजनाको विकासको काम उद्घाटन गरेको भन्दै आलोचना गरेकी हुन् । झाँक्रीले मिडियाको प्रयोग गरेर आफ्नै पार्टी अध्यक्षको आलोचना गरेपछि सोही दलका नेता एवं हालका सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका प्रवक्ता प्रदीप परियारलाई विज्ञप्ति निकाल्न लगाएर खण्डन गरेका छन् ।

उनले सो विज्ञप्ति सहित फेसबुकबाट आफूले पनि खण्डन गरेका छन् । उनले भनेका छन्–‘पूर्व प्रधानमन्त्री एवं पार्टीका श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपालले सहरी विकास मन्त्रालयले आयोजना गरेको रौतहट जिल्लाको विभिन्न आयोजनाको शिलान्यास विषयमा भ्रम फैलाउने गरी केही मिडिया मार्फत प्रसारण भएको सुन्दा अचम्मित र दुःखी तुल्याएको छ । मन्त्रालयले आयोजनाको शिलान्यास सबै विधि प्रक्रिया ९आवश्यक बजेटको व्यवस्थापन गरेर० पुरा गरेको छ । यसमा कुनै पनि मिडियाहरू भ्रममा नपर्नको लागि सबैमा अनुरोध छ ।’

झाँक्रीको सो अभिव्यक्तिले पार्टीभित्रै हलचल मच्चिएको छ । मन्त्री चौधरीले मात्र नभई सो दल निकट समाजवादी पत्रकार सङ्गठनका उपाध्यक्ष विश्वमणि सुवेदीले नेता नेपालले शिलान्यास गरेको आयोजनाको बजेट स्वीकृति विवरण लगायतका प्रमाणित कागजातहरू फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उनले कुरा सुनौँ–कागज हेरौँ भन्दै रामकुमारी झाँक्रीले लगाएको आरोपको भिडियो क्लिप र आयोजनाबारेको सामग्री पोस्ट गरेका छन् ।

उनले रौतहटमा नेता नेपालले शिलान्यास गरेको योजनामाथि प्रश्न उठाएकी थिइन् । उनले भनेकी थिइन्–‘हिजो उहाँले गौरमा गरेको शिलान्यास न बजेट छ, न कार्यक्रम छ, न स्रोत सुनिश्चितता छ, न टेण्डर आह्वान भएको छ । उहाँ दुई दुई वटा धर्मशाला र सभाहलको शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन । बजेटमा कार्यक्रम पनि छैन । ठेक्का पनि लगाएको छैन । ठेक्का प्रक्रिया पनि सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन । कुन स्रोतबाट काम गर्ने भन्ने थाहा पनि छैन । तर उहाँले शिलान्यास गर्नुभयो । कुरो त उही भएन र भन्या ?’

तर सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सहरी विकास मन्त्रालयले गर्ने रौतहट जिल्लाको गौर बोर्डर टाउनमा सहरी पूर्वाधार निर्माण, गौर सभाहल र राम जानकी विवाह मण्डपका लागि बहुवर्षीय योजनाका रूपमा २८ करोड छुट्ट्याएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि ७ करोड छुट्याएकोमा आर्थिक वर्ष २०८०–०८१ का लागि २१ करोड छुट्याइएको छ । यस्तै रौतहट जिल्ला गौर नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि १२ करोड रुपैयाँ बस्ती विकास कार्यक्रम अन्तरगत राखिएको छ ।

यस्तै रौतहट जिल्ला राजदेवी नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको विवरण सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।