लामो आयु बाँच्ने पाँच उपाय


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, भाद्र १ २०७९
2.1K
SHARES

काठमाडौँ – यी आमैलाई हेर्नुभयो भने तपाईंले उनको आयु १ सय वर्ष हो भन्ने पत्याउनु हुन्न । तर नपत्याएर भयो ? उनको खातामा सबैभन्दा बढी उमेरकी योग शिक्षकको कीर्तिमान छ र गिनिज बुक अफ वल्र्ड रेकर्ड्स्ले उनको यो दाबीलाई स्वीकार पनि गरिसकेको छ ।

यी कुप्री आमैको नाउँ हो ताओ पोर्चन लिन्च । तपाईंले सोच्नु भयो होला, यी कुप्री आमै यतिबेला घरमा आराम फर्माइरहेकी होलिन् । तपाईं उसो भए गलत हुनुहुन्छ । उनलाई आराम फर्माउने बिल्कुलै फुर्सद छैन । उनी न्युयोर्कका कैयौं सेन्टरहरुमा योग सिकाउँछिन् । न्युयोर्क मात्र किन ? आइल्याण्ड अफ जमैका र म्यासाचुसेटको कृपालु सेन्टरमा पनि आफ्ना अनुरागीहरुलाई योग सिकाउँछिन् ।

उनी योगमा मात्र होइन, नृत्यमा पनि उत्तिकै सिपालु छिन् र बेलाबेलामा नृत्य प्रतियोगितामा भाग पनि लिइरहेकी हुन्छिन् । त्यति मात्र होइन, दलाई लामासँग बसेर शान्ति र आध्यात्मका बारेमा छलफल पनि गरिरहेकी हुन्छिन् ।

पत्याउन गाह्रो भए पनि उनको निस्कन लागेको संस्मरणमा उनले सन् १९३० को दशकमा महात्मा गान्धीसँग ‘भारत छोडो आन्दोलन’मा सहभागिता जनाइन् । ४० को दशकमा फ्रान्सेली प्रतिरोध आन्दोलनमा जमेको मात्र होइन, ५० को दशकमा हलिउडमा पु¥याएको योगदानका लागि सम्मानित उनी सन् १९८७ मा बलरुम डान्स (एक किसिमको पश्चिमेली नृत्य)मा सर्वोत्कृष्ट भएको उनको अनुभव छ । उनको धारणामा दीर्घजीवनको उपाय के छ त ? लामो समयसम्म कसरी बाँच्ने ? उनी भन्छिन्, ‘दीर्घजीवन बाँच्नका लागि जम्माजम्मी पाँच उपाय अपनाए पुग्छ । त्योभन्दा धेरै गरिरहनै पर्दैन ।’

आउनुस्, तिनै पाँच उपायका बारेमा जानौंः

१) सही तरिकाले दिनको सुरुवात गर्नुहोस् : जब म बिहान उठ्छु, आज आइपर्ने कुराहरुका बारेमा नकारात्मक सोच्दिनँ । न त राम्रा कुराहरुबारे नै सोच्छु । म त केही पनि सोच्दिनँ । बरु त्यसको साटो म आफैँलाई भनिरहेकी हुन्छु– ‘आजको दिन मेरो जीवनको सर्वोत्कृष्ट दिनका रुपमा जिउँछु ।’

२) उमेर मात्र नम्बरको खेल हो : म उमेरमा विश्वास गर्दिनँ । जब मानिसहरुले मेरो जिन्दादिली देख्छन्, मेरो उमेर कति भयो भनेर सोधिहाल्छन् । म तिनीहरुलाई भन्छु, तपाईं ऊ त्यो रुखलाई हेर्नुस् त ? तिनीहरुको उमेर कति भयो होला ? ती त सैयौं वर्षका भइसके । त्यतिबेला उनीहरुको अनुहार हेर्न लायकको हुन्छ । म तिनीहरुलाई भन्छु, ती रुखहरुलाई हेर्दा मर्नै लागेका हुन् कि जस्तो लाग्छन् तर त्यस्तो हुँदैन । ती रुखले पनि आफूलाई पुनर्जीवित गरिरहेका हुन्छन्, आफैँलाई सुधारिरहेका हुन्छन् । अनि केही महिनाभित्रै ती रुख नयाँ बन्न पुग्छन् । त्यस्तै मानिसको जीवन पनि उमेरलाई पाखा लगाउने हो भने तपाईंले बुझिहाल्नु हुन्छ, हरेक दिन नयाँ नयाँ चिज बोकेर आउने हाम्रो जीवन रुखजस्तै हो । हामीले चाह्यौं भने यसलाई दिनदिनै नयाँ बनाउन सक्छौं ।

३) यस्तरी नाच्नुस् कि वरिपरि को छ भन्ने ख्यालै नगर्नुस् : हामी सामान्यतयाः आफूलाई गर्न मन लागेको कामहरु पनि अरुले के भन्लान्, के सोच्लान् भनेर गर्दैनौं । तर म त आफूलाई नाच्न मन लाग्यो भने यस्तरी नाच्छु कि आफ्नो वरिपरि को छ भन्ने बिल्कुलै परवाह गर्दिनँ । मलाई थाहा छ, म लड्न सक्छु, म चिप्लिन सक्छु, अरुको हाँसोको पात्र बन्न सक्छु । मलाई त्यो बेला जे पनि हुन सक्छ । जे सुकै होस्, म नाच्न छाड्दिनँ । र, म अरुलाई आफूभन्दा अब्बल हुन दिन्नँ ।

४) सोचेको कुरा पूरा गर्न लागिपर्नुस् : धेरै जना मानिसहरु आफूले सोचेको कुरा पूरा हुँदैन भनेर नीच मार्छन् । उनीहरुले सोचेको कुरा तत्कालै पूरा हुँदैन भनेर छाडिदिन्छन् । तर मैले आफ्नो सोचलाई कहिल्यै पनि त्यस्तो हुन दिइनँ । आफूलाई मन लागेको कुरा पूरा गर्न म जहिले पनि जोडतोडले लागिरहेँ । जब मैले प्राप्त गरेँ, मैले त्यसलाई पूर्ण सन्तोषका साथ ग्रहण गरेँ । जीवनमा आइपरेका राम्रा नराम्रा जस्तासुकै कुराहरुलाई पनि मैले सकारात्मक रुपमा ग्रहण गरेँ । त्यसैले म अरुलाई सकारात्मक रुपमा सोच्न र जीवन जिउन सल्लाह दिने गरेकी छु ।

५) अल्छ्याइँ नगर्नुस् : कतिपय अवस्थामा हाम अल्छी गर्छौं र त्यसो गर्दा हामीले आफ्नो शक्तिको सीमालाई साँघुरो पारिरहेका हुन्छौँ । आफूलाई साँघुरो नपार्नुस् । कुनै काम आइप¥यो भने तुरुन्त उठ्नुस् र आइपरेको कामलाई मज्जा मानेर पूरा गर्नुस् । जब तपाईंले त्यो काम पूरा गर्नुहुन्छ, त्यसबेला तपाईंले बुझ्नु हुन्छ– काम कत्तिको मज्जाको थियो ! हामीले जीवनमा धेरैथोक गर्नु छ, थोरै समय छ । त्यसैले अगाडि आएका कामलाई नसाँच्नुस् ।