प्रचण्डको गोजीमा अड्कियो पार्टी पदाधिकारीको नाम


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
1.4K
SHARES

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पार्टी पदाधिकारी हरुको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोजीमा अड्किएको छ।

शुक्रबार बसेको माओवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पदाधिकारी र स्थायी कमिटीका बाँकी सदस्यको नाम प्रस्ताव गर्ने अपेक्षा गरिएतापनि तयार पारिएको पदाधिकारीको नाम प्रस्तुत नगरिकनै गोजीमा अड्किएको हो।

शुक्रबारको बैठकले पनि माओवादीका पदाधिकारी चयनको प्रक्रिया अघि बढाउन नसकेपछि भोली शनिबार फेरि बैठक बस्ने भएको छ।

बिहीबार बानेश्वरस्थित संसद भवनमा भेटिएका माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका सांसदले भनेका थिए( आज साँझ बस्ने बैठकले पदाधिकारी टुंगो लगाउँछ।

तपाईंको दाबी कुन पदमा हो भन्ने प्रश्नमा उनले ‘अब जे भारी बोकाइ दिए पनि बोक्ने हो’ भनेर जवाफ दिए।

उनको कुराबाट माओवादीमा महाधिवेशन भएको महिनौंसम्म पनि किन पदाधिकारी चयन भएका छैनन् भन्ने संकेत मिल्छ। अध्यक्ष प्रचण्डले के निर्णय गर्छन् र कहिले गर्छन् भन्ने कसैलाई थाहा छैन। पदाधिकारी चयनको समय सरिरहेकाले स्थायी समिति सदस्यसमेत आजित भइसकेका देखिन्छन्।

बिहीबार प्रतिधिनि सभा बैठक लम्बिएका कारण माओवादी बैठक स्थगित भयो। शुक्रबारको बैठकमा पनि प्रचण्डले पदाधिकारीको प्रस्ताव ल्याएनन्।

शुक्रबारको बैठकमा उनले शनिबार १ बजे बस्ने बैठकमा सबै नाम टुंगो लगाउने बताएका छन्।

म एकैचोटी नाम प्रस्ताव गर्छु। अब पदाधिकारीबारे छलफल हुँदैन। विशेष गरी महासचिवमा धेरै नेताको दाबी छ। दाबी गर्नु स्वभाविक हो तर त्यसकै आधारमा कित्ताकाट गर्न भएन,’ शुक्रबारको बैठकमा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘यो मान्छे हुनुपर्छ भनेर सद्भाव शुभेच्छा राख्न पनि सकिन्छ। तर फेसबुकमा हल्लाखल्ला गर्नु राम्रो होइन। कुनै दुई नेता नमिलेका कारण वा मिलाउनका कारण अहिलेसम्म पदाधिकारी चयन नभएको पनि होइन।’

बैठकमा प्रचण्डले महासचिवमा ७ जनाको दाबी रहेको बताएका थिए। वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरूङ, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले आफूसँग महासचिवको दाबी गरेको जानकारी गराएका थिए। उनले वर्षमान र जनार्दनको नाम नलिइकन दुई नेताका नाममा कित्ताकाट गरिनु राम्रो नभएको समेत बताएका थिए।

२१ पदाधिकारीमा उपाध्यक्ष २, महासचिव १, उपमहासचिव ७ र सचिव ९ जना राख्ने तयारी रहेको समेत एक स्थायी कमिटी सदस्यले बताए।

प्रचण्डले वरिष्ठताका आधारमै पदाधिकारी चयन गर्ने बताउँदै आएका छन्। त्यस्तो भएमा माओवादीभित्र प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, श्रेष्ठपछि कृष्णबहादुर महरा र महरापछि देव गुरूङ हुन्। उपमहासचिव धेरै बनाउन खोज्नुले पनि त्यही संकेत गर्छ।

‘भन्न त अध्यक्षले शनिबार जसरी पनि पदाधिकारी चयन हुने भन्नुभएको छ। तर उहाँले बोलेअनुसार हुन्छ भनेर कसरी पत्याउनुरु,’ एक नेताले भने, ‘असार २३ को केन्द्रीय कमिटी बैठकमा गोजीमा पदाधिकारीको नाम छ भनेर त चयन हुन सकेन। उहाँले निर्णय नगर्दासम्म कसैलाई थाहा हुँदैन।’

यसअघि असार २३ गते प्रचण्डले केन्द्रीय सदस्यहरूको नाम आफ्नो गोजीबाट निकालेका थिए। एक पटक पढेको नाम नमिलेपछि उनले फेरि अर्को पटक नाम निकालेर पढेका थिए।