मनको गाँठो फुकाऊ


नेत्र आचार्य
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
570
SHARES

गौतम बुद्ध प्रवचन कक्षमा एउटा रुमाल लिएर आइपुगे । शान्तिपूर्वक बसिरहेक हजारौं भिक्षु त्यो देखेर आश्चर्यमा परे । बुद्ध केही नलिई आउँथे तर आज उनको हातमा एउटा नरम र चम्किलो रेशमी रुमाल फिरफिर गरिरहेको थियो ।

भिक्षुहरुले सोचे, शायद कुनै राजा वा व्यापारीले उपहार दिएको होला । तर रुमाल देखाउँदै प्रवचन कक्षमा आउनुको आशय के हुनसक्छ ? कसैले केही अन्दाज गर्न सकेनन् । बुद्धले भिक्षुहरुलाई रुमाल राम्ररी हेर्न भने । सबैले ध्यानपूर्वक हेरे । त्यो एउटा आकर्षक रेशमी रुमाल थियो ।

अब बुद्धले रुमालमा धमाधम गाँठा पार्न थाले । पाँच वटा गाँठा पारिसक्दारुमालको सौन्दर्य गायब भइसकेको थियो । सबै भिक्षुहरुले एक टक हेरिरहेका थिए, बुद्धले साँच्चै के गर्न लागेका हुन् ? बुद्धले रुमाल देखाउँदै सोधे, ‘के यो पहिलाकै रुमाल हो ?’

‘हो, यो त्यही रुमाल हो जुन हामीले अघिदेखि नै तपाईंको हातमा देखिरहेका छौं’, भिक्षुहरुले एक साथ उत्तर दिए । ‘सुरुमा यो रुमालमा कुनै गाँठो थिएनन्, अहिले गाँठैगाँठा छन् । यो त्यही रुमाल हुन सक्छ ?’

एक जना भिक्षुले उठेर भने, ‘यो पहिलाकै रुमाल भए पनि यसमा धेरै गाँठा परेका छन् । अब यसको सौन्दर्य उस्तै छैन र यहीहालतमा यसको उपयोगिता पनि कम छ ।’ बुद्धले भने, ‘हो । दुःखी मानिस पनि बुद्धभन्दा फरक हुँदैनन् । यद्यपि बुद्ध गाँठो नपरेको खुला रुमाल हुन् भने दुःखी मानिस गाँठो कसिएको रुमाल । उमेर बढ्दै जाँदा मानिसले आफ्नै मनमा गाँठा पार्दै जान्छ, अनि तनाव र दुःख बढाउँछ । मानिसको मनमा अरुप्रति हिंसाभाव, लोभ, असत्य बोलीव्यवहार, बेहोसी र अहंकारका पाँच वटा गाँठा कसिन्छन् । तब मानिस दुःखी हुन्छ ।’

यसपछि बुद्धले रुमालको दुवै छेउ समातेर तान्दै भने, ‘के यी गाँठालाई यसरी खोल्न सकिन्छ ?’ भिक्षुहरुले भने, ‘सकिँदैन । यसरी त गाँठा झन् कसिँदै जान्छन् । धैर्य गरेर कसिएको उल्टो प्रक्रिया अपनाए गाँठा खुल्छन् ।’

बुद्धले भने, ‘तिमीहरु यो रुमालको बारेमा प्रष्ट बुझ्छौ । आफ्नै बारेमा किन बुझ्दैनौ ? सायद बुझपचाउँछौ ! तिमीहरुले कहिल्यै आफ्नो मनका गाँठा कसरी परेका हुन्, तिनलाई कसरी फुकाउने भनेर चेष्टा गरेका छौ ? छैनौ भने आजैदेखि गर्न थाल । मनमा कुनै गाँठा नभएको बालकजस्तै सरल र मस्त बन ।’