सफलताका लागि त्याग गर्नुहोस्


डा. बुद्धी मल्ल
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
570
SHARES

काठमाडौँ – कतिपय मानिस मेहनत नगरेका कारणले असफल भएका देखिन्छन् भने कतिपय चाहिं कडा मेहनत गर्दा पनि सफल भइरहेका हुँदैनन् । अधिकांश असफल मानिस लगातार एकै प्रकारका प्रयास गरिरहेका हुन्छन्, उनीहरु सफल हुन भने चाहन्छन् तर, आफ्नो काम गर्ने तरिका, बानी भने छोड्न तयार हुँदैनन् ।

एउटा एकदमै गरिब केटा आफूले मेहनतले कमाएको पैसा पनि कहिले हराउने, कहिले चोरिने भएपछि दिक्क भएर भगवान बुद्धलाई भेट्न निस्कन्छन् । बाटोमा जांदै गर्दा उसले एउटा जादुगर भेट्छ । जादुगरले हजार वर्षदेखि स्वर्ग जान तपस्या गरिरहेको तर आजसम्म नसकेकोले यसबारेमा भगवान बुद्धसँग सोधिदिन आग्रह गर्छन् । त्यसपछि बाटोमा उसले एउटा कछुवा भेट्छ । कछुवाले पनि आफूले ५ सय वर्षदेखी ड्रागन बन्ने कोसिस गरिरहेको तर नसकेकोले उसले पनि यस बारेमा भगवान बुद्धसँग सोधिदिन आग्रह गर्छन् ।

लामो यात्रापछि केटाले बुद्धलाई भेट्छन् । तर बुद्धले केटालाई २ वटा मात्र प्रश्न गर्नु भन्नु भएपछि केटा अप्ठेरोमा पर्छन् । किनभने, उसलाई बाटोमा भेटेको जादुगर र कछुवाको समस्याभन्दा आफ्नो समस्या सानो लाग्छ । उसले सोंच्छ कि, म त खाली गरिब मात्र हुँ । तर जसरी भएपछि गुजारा त चलाइरहेकै छु । त्यसैले बुद्धसँग आफ्नो प्रश्न नराखी जादुगर र कछुवाको प्रश्न राख्छन् ।

लेखक : डा. बुद्धि मल्ल

प्रश्न सुनिसकेपछि भगवानले ती प्रश्नको यसरी उत्तर दिनुहुन्छ १) कछुवा ५ सय वर्षदेखि ड्रागन बन्न कोसिस गरिरहेको छ तर, उसले आफ्नो खोल छोड्न अहिलेसम्म तयार देखिँदैैन । २) जादुगर स्वर्ग जान तपस्या गरिरहेको छ तर, आफ्नो जादुगरी लठ्ठी छोड्न तयार छैन । केटाले भगवानबाट जवाफ पाएपछि फर्केर कछुवालाई सुनाउँछ । कछुवाले खोल निकाल्छ । कछुवाको खोलमा बहुमुल्य हिरा, मोती हुन्छन् । केटाले पाउँछ अनि धनी बन्छ । जादुगरलाई पनि बताउँछ । उसले पनि जादुगरी लठ्ठी छोड्छ अनि स्वर्ग जान्छ ।

यो पुरानो पौराणिक कथाबाट हामीले अथक मेहनतबाट मात्रै सफलता प्राप्त गर्न सक्दैनौं । असफल भइरहेका छौं भने सफलता प्राप्त गर्नको लागि काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ ।

नयाँ चीज प्राप्त गर्न पुरानो चीज त्याग्न तयार हुनुपर्छ । सबैका आ–आफ्ना समस्या हुन्छन् । आफ्नो समस्या सबैलाई ठूलो लाग्ने गर्छ । समस्याको हल पनि हामीसँगै हुन्छ भन्ने शिक्षा प्राप्त गर्न सक्छौं ।