बुद्धको उपदेश


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
285
SHARES

काठमाडौँ – एकपटक महात्मा बुद्ध एक गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्यहरू कामविशेषले गाउँमै रोकिएका थिए । उनले सोही दिन अर्को गाउँमा पुगेर त्यहाँका आफ्ना भक्तजनलाई प्रवचन दिनु थियो ।

त्यसैले उनी अलि हतार–हतार हिँडिरहेका थिए । त्यत्तिकैमा त्यहाँ एउटा लुटेरा कतैबाट प्रकट भयो र उसले महात्मा बुद्धलाई रोकिन आदेश दियो । उसले भन्यो, ‘तिमी जहाँ छौ, त्यहीँ बस, अन्यथा म तिम्रो ज्यान लिनेछु ।’

उसको धम्की सुनेपछि महात्मा बुद्ध त्यहीँ रोकिए । उनले मुहारमा मन्द मुस्कान ल्याएर भने, ‘ठीक छ बालक, अहिले म तिमीले भनेबमोजिम रोकिएको छु । मबाट कुनै गल्ती भयो भने तिमी मेरो ज्यान लिन पनि सक्छौ । तर, के तिमी मलाई एउटा सानो सहयोग गर्न सक्छौ ?’

बुद्धको कुरा सुनिसकेपछि सो लुटेराले भन्यो, ‘त्यस्तो के काम हो ? छिटो भनिहाल, मसित फाल्तु समय छैन ।’ लुटेराको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानसाथ भने, ‘बालक, के तिमी मलाई उः त्यो रूखबाट चारवटा पात टिपेर ल्याइदिन सक्छौ ?’ सो लुटेराले बुद्धले भनेकै रूखबाट चारवटा पात टिपेर ल्याइदियो ।

उसले पात टिपेर ल्याइसकेपछि बुद्धले भने, ‘भइगो बालक, यी पात जहाँबाट ल्याएका हौ, त्यहीँ लगेर जोडिदेऊ । मलाई अहिले यसको आवश्यकता परेन ।’

बुद्धका कुरा सुनेपछि झनक्क रिसाएर गर्जिंदै लुटेराले भन्यो, ‘मगज खुस्क्यो कि क्या हो तिम्रो ? रूखबाट टिपेको पात फेरि त्यहीँ कसरी जोड्न सकिन्छ । यस्ता हावादारी कुरा गरेर मलाई अलमल्याउन नखोज ।’ उसका कुरा सुनिसकेपछि पुनः हल्का मुस्काउँदै बुद्धले भने, ‘रूखबाट टिपेको यो पात जोड्न नसकेजस्तै मान्छेको जीवन पनि लिइसकेपछि जोड्न या बिउँताउन सकिन्न ।

अनि, आफूले गर्न नसक्ने वा लिइसकेपछि फिर्ता दिन नसकिने ज्यान लिन तिमी किन खोज्दै छौ ? तिमीले यस्तो अधिकार कसरी पायौ ?’ बुद्धका यस्तो भनाइ सुनेपछि लुटेराका आँखा खुले । ऊ तत्कालै बुद्धको शरणमा पर्‍यो ।