१० करोड बढि जरिवानामा पर्यो सानिमा बैंक


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
32.3K
SHARES

काठमाडौँ – सानिमा बैंक लिमिटेड १० करोड भन्दै बढि रकम जरिवानामा परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले तोकी दिएको उत्पादनशिल/प्राथमिकता प्राप्त क्षेत्रमा गर्न पर्ने लगानी नगरेपछि सानिमा बैंक १० करोड बढि जरिवानामा परेको हो ।

आर्थिक वर्ष २०७३/०७४ र ०७४/०७५ मा कृषि, उर्जा र समग्र उत्पादनशिल क्षेत्रमा प्रबाह गर्न पर्ने ऋण प्रबाह नगरेपछि बैंक जरिवानामा परेको हो । नेपाल राष्ट्र बैंकले २०७३/७४ मा कृषि, उर्जामा १५ र समग्र उत्पादनशिल क्षेत्रमा २० प्रतिशत कर्जा २०७४ असार मसान्तसम्म पुर्याउन पर्ने व्यवयस्था गरेको थियो । उक्त शिर्षकमा लगानी नगरे जरीवाना तिर्नु पर्ने भन्दै राष्ट्र बैंकले परिपत्र माफर्त निर्देशन जारी गरेको थियो । सो निर्देशन अनुसार सानिमा बैंकले न्यूनतम कर्जा प्रवाह नगरेपछि बैंक जरिवानामा परेको हो । असार मसान्तसम्म सानिमा बैंकले कृषी तथा उर्जामा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्नेमा १४.६१ प्रतिशत मात्र कर्जा प्रवाह गरेको छ । कर्जा नपुर्याए बापत बैंकले नेपाल राष्ट्र बैंकलाई करीव ५ लाख ९ हजार ८० रुपैयाँ तिर्न पर्ने राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा १० करोड ९ लाख ९१ हजार ९ रुपैयाँ जरिवाना तिर्न पर्ने छ । २०७४ साल साउन ३१ गते नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले गरेको व्यवस्था अनुसार कृषी, जलविद्युत/उर्जा र पर्यटन क्षेत्रमा क्रमश १०/५/५ प्रतिशत कर्जा प्रवाह गर्न पर्नेमा बैंकले उक्त प्रतिशतको कर्जा प्रवाह नगरेपछि जरिवानामा परेको हो ।

२०७५ असार मसान्तसम्म सानिमा बैंकले कृषीमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह गर्नु पर्नेमा ४.०३ प्रतिशत मात्र कर्जा प्रवाह गरेको थियो । दुबै आर्थिक बर्षको बैंकले लिने अधिकत व्याज ११ प्रतिशत मानेर गणना गर्दा नेपाल राष्ट्र बैंकलाई एकमुष्ट १० करोड १५ लाख ८९ रुपैयाँ तिर्न पर्ने छ । यो रकम बैंकको अधिकतम ब्याजका आधारमा घटबढ हुन सक्छ ।

तर नेपाल राष्ट्र बैंकले उक्त रकम उठाउन आनाकानी गरिरहेको सूचना अभियान्त अंगराज भारतीको भनाई छ । ‘मैले लामो समयदेखि बैंकहरुले उत्पादनशिल क्षेत्रमा प्रवाह गर्न पर्ने कर्जाको विषयमा अध्ययन गरिरहेको छु ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा सूचना अभियान्त भारतीले भने, ‘राष्ट्र बैंकले आफू नजिकका बैंकहरुबाट जरिवाना रकम उठाउन आनाकानी गरिरहेको छ । धेरै बैंकमा गभर्नरदेखि राष्ट्र बैंकका कर्मचारीको लगानी रहेकाले जरिवाना उठाउन आनाकानी गरेको मैले पाएको छु ।’

भारतीले राष्ट्र बैंकको कुनै साइनो नभएका दुई बैंकबाट जरिवाना उठाएको भन्दै अरु बैंकबाट पनि उठाउन पर्ने माग गरेका छन् । ‘जरिवाना रकम जानी-जानी राष्ट्र बैंकलाई बुझाउन पर्ने पहिलो दायित्व बैंकको हुन्छ । अटेरी गरे राष्ट्र बैंकले ताकेता गर्ने हो ।’, उनले भने, ‘तर सानीमा बैंक जरिवाना तिर्ने पक्षमा छैन् । राष्ट्र बैंकले पनि पछिल्लो निर्देशन देखाएर पन्छिएको छ । यसमा राष्ट्र बैंकका कर्मचारीको पनि मिलेमत्तो छ ।’

राष्ट्र बैंकले साविकको नेपाल बंगलादेश बैंक (एनबि बैंक) र स्ट्याण्डर चार्टर बैंकबाट जरिवाना लिइ सकेको छ । बंगलादेश बैंकलाई राष्ट्र बैंकले पेल्न थालेपछि बैंकको अस्तित्व समाप्त भएको छ । राष्ट्र बैंकले आर्थिक बर्ष २०७५/७६ मा एनवि बैंकबाट ४ करोड १ लाख ३२ हजार ४५ रुपैयाँ ९७ पैसा जरिवाना उठाएको थियो । सोही अबधिमा स्ट्याण्डर चार्टर बैंकबाट ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैंसा जरिवाना असुल गरेको थियो । तर अरु बैंकले नपुर्याउँदा जरिवाना लिएको छैन् ।

नेपाल राष्ट्र बैंकले एनबि बैंक र स्ट्याण्डर चार्टर बैंकबाट उठाएको जरिवाना ।

भारतीले नेपाल राष्ट्र बैंकलाई उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह नगर्ने सबै बैंकबाट जरिवाना उठाउन पत्रचार गरिसकेका छन् । तर राष्ट्र बैंकले पछिल्लो पटक जारी भएको सर्कुलरलाई देखाएर जरिवाना गर्नबाट पन्छिएको उनको भनाई छ । ‘कानुनको सामान्य शिद्धान्त भनेको के हो भने जुनदिनबाट कानुन सुरु भएको हो, त्यही दिनबाट लागू हुन्छ ।’ उनले भने, ‘तर राष्ट्र बैंक २०७४ साल साउन ३१ गतेको निर्देशन देखाएर २०७४ असारको जरिवाना छुट गर्ने षड्यन्त्र गरिरहेको छ । यसमा स्वार्थ बाँझिएको छ ।’

भारतीले उक्त रकम राष्ट्र बैंकलाई तिर्न सानीमा बैंकका अध्यक्षलाई पत्र समेत लेखेका छन् । भारतीले ३ दिनभित्र उक्त रकम जम्मागरी आफूलाई सो को जानकारी समेत दिन आग्रह गरेको बताएका छन् । भारतीले दुई बर्षअघि बैंकका ब्राण्ड एम्बेसडर हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई समेत पत्र लेखि राज्यलाई करोडौँ क्षेति पुर्याउने बैंकको प्रचार नगर्न आग्रह गरेका थिए । जवाफमा मदनकृष्ण श्रेष्ठले बैंकले गलत गरेको भए आफूहरु सम्झौता नविकरण नगर्ने बताएका थिए ।

मदनकृष्ण श्रेष्ठले आफूहरुले बैंकसँग यस विषयमा छलफल गरेर आफूले सम्झौता गरेको बताए । ‘एक जना भाईले फोन गरेर पत्र पठाउनु भएको थियो । हामीले उक्त पत्र अनुसार बैंकसँग छलफल गर्यौ ।’, मोटिभेट न्यूज डटकमसँगको कुराकानीमा श्रेष्ठले भने, ‘तर उहाँ भाईलाई बैंकले विज्ञापन नदिएपछि बैंकका विरुद्धमा लागेको जानकारी प्राप्त भयो ।’ स्मरण रहोस् अंगराज भारतीले गएको कार्तिकबाट चंखेली खबर नामको मिडिया संचालन गर्दै आएका छन् । दुई बर्षअघि उनीसँग कुनै पनि मिडिया थिएन् ।

यस विषयमा बुझ्न खोज्दा बैंकले कुनै पनि प्रतिक्रिया दिएको छैन् । बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सम्पर्क गर्दा उनलाई सम्पर्क भएन् । उनी सम्पर्कमा नआएपछि बैंकका सूचना अधिकारी तथा डेपुटी सिइओ तेज बहादुर चन्दले आफू आमाको उपचारका लागि अस्पतालमा रहेको भन्दै जवाफ दिन चाहेनन् । ‘सर म आमा विरामी भएपछि उहाँको उपचारका लागि अस्पतालमा छु । म न हुँदा हेमराज सज्यालले हेर्नुहुन्छ । उहाँसँग कुरा गर्नु न ।’ हेमराज संज्यालले पनि यस विषयमा स्पष्ट जवाफ दिन चाहेनन् ।