झुटो बोल्दा फसाद


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असोज ७ २०७९
95
SHARES

काठमाडौँ – एकपटक एउटा कलेजका चारजना विद्यार्थी परीक्षाको अघिल्लो रात ढिलोसम्म पार्टी गरेर रमाए । मन मिल्ने साथीहरूसित राम्रो समय बिताउन पाउँदा र आफूले चाहेजस्तो खानपिन गरेर रमाउन पाउँदा उनीहरू निकै खुसी भए । तिनले भोलिपल्ट परीक्षा छ भन्ने पनि भुसुक्क बिर्सिए ।

जब बिहान भयो, तब मात्र उनीहरू झल्याँस्स भए । सबैले आज परीक्षा छ भन्ने सम्झिए । त्यसपछि चारैजनाले आजको परीक्षाबाट छुट्कारा पाउन एउटा कथा जन्माए । उनीहरूले आफ्ना हात, शरीर र अनुहारमा ग्रिज र फोहोरमैला दले । अनि कलेजका प्राचार्यसामु उपस्थित भए । उनीहरूमध्ये एकले भने– सर, हामी चारैजना हिजो एउटा विवाहको पार्टीमा गएका थियौँ । पार्टीबाट फर्किंदा अचानक हाम्रो गाडीको टायर पड्क्यो । अनि पूरै बाटाभरि गाडी धकेल्नुप¥यो । हामी सीधै यहीँ आउँदै छौँ ।

उनीहरूको अवस्था देखेपछि प्राचार्यले भने– ओहो १ तिमीहरूमाथि त ठूलै विपत् आइपरेछ । परीक्षाको चिन्ता नगर । अहिले घर गएर आराम गर । परीक्षाको तयारी गर । आजको परीक्षा तीन दिनपछि दिने व्यवस्था मिलाइदिन्छु । अबको तीन दिनपछि मलाई भेट्नू । आफ्नो योजना सफल भएकामा चारैजना भित्रभित्रै मक्ख परे । तर, आफ्नो खुसी दबाएरै भने– हाम्रो मर्का बुझिदिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद सर १ हामी तीन दिनपछि हजुरलाई भेट्नेछौँ । उनीहरू त्यहाँबाट बिदा भएर घरतिर लागे ।

घर फर्केपछि उनीहरूले मन लगाएर परीक्षाको तयारी गरे । र, तीन दिनपछि प्राचार्यसामु उपस्थित भए । राम्रो तयारी गरेकाले उनीहरू आत्मविश्वासी पनि देखिन्थे । प्राचार्यले उनीहरूलाई परीक्षाका लागि अलग–अलग चार कोठामा राखे र प्रश्नपत्र वितरण गरे । जब प्रश्नपत्र हेरे, तब उनीहरू एकाएक झस्किए । अब भने उनीहरूलाई आफूहरूको झुटको पर्दा खुल्ने निश्चित भयो ।

प्रश्नपत्रमा यस्तो सोधिएको थियो–
१) तपाईंको नाम : (१ अंक)
२) गाडीको कुनचाहिँ टायर पड्केको थियो : (९९ अंक)