कन्सल्टेन्सीलाई भ्रमको खेति नगर्न नेपाली दूतावास रसियाको आग्रह


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असोज ७ २०७९
285
SHARES

काठमाडौँ – रसियाको मस्को स्थिति नेपाली दूतावासले नेपाली शैक्षिक परामर्श व्यवसायीहरुलाई भ्रमको खेति नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै भ्रमको खेति गर्दै विद्यार्थीलाई अलपत्र पार्ने काम नगर्न आग्रह गरेको हो ।

दूतावासलेले रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या केहि महिना देखि बढिरहेको भन्दै त्यसरी आएका विद्यार्थीलाई गलत परामर्श दिएको जनाएको छ । ‘नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत स्टुडेण्ट भिसामा रसिया आउने नेपालीहरूले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै यस राजदूतावासमा सम्पर्क गर्ने गरेका छन्।’, दूतावासको सूचनामा भनिएको छ, ‘तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्क बिहिन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ।’

सूचनामा अगाडि भनिएको छ, ‘रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका छन्। तर, भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ।’

स्टुडेण्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन नेपाली विद्यार्थी तथा अभिभावकहरु अपिल गरेको छ । दूतावासले थप जानकारीका लागि दुई जना कर्मचारीको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।

रसियामा समस्यामा द्वितीय सचिव सुशील घिमिरे र सहचारी राज कुमार बस्नेतलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।