अध्ययनका लागि अमेरिका पठाउने कन्सल्टेन्सीले बनाउँछन् नक्कली सर्टिफिकेट
काठमाडौँ – नेपाली विद्यार्थीलाई अध्ययनका लागि अमेरिका पठाउने शैक्षिक कन्सल्टेन्सीहरुले नक्कली सर्टिफिकेट बनाउने गरेको पाइएको छ । मोटिभेट न्यूज डटकमलाई प्राप्त विवरण अनुसार अमेरिका पठाउने सबै कन्सल्टेन्सीहरुले बैंकको व्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेन्ट (कलेजले मागेको खण्डमा) लगायतका कागजात नक्कली बनाउने गरेका छन् ।
उनीहरुले नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन बैंक, प्रभु बैंक, एनसीसी बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक लगायतको लेटरहेड प्रयोग गरेरे नक्कली ब्यालेन्स सर्टिफिकेट बनाउने गरेका छन् । यसरी नक्कली सर्टिफिकेट बनाउनेमा नाम चलेका ठूला कन्सल्टेन्सीहरुदेखि इक्यान, फेकन, आईरिनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु समेत रहेका छन् । उनीहरुले एउटा सर्टिफिकेट बनाएबापत विद्यार्थीसँग १ हजारदेखि २५ हजार रुपैयाँसम्म अशुल्ने गरेको विद्यार्थीको भनाई छ ।

मोटिभेट न्यूज डटकमले एक महिनादेखि गरेको अध्ययन अनुसार बागबजार र पुतलीसडकमा कार्यालय रहेका अधिकांश कन्सल्टेन्सीहरुले बैंक व्यालेन्स देखाउन नसक्ने विद्यार्थीहरुको नक्कली सर्टिफिकेट बनाइदिने गरेका हुन् । अमेरिकाका कलेज तथा विश्वविद्यालयहरुले अध्ययनका लागि विद्यार्थीसँग प्रयाप्त बैंक ब्यालेन्स भएको प्रमाण खोज्ने गरेका छन् । कलेज तथा विश्वविद्यालयलाई झुक्याउन कन्सल्टेन्सीहरुले आफै नक्कली बैंक ब्यालेन्स सर्टिफिकेट बनाइदिएर अफर लेटर मगाउने गरेका छन् । त्यहाँका कलेज तथा विश्वविद्यालयहरुले पनि भेरिफाइ नगरी आई २० अर्थात अफर लेटर दिने गरेका छन् ।
मोटिभेट न्यूजलाई प्राप्त सर्टिफिकेटको नमूनालाई अध्ययन गर्दा पुरै नक्कली भएको प्राणित भएको छ । हामीलाई प्राप्त नेपाल इन्भेष्टमेन्ट बैंकको नमूना सर्टिफिकेट पुरै नक्कली भएको बैंकले जनाएको छ । बैंकका सूचना अधिकारी तथा डेपुटी जनरल म्यानेजर विजेन्द्र सुवालले उक्त नमूना व्यालेन्स सर्टिफिकेट पुरै नक्कली भएको बताए ।
‘आधिकारीक निकायहरु (प्रहरी/अनुसन्धान विभाग), दूतावासहरू, विश्वविद्यालयहरू र अनुपालन विभागबाट मागभई आएको बाहेक तेश्रो पक्षलाई यससँग सम्बन्धीत सूचना दिन मिल्दैन ।’, सूचनाको हकको प्रयाग गर्दै माग गरिएको सूचनाको प्रतिउत्तरमा सुवालले भनेका छन्, ‘तपाईँले पठाएको नमूना व्यालेन्स सर्टिफिकेटमा उल्लेख गरिएको खाता नम्बर हाम्रो बैंकको डाटाबेसमा उपलब्ध छैन । त्यसैले उक्त सर्टिफिकेट पुरै नक्कली हो ।’ यो सर्टिफिकेटधारी विद्यार्थी भिसा लगाएर अमेरिका पुगिसकेका छन् ।

कन्सल्टेन्सीहरुले यसबाहेक शिक्षा मन्त्रालयले जारी गर्ने नो अव्जेक्सन सर्टिफिकेट (एनओसी), शैक्षिक कर्जा स्वीकृत प्रमाणपत्र, अडिट रिपोर्ट समेत नक्कली बनाउने गरेका छन् । केही दिनमा नक्कली सर्टिफिकेट बनाउने कन्सल्टेन्सीहरुको विवरण समावेश गरेर थप फ्लोअप सामाग्री प्रकाशन गर्नेछौँ ।