नक्कली बैंक स्टेटमेन्टका कारण ह्वात्तै बढ्यो अस्ट्रेलियाको भिसा रिजेक्सन

बुधबार, ४ माघ २०७९

काठमाडौँ – चितवनका रविन्द्र पौडेल नाम (परिवर्तन) कक्षा १२ मा ‘ए’ ग्रेड ल्याएर पास भए । विज्ञान संकायबाट राम्रो ग्रेड ल्याएपछि थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाएका उनी काठमाडौं आएर पूर्वतयारी कक्षामा भर्ना भए । नाम चलेको शैक्षिक कन्सल्टेन्सीमा गएर अंग्रेजी परिक्षा आईएलटिएस गर्दै गर्दा अस्ट्रेलियन हाइकमिसनले भिसा पोलिसी परिवर्तन गर्यो ।

विशेषगरी आर्थिक कागजातहरुमा कैफियत देखाउँदै कडाई गरेपछि उनको अस्ट्रेलिया यात्रामा पूर्णविराम लाग्ने सम्भावना बढ्यो । आईएल्समा ७.५ ल्याए पछि कन्सल्टेन्सी संचालकमा लोभ पलायो । विद्यार्थीलाई आफ्नो क्याविनमा बोलाएर भिसा लाग्ने आईडिया बताइदिए । उनको आईडियामा सहमति जनाउँदै अस्ट्रेलियाले विश्वास गर्ने बैंकको नक्कली स्टेटमेन्ट बनाउन कन्सल्टेन्सीलाई अनुमति दिए । त्यही अनुसार नविल बैंकको नक्कली स्टेटमेन्ट बनाएर कन्सल्टेन्सीले भिसा एप्लाई गरिदियो ।

शैक्षिक कन्सल्टेन्सीहरुले नक्कली बैंक स्टेटमेन्ट बनाएर भिसा एप्लाई गरेको सूचनाको आधारमा अस्ट्रेलियन हाईकमिसन नयाँ दिल्लीले स्टेटमेन्ट भेरिफाई गर्न थाल्यो । नविल बैंकसँग इमेलमा गरेको भेरिफाई पछि हाईकमिसनले उनको भिसा रिजेक्सन गरिदियो ।

पौडेल एउटा उदाहरणीय पात्र मात्र हुन् । नक्कली बैंक स्टेटमेन्टका कारण उनी जस्ता थुप्रै योग्य विद्यार्थीहरुको भिसा रिजेक्सन भएको छ । काठमाडौंको बागबजार, पुलतीसडक, नयाँ बानेश्वर, पोखरा, चितवन, बुटवलका शैक्षिक कन्सल्टेन्सीहरुले नक्कली बैंक स्टेटमेन्ट बनाउने गरेको अस्ट्रेलियन हाईकमिसन नयाँ दिल्लीले जनाएको छ । यसरी नक्कली डकुमेन्ट बनाउनेमा नाम चलेका ठूलो कन्सल्टेन्सी रहेको त्यहाँ कार्यरत एक नेपालीले बताए । आफूलाई ठूलो/नामी/प्रसिद्ध कन्सल्टेन्सी भनेर चिनाउनेहरु नै यस्तो धन्दामा लागेको देखियो ।’, नाम उल्लेख नगर्ने सर्तमा ति कर्मचारीले भने, ‘हाईकमिसनले उनीहरुको पनि विश्वास गर्न छोड्यो । मैले भिसा अफिसरसँग एउटा मिटिङ राखेर ब्रिफिङ गरिसकेको छु । अहिले हरेक बैंक स्टेटमेन्टको भेरिफाई हुने गरेको छ ।’

यता, नविल बैंकले पनि आफ्नो बैंकको नक्कली बैंक स्टेटमेन्ट बनेको स्वीकारेको छ । यसरी बैंकको लोगो प्रयोग गर्दै नक्कली स्टेटमेन्ट बनाउने धेरैलाई बैंकले कारवाही गरेको बैंकका सूचना अधिकारी विनय रेग्मीले बताए । ‘बागबजारमा हाम्रो नक्कली बैंक स्टेटमेन्ट बनाउने गरेको सुनेका छौँ । यसरी नक्कली बनाएको भेटेसम्म हामीले कारवाही गरेका छौँ ।’, उनले भने, ‘यसमा अस्ट्रेलियन हाईकमिसनले पनि हामीलाई ठूलो सहयोग गरेको छ । हामीले उहाँहरुका प्रशस्त इमेल आउँदा भेरिफाई गरेर पठाउने गरेका छौँ ।’

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नक्कली डकुमेन्ट प्रयोग गर्दै भिसा आवेदन गर्ने कन्सल्टेन्सीलाई छानिछानी कारवाही गर्न पर्ने बताएको छ । इक्यानका उपाध्यक्ष शेषराज भट्टराईले परामर्श व्यवसायलाई बदनाम बनाउने व्यवसायीहरुलाई कारवाही गर्नुको विकल्प नभएको बताए । ‘नक्कली डकुमेन्ट बनाउने गरेको मैले पनि सुनेको छु ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनले भने, ‘यसरी इण्डस्ट्रीको बदनाम बनाउनेलाई त्यतिकै छोड्न हुन्न ।’

फेकनले पनि सदस्य कन्सल्टेन्सीले नक्कली डकुमेन्ट बनाएको पाइए साधारण सदस्यबाट निश्कासन गर्ने जनाएको छ । फेकनका सदस्य व्यवसायीले नक्कली डकुमेन्ट बनाएको पाइए सदस्यता खारेज गर्दै प्रहरीलाई कारवाहीका लागि पत्र लेख्नेसम्मको कारवाही गर्ने फेकनका अध्यक्ष बासु नेपालले बताए ।

नविल बैंकले स्टेटमेन्टको डिजाइन र फण्ट परिवर्तन गरेपछि नक्कली बनाउनहरुलाई सजिलो भएको एक व्यवसायीले बताए । ‘पहिला इटालियन जस्तो (क्रि म्रि) फण्ड आउँथ्यो । सक्कली र नक्कली छुट्याउन सजिलो थियो । अहिले तर नर्मल फण्टमा प्रिन्ट गरेको हुन्छ ।’, ति व्यवसायीले भने, ‘त्यही भएर नविल बैंकको स्टेटमेन्ट नक्कली बनेको हो । यसअघि अरु बैंकहरुको नक्कली बनाउनेले अहिले नविलको बनाउन थाले ।’