कालोसूचीमा पर्यो कुमारी बैंक

आइतबार, १५ माघ २०७९

काठमाडौँ – मकवानपुरकी निरु लामा (नाम परिवर्तन) मास्र्टर अफ पब्लिक हेल्थ अध्ययनका लागि अस्ट्रेलिया जान चाहन्थिन् । यसबारेमा राम्रो परामर्श दिने शैक्षिक कन्सल्टेन्सीको खोजिमा रहेकी उनी काठमाडौँ पुतलीसडकस्थित एक कन्सल्टेन्सीको कार्यालयमा पुगिन् । धेरै कलेजमा उनले भनेको कोर्ष नभेटिएपछि कन्सल्टेन्सीले थोरै खर्चमा राम्रो अध्ययन गर्न सकिने भन्दै हेल्थ सर्भिस म्यानेजमेन्ट कोर्ष रोज्न सुझाव दियो ।

लामा उक्त कोर्ष अध्ययनका लागि राजी भएपछि कन्सल्टेन्सीले कप्लान विजनेश स्कुलबाट हेल्थ सर्भिस म्यानेजमेन्टका लागि अफर लेटर मगाईदियो । आगामी इन्टेकका लागि तयारी गरेकी उनलाई केही समयपछि नसोचेको झट्का लाग्यो । काठमाडौँको बागबजारस्थित कुमारी बैंक (साविकको एनसीसी बैंक) बाट उनले ४० लाख रुपैयाँको शैक्षिक कर्जा लिएकी थिइन् । उक्त कलेजले ४० लाखको शैक्षिक कर्जा मागेकाले उनले सोही अनुसार बैंकबाट कर्जा लिएकी थिइन् । कर्जा स्वीकृत भएर भिसा आवेदन दिनका लागि कलेजको अन्तिम अस्थायी स्वीकृति पत्र (जिटिई) एप्लाई गर्दा कलेजले जिटिई रद्द गरिदियो । उनको जिटिई रद्द गर्दै कलेजले भन्यो, ‘कुमारी बैंक (साविकको एनसीसी बैंक) को बैंकिङ डकुमेन्टमा विश्वास गर्न सकिएन । अरु बैंकबाट कर्जा लिएर फेरी आवेदन दिनु ।’

लामाको एनसीसी बैंकबाट लिएको ४० लाखको कर्जा ‘निल्नु न ओकल्नु’ भएको छ । यो कलेजले कुमारी बैंकको कर्जा भएका विद्यार्थीको भर्ना नलिने र अरु कलेजमा ४० लाखको कर्जाले नमान्ने भएपछि उनलाई उक्त कर्जा निल्नु न ओकल्नु भएको हो । लामा त एक प्रतिनिधि पात्र मात्र हुन् । कुमारी बैंकबाट कर्जा लिएर अस्ट्रेलिया अध्ययनको सपना बुनेका धेरै विद्यार्थीको भविश्य चौपट भएको छ ।

एनसीसी बैंकलाई प्राप्ति गरेर मर्जरमा गएको कुमारी बैंक कालोसूचीमा परेपछि उनलाई उक्त कर्जा ‘काम न काज’ को भएको छ । शैक्षिक कर्जा स्वीकृति नगरेरै कर्जा स्वीकृतको प्रमाणपत्र उपलब्ध गराएको भन्दै अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले कुमारी बैंकलाई कोलोसूचीमा राखेका छन् ।

यसरी बैंकलाई कालोसूचीमा राख्ने नाम चलेका ठूला कलेजहरु तथा विश्वविद्यालयहरु पनि रहेका छन् । कालोसूचीमा राख्ने कलेजहरुमा कप्लान विजनेश स्कूलसहित, होम्स इन्स्टिच्युट, एक्सलसिया कलेज, अस्ट्रेलियन कलेज अफ एप्लाइड प्रोफिसन्स (एसीएपी), नेवितास् ग्रुप, चिसोलेम् इन्स्टिच्युट लगायतका रहेका छन् । जेम्स कुक विश्वविद्यालय, साउथ क्रस विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, ग्रिफिथ विश्वविद्यालयले पनि बैंकलाई कालोसूचीमा राखेका छन् ।

अस्ट्रेलियाका कलेजहरुले भर्नाका लागि आवेदन दिदा नेपाली विद्यार्थीहरुलाई कुमारी बैंकको बैंक स्टेटमेन्ट, व्यालेन्स सर्टिफिकेट र शैक्षिक कर्जा स्वीकृत प्रमाणपत्र अपलोड नगर्न शैक्षिक परामर्श व्यवसायीलाई सुझाव दिएका छन् । विभिन्न कलेज तथा विश्वविद्यालयले शैक्षिक परामर्श व्यवसायीहरुलाई पठाएको इमेल अनुसार कुमारी बैंक लगायतका बैंकबाट फाइनान्सियल डकुमेन्ट अपलोड गर्दा वास्तविक अस्थायी प्रवेशपत्र (जिटिई) नदिने प्रस्ट पारेका छन् । कुमारी बैंकले नक्कली व्यालेन्स सर्टिफिकेट दिएको, हुँदै नभएको कर्जा स्वीकृत प्रमाणपत्र दिएको, वास्तविक रकमभन्दा धेरैको बैंक स्टेटमेन्ट बनाएको पाइएपछि कालोसूचीमा राखेको शैक्षिक संस्थाहरुले बताएका छन् ।

यता, कुमारी बैंकले आफूहरु कलेजको कालोसूचीमा परेको बारे जानकारी नभएको जनाएको छ । केही वर्षअघि अस्ट्रेलियाले बैंकको डकुमेन्ट नमान्ने गरेको भएता पनि आजभोली कालोसूचीमा परेको बारेमा जानकारी नभएको भन्दै बैंकका वरिष्ट उपकार्यकारी अधिकृत रामचन्द्र खनालले भने, ‘हाम्रो बैंकलाई कालो सूचीमा राखेको बारेमा जानकारी भएन तर केही  वर्ष अघिसम्म चाँही अस्ट्रेलियाले हाम्रो डकुमेन्ट नमानेको साँचो हो । आजभोली त्यस्तो भएको जानकारी छैन । तैपनि हामी कलेजहरुसँग बुझेर निर्णय लिन्छौँ ।’ केही बर्षअघिसम्म अस्ट्रेलियाको भिसा पोलिसी अनुसार नविल र एसविआई बैंकको बैंकिङ डकुमेन्टलाई मात्र स्वीकार गर्ने गरेको थियो । शैक्षिक परामर्श व्यवसायीहरुको चर्को दवावपछि अस्ट्रेलियाले सबै बाणिज्य बैंकहरुको बैंकिङ डकुमेन्ट स्वीकार गर्ने निर्णय गरेको थियो । पछिल्लो समय बैंकले गलत काम गर्न थालेको भन्दै कलेजहरुले आफू खुशी कोलोसूचीमा राखेका हुन् ।

त्यस्तै, नक्कली बैंक स्टेटमेन्ट राखेको भन्दै नयाँ दिल्लीस्थित क्यानडियन हाइकमिसनले पनि विद्यार्थीको भिसा रिजेक्सन गर्न थालेको छ । साविकको एनसीसी बैंकको बैंक स्टेटमेन्ट, व्यालेन्स सर्टिफिकेट नक्कली रहेको भन्दै धेरै विद्यार्थीको भिसा रिजेक्सन गरेको हो । यसअघि बेलायतको म्यान्चेस्टर युनाइडेड एयपोर्टको अध्यागमन कार्यालयले नक्कली शैक्षिक कर्जा बनाएर विद्यार्थी भिसामा आएको भन्दै थुप्रै विद्यार्थीलाई फिर्ता पठाएको थियो । त्यतिबेला बैंकको न्युरोडस्थित शाखाले नक्कली कर्जा सर्टिफिकेट बनाएको पत्ता लागेको थियो । बैंकले विद्यार्थी, अभिभावक वा अरु कसैको खाता नै नखोली कर्जा दिएको भन्दै चर्को आलोचना भएको थियो । अरु बैंकहरु पनि कालोसूचीमा परेको सूचना छ । विस्तृत अध्ययन पछि नयाँ सामाग्री प्रकाशन गर्नेछौँ ।