सस्तोमा ‘पिटिईको डेट’ बुक गरिदिने भन्दै काठमाडौंमा ठगहरूको बिगबिगी

शुक्रबार, १ भाद्र २०८०

काठमाडौं – एक शैक्षिक परामर्श व्यवसायीहरूको छापा संगठनका अध्यक्षलाई भेट्न भारतीयहरूको समूह उनको कार्यालयमा आइपुग्यो । अध्यक्षमार्फत सबै व्यवसायीहरूलाई भेटेर आफ्नो व्यवसायीक स्वार्थ पुर्ति गर्न सकिन्छ की भन्ने हेतुले उनीहरु कार्यालयमा पुगेका थिए । सामान्य परिचयपछि उनलाई भारतीयहरूले आफ्नो व्यवसायीक योजना सुनाए ।

‘हामी सस्तोमा पिटिईको डेट बुक गरिदिन्छौं, विद्यार्थीको स्वास्थ्य इस्योरेन्स र ट्राभल टिकट पनि किनीदिन्छौं । यसले व्यवसायीलाई पनि राम्रो हुन्छ । विद्यार्थीलाई पनि सस्तो पर्छ ।’, उनीहरूको प्रस्ताव उदृढ गर्दै अध्यक्षले भने, ‘हाम्रो पैसा विदेशमा फसेको छ । उक्त रकमलाई लिएर आउन हामीले यो अफर ल्याएका हौँ । यसमा हामीलाई तपाईंको सहयोग चाहिएको छ । तपाईंले भन्नुभयो भने हामी ६० प्रतिशतसम्म कमिसन दिन सक्छौं ।’

‘चार्ज ब्याक’ काण्ड सेलाउन नपाउँदै भारतीयहरूले अर्को प्रस्ताव लिएर आएपछि अध्यक्षको रिसको पारा चढ्यो । उनले अबैध धन्दा चलाएर नेपाली व्यवसायी र विद्यार्थी ठग्न आएको भन्दै आफ्नो कार्यालयबाट तुरुन्त निकाले । ‘मेरो कार्यालयमा आएर अबैध कामको प्रस्ताव ल्याउन तपाईंलाई कसले भन्यो ? संघको अध्यक्षलाई अबैध प्रस्ताव लिएर आउने ? तपाईंलाई गेटबाट भित्र छिर्न कसले अनुमति दियो ? तुरुन्त जान्छौंकी पुलिस बोलाउँ भनेपछि माफिमाग्दै उनीहरु गए ।’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का नवनिर्वाचित एक कार्यसमिति सदस्यको कार्यालयमा एक अर्का यस्तै व्यक्ति भेटिए । उनको नाम थियो दिलिप बास्तोला । डिबि इङ्लिस ल्याङ्गोइज इन्टिच्युटको संचालक बताउने उनी यसमा काम गर्दाका फाइदाहरु सुनाइरहेका थिए । ‘म सस्तोमा पिटिईको डेट बुक गरिदिन्छु । तपाईंलाई चाहिन्छ भने भन्नुहोला ।’, व्यवसायीको कार्यकक्षामा भेटिएका बास्तोलाले भने, ‘अहिले तपाईंले पिटिई बुक गर्दा २७ हजार रुपैयाँ तिर्नुपरेको छ । हामी तपाईंलाई २४ हजारमा यो सेवा दिन्छौं । एक दुईटा काम गरेर हेर्नुहोस् । फाइदै हुन्छ ।’

‘हामीले विदेशबाट किनेर विद्यार्थीलाई दिने हो । त्यसमा केही प्रतिशत हामी राखेर तपाईंलाई दिने हो । तपाईंले केही प्रतिशत राखेर विद्यार्थीलाई दिनुहोस् ।’, उनी भन्दै थिए, ‘विदेशमा मेरो मान्छेको पैसा रोकिएको छ । त्यो लिएर आउनलाई समस्या भएकाले हामी उतै भुक्तानी गरिदिन्छौं । तपाईं हामीलाई यता दिनुहोस् ।’

माथिका घटनाहरू उदाहरणमात्र हुन । नाम चलेका शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी)ले पनि यस्ता धन्दा चलाइरहेका छन् । निकै पुरानो र चलेको ओली एण्ड एसोसिएट्सले पनि २४ हजार ५ सयमा पिटिई बुक गरिदिने भनेर विज्ञापन गरेको छ । अर्को एउटा प्रशनल पिटिई नामको फेसबुक पेजबाट २४ हजारमै पिटिई भनेर विज्ञापन गरिएको छ । यो सबै ठगी धन्दा हो । यसले विद्यार्थी ठगीने खतरा उत्तिकै हुन्छ भने नेपाल सरकारले मूल्य अभिबृद्धी करबाट ठूलो रकम गुमाउँछ । राज्यको खाताबाट खर्च गर्नुपर्ने डलर अनेत्रैबाट खर्च हुँदा डलरको अपचलन हुन्छ र राज्यलाई आउने राजस्व गुम्छ ।

यो सरासर ठगी हो, विदेशी मुद्रा अपचलन हो । पिटिईको परिक्षा दिनका लागि विश्वव्यापि एउटै मूल्य तोकिदिएको हुन्छ । पर्सन पिटिई नाम संस्थाले चलाएको यो परिक्षामा १९० अमेरिकी डलर तिरेपछि सहभागी हुन पाइन्छ । परिक्षामा आएको स्कोरका आधारमा विद्यार्थीको भविश्य निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकले आज (१८ अगस्ट २०२३) का लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा कायम गरेको छ । यसरी हिसाव गर्दा एउटा विद्यार्थीले पिटिई परिक्षाको डेट बुक गर्न २५ हजार २ सय २० रुपैयाँ ६० पैसा (मुल्य अभिबृद्धीकर बाहेक) तिर्नुपर्छ । धेरै व्यवसायीहरुले यसमा १३ प्रतिशत भ्याट जोडेर विद्यार्थीसँग पैसा उठाउने गरेका छन् ।

यसरी सस्तोमा पिटिईको डेट लिदिन्छु भन्नेहरूले १३ प्रतिशत करछली गरिरहेका छन् । एक जना विद्यार्थीले पिटिईको परिक्षा दिदा ३ हजार १ सय ४९ रुपैयाँ राज्यलाई मूल्य अभिवृद्धी कर तिर्नुपर्ने हुन्छ । विचौलीयाहरूले त्यही भ्याटको रकम कम गरेर बजारमा पिटिई परिक्षा बेचिरहेका छन् । उनीहरूबाट किन्ने कन्सल्टेन्सीहरूले करछली गरिरहेका छन् । उनीहरुले करछली मात्र गरेका छैनन् विदेशी मुद्रा अपचलनसमेत गरेका छन् ।

इक्यानका बोर्ड सदस्यको कार्यालयमा भेटिएका बास्तोलाले आफूले एप्लाई बोर्ड नामक अबैध अनलाइन प्लेटफर्मबाट पिटिई खरिद गरेर विक्री गरिरहेको बताए । एप्लाई बोर्डले २१ हजार नेपाली रुपैयाँमा पिटिईको डेट बुक गरिदिने गरेको छ । क्यानेडीयन कम्पनी एप्लाई बोर्डले २१ हजार नेपाली रुपैयाँ लिएर क्यानडा, अस्ट्रेलियाबाट डलर डेट बुकगरी दिने, नेपाली व्यवसायीबाट २१ हजार रुपैयाँ उठाउने र विद्यार्थीलाई १९० अमेरिकी डलरकै भौचर पठाउने गरेको व्यवसायीको भनाई छ ।

नेपाली नागरिकले अग्रेजी परिक्षा (आइएलटिएस, पिटिई) को डेट बुक गर्दा नेपालका कुनैपनि बाणिज्य बैंकबाट डलर सटही गरेर गर्न सक्छन् तर यसलाई शैक्षिक परामर्श व्यवसायीहरुले करछलीको माध्ययम बनाएका छन् । डलर अपचलनको धन्दा बनाएका छन् । धेरै व्यवसायीले बैंकिङ च्यानल झण्झटिलो भएको भन्दै आफ्ना विद्यार्थीको विदेशबाट पिटिईको डेट बुक गर्ने गरेका छन् ।

इक्यानका अध्यक्ष भट्टराईले यस्ता कार्यहरूलाई निरुत्साहित पार्न नयाँ कार्यसमिति जोडतोडका साथ लाग्ने बताए । साथै उनले व्यवसायीहरूलाई उनीहरुको प्रलोभनमा नपर्न अपिल समेत गरे । ‘अपरिचित व्यक्ति आएर विभिन्न प्रलोभन देखाउन सक्छन् । यस्ता प्रलोभनमा पर्नुहुँदैन ।’, मोटिभेटसँगको भेटमा भट्टराईले भने, ‘अहिले केही पैसा कमाउन त सकिएला तर पछि आफैलाई समस्या आउँछ । चार्ज व्याकले धेरैलाई समस्या निम्त्याएको छ, यो पनि त्यस्तै भयो भने ?’ यो विषयमा नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय काठमाडौं बेखर छन् ।