बैंकबाट हरायो २ अर्व १२ करोड, अध्यक्षले चोरेको आशङ्का

आइतबार, २८ असोज २०८०

काठमाडौं – गैरआवासीय नेपालीहरूको लगानीमा संचालित सानिमा बैंकबाट २ अर्व १२ करोड रुपैयाँ हराएको छ । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य प्रचार–प्रसार दूत रहेका बैंकबाट ठूलो रकम हराएको हो । बैंकका कर्मचारी र संचालक समितिको मिलेमत्तोमा रकम चोरी भएपछि बैंकिङ सिस्टमबाट यो रकम हराएको हो ।

बैंकले उपलब्ध गराएको विवरण अनुसार रकम चोरी भएको प्रष्ट देखिएको छ । आर्थिक वर्ष २०७५/२०७६ को कार्तिक महिनामा जलविद्युत शिर्षकमा बैंकले स्वीकृत गरेको कर्जा र सोही समयमा बैंकमा भएको रिकभरीको हिसाव भिडाउँदा रकम नमिलेपछि बैंकबाट रकम चोरी भएको रहस्य खुलेको हो ।

बैंकले कार्तिक महिनामा १०६०८.०० (अक्षरुपी १० अर्व ६० करोड ८० लाख रुपैयाँ) को कर्जा स्वीकृत गरेको छ । असोज महिनाको अन्तिमसम्म बैंकले रु. २६६९.०० (अक्षरुपी २ अर्व ६६ करोड ९० लाख रुपैयाँ) मात्र कर्जा बजारमा प्रवाह गरेको थियो । असोज अन्तिमको कर्जा कार्तिकको सुरुको कर्जा हुन्छ । कार्तिकको सुरुको कर्जा (रु. २६६९.००) मा कार्तिक महिनामा स्वीकृत भएको (रु.१०६०८) बाट रु. ६६.०० कर्जा ऋणीलाई भुक्तानी भएको छ ।

अब कार्तिक महिनाको वास्तविक कर्जा रु. २६६९ मा रु. ६६.०० थपिएकोले जम्मा कर्जा रु. २७३५.०० (अक्षरुपी २ अर्व ७३ करोड ५० लाख हुन्छ । कार्तिक महिनामा बजारमा गएको वास्तविक कर्जा (रु. २७३५.००) बाट रु. ४९१.०० ( अक्षरुपी ४ करोड ९१ लाख) कर्जा रिकभरी भएको छ । वास्तविक कर्जा (२७३५) बाट असुली (४९१) घटेकोले अब कार्तिक महिनाको वास्तविक कुल कर्जा २२४४ (अक्षरुपी २ अर्व २४ करोड ४० लाख) मात्र हुन्छ ।

वास्तविक कुल कर्जा रु. २२४४.०० मात्र भएको अवस्थामा बैंकले कार्तिक महिनाको जलविद्युत शिर्षकमा आफ्नो वास्तविक कुल कर्जा रु. २५८८ हो भनि आफ्नो प्रतिवेदनमा देखाई सकेको छ । नेपाल राष्ट्र बैकलाई पनि रु. २५८८ नै हो भनि प्रतिवेदन पठाएकोले नेपाल राष्ट्रले पनि जलविद्युतमा बैंकको कर्जा रु. २५८८ नै हो भनि प्रतिवेदन नै सार्वजनिक गरेको छ । जम्मा वास्तविक कर्जा रु. २२४४ भएको अवस्थामा रु. २५८८ भनि देखाएकोले रु. २२४४ र रु. २५८८ बिचको फरक रु. ३४४.०० (३ करोड ४४ लाख) रकम कहाँ गयो ? यो रकम कहि कतै पनि नदेखिएकोले बैंकका कर्मचारी र संचालक समितिको मिलेमत्तोमा रकम चोरी भएको आशङ्का गरिएको हो । तत्कालिन समयमा बैंकका कार्यकारी अधिकृत भुबन दाहाल र बैंकका अध्यक्षको मिलेमत्तोमा रकम हराएको आशङ्का छ ।

माथिको उदाहरण एक महिनाको मात्र हो, हरेक महिनामा करोडौं रकम हिनामिना गरेर बैंकबाट २ अर्व १२ करोड रुपैयाँभन्दा धेरै रकम हराएको हाम्रो अध्ययनले देखाएको छ । बैंकले बेलाबेलामा सार्वजनिक गरेको तथ्याङ्क र नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अध्ययन गर्दै रकम चोरी भएको देखिएको हो ।

कसरी चोरियो ?

नेपाल राष्ट्र बैंकले बैंकको संचालक समितिका अध्यक्षसहित सदस्यहरुलाई कर्जा प्रवाह गर्न कडाई गरेपछि चोर बाटोबाट बैंकका कर्मचारीसँगको मिलेमत्तोमा संचालक समितिका सदस्यहरुले रकम हिनामिना गरेका हुन् । व्यापारमा लगानी गर्नका लागि कर्जा नपाउने भएपछि संचालक समिति सदस्यहरुले बजारबाट रिकभर भएको रकम सिस्टममा नदेखाएर चलाएको मोटिभेटको प्रारम्भीक अनसन्धानबाट देखिएको छ । लामो समयसम्म बैंकको रकम चलाउने, उपयुक्त समय आएपछि रकम फिर्ता गर्ने र फेरी त्यसैगरी अध्यक्ष र संचालक समितिका सदस्यहरुले चलाउने गरेको आशङ्का छ ।

मानौं, जलविद्युत क्षेत्रमा ए भन्ने व्यक्तिले लिएको कर्जा असोज मसान्तमा चुक्ता गर्छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले संचालक समितिका अध्यक्षलाई कर्जा रिकभरी भएको जानकारी दिन्छन् । अध्यक्षले उक्त रकम आफूलाई चाहिएको भन्दै लिएर जान्छन् । कर्जा रिकभरी भएको सिस्टममा देखिदैन् । ऋणिको ऋण जस्ताको तस्तै हुन्छ । लामो समय चलाएपछि अध्यक्षले उक्त रकम बैंकमै फिर्ता गर्छन । फिर्ता गरेको रकमसहितको रिपोर्ट निकाल्दा बास्तविक कर्जाभन्दा धेरै हुन आउँछ । यो चक्र निरन्तर चलिरहन्छ । त्यही भएर सानिमा बैंकबाट ठूलो मात्रामा रकम हराएको वा चोरी भएको हो ।

के भन्छ बैंक ?

सानिमा बैंकले यस विषयमा केही पनि प्रतिक्रिया दिएको छैन । बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीलाई सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । विषयको जानकारी गराउँदा पनि उनीहरु सम्पर्क विहिन भएका छन् ।