होराइजन रिसर्चको गोप्य रिपोर्टले कन्सल्टेन्सी बजारमा तरङ्ग, थुप्रै व्यवसायी फरार (रिपोर्टसहित)
काठमाडौं – एक रहस्यमय संस्थाको गोप्य रिसर्च रिपोर्टले शैक्षिक परामर्श क्षेत्र तरङ्गी बनेको छ । अस्ट्रेलियाको पर्थमा केन्द्रीय कार्यालय रहेको होराइजन रिसर्च नामको संस्थाले सार्वजनिक गरेको ‘होराइजन रिसर्च कन्फिडेन्सियल इन्फरमेशन’ शिर्षकको रिपोर्टले शैक्षिक परामर्श क्षेत्र तरङ्गी बनाएको हो ।
जनवरी ३ तारिखका दिन सार्वजनिक भएको रिपोर्टमा नेपालका नाम चलेका ठूला व्यवसायीहरुले विद्यार्थीको भिसा आवेदन दिदा शंकास्पद कागजात पेस गरेको, नक्कली कागजात पेस गरेको, नेपाल सरकारलाई करछली गरेको, नेपाल राष्ट्र बैंकलाई झुक्याएको, नक्कली एनओसी बनाएको आरोप लगाइएको छ । साथै, यस्ता व्यवसायीहरुको नेपालमा कारोबारसमेत शंकास्पद रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
अस्ट्रेलियाको कानून विपरित काम गर्ने संस्थाहरुमा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस् पहिलो नम्बरमा छ । एक्स्पर्टका निर्देशक बद्री अर्याल, सञ्जिव श्रेष्ट र खेम संग्रौलाले अस्ट्रेलियन हाइकमिसनलाई प्रभावमा पारेर गलत गतिविधि गरिरहेको आरोप उक्त रिपोर्टमा छ । यो रिपोर्टमा राजनीतिक पहुँचका आधारमा विना दर्ता संचालनमा रहेको भुपेन्द्र सिटौलाको अस्ट्रेलियन कम्पनी आइडिपी स्टुडेन्ट सर्भिसेस्, भारतमा केन्द्रीय कार्यालय रहेको नारायण बजाजको ग्लोबल रिच एजुकेशन, उमेश खड्काको मिराई ग्लोबल, सुरज केसीको विग एजुकेशनले गलत धन्दा चलाइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
उक्त रिपोर्टमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्वउपाध्यक्ष राजेन्द्र रिजाल, पूर्वमहासचिव सन्तोष प्याकुरेल लगायतले समेत विद्यार्थीलाई प्रभावमा पारेर भिसा आवेदन गर्न लगाएको आरोप लगाएको छ । तर उक्त रिपोर्ट व्यक्तिगत रिसेविका कारण तयार भएको हुनसक्ने व्यवसायीहरुको आरोप छ । उनीहरुले व्यवसायीलाई बदनाम गर्न, धरापमा परेको व्यवसाय झन धरासयी बनाउन, आफ्ना स्वार्थ पुरा गर्नका लागि कसैले मनगणन्ते रिपोर्ट बनाएको जिकिर गरेका छन् । इक्यानमा निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले व्यक्तिगत रिसेविका कारण कसैले साइवर अपराध गरेको बताए ।
‘नक्कली आईपी प्रयोग गरेर कसैले व्यवसायीलाई त्रसित बनाएको देखिएको छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा उनले भने, ‘म अहिले उपत्यका बाहिर छु । काठमाडौं आएपछि साइवर व्युरोमा उजुरी दिएर कारवाहीको प्रक्रिया अगाडि बढाउने सोचेको छु । सायद सोमबार उजुरी गर्छाैं होला ।’ अरु व्यवसायीले पनि आफूहरुमाथि कसैले रिस पोखेको हुनसक्ने बताएका छन् । अघिल्लो पटक एआईविटी काण्ड आउँदा पनि एक्स्पर्ट एजुकेशनमाथि प्रहार भएको थियो । यो पटक पनि एक्स्पर्टलाई साइजमा ल्याउन कसैले ब्ल्याकमेल गरेको हुनसक्ने नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले बताए ।
‘एक्स्पर्टले लामो समयदेखि प्रगति गर्दै आएको छ । केही बर्षअघि चितवनमा क्यापिटल कलेज किनेको एक्स्पर्टले त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई अस्ट्रेलिया पुर्याएको थियो । त्यो क्रम अहिले पनि जारी छ ।’, उनले भने, ‘एक्स्पर्टले अहिले हाइड्रोमा पनि लगानी गरेको छ । यो उनीहरुमाथिको सुनियोजित प्रहार हो । उसलाई प्रहार गर्दा अरु व्यवसायीको पनि नाम आयो ।’ एक्स्पर्टले भने आफूहरुले केही पनि गलत काम नगरेको प्रतिक्रिया दिएको छ । ‘हामीले आजसम्म राज्यलाई राम्रो कर तिरिरहेका छौं । विद्यार्थीलाई सहि परामर्श दिएर राम्रो सेवा दिइरहेका छौं । नेपालमा यो रिपोर्टले हामीलाई खासै केही असर गर्दैन् ।’, एक्स्पर्टका निर्देशक खेम संग्रौलाले भने, ‘अब यही रिपोर्टका आधारमा अस्ट्रेलियन हाइकमिसनले भिसा दिन छोड्यो भने अर्को विकल्प सोचौंला । तर हामी जस्तो व्यक्तिले प्रभावमा पारेर प्रभावित हुन् अस्ट्रेलियन हाइकमिनका कर्मचारी पनि त कारवाहीको भागिदार होलान् ?’ उनले आफूहरु केही पनि गलत नगरेकाले साइवर व्युरोमा उजुरी दिएर सत्य तथ्य बाहिर ल्याउने तयारीमा रहेको बताए ।
यो रिपोर्टमा ठोस ठेगाना, सम्पर्क नम्बर र सम्पर्क व्यक्तिको नाम उल्लेख नगरेकाले धेरैले विश्वास गरेका छैनन् । ‘रिसर्च रिपोर्ट बनाउन धेरै मिहिनेत लाग्छ ।’ इक्यानमा पूर्व महासचिव सन्तोष प्याकुरेलले भने, ‘यसमा कसले रिसर्च गरेको हो, किन रिसर्च गरेको हो, यसको कार्यालय कुन शहरको कुन घरमा छ, यसको सम्पर्क ठेगाना वा व्यक्ति को हो ? भनेर खुलाइएको छैन । रिपोर्टमा भाषा, ग्रामर पनि मिलेको छैन । यो अलिअलि अंग्रेजी जानेको मान्छेले कोठामा बसेर तयार पारेको रिपार्ट हो । हामी यसबाट डराउन आवश्यक छैन ।’
यो रिपोर्ट आएपछि थुप्रै व्यवसायीहरु सम्पर्क विहिन भएका छन् । यही रिपोर्टका आधारमा आन्तरिक राजश्व कार्यालयले छापा हान्ने डरले केही व्यवसायीहरु खातापाता व्यवस्थापन गर्न लागेका छन् भने केही व्यवसायीहरु भागेका छन् । रिपोर्टमा केहिबाहेक सबैको तस्वीर पनि राखिएको छ । रिपोर्ट सार्वजनिक भएको इमेलमा रिपोर्टको सत्यता, रिसर्चको विधि र प्रमाण माग्दै मोटिभेटले इमेल पठाएको छ । उक्त इमेलको प्राप्तिपछि थप सामाग्री सम्प्रेषण गर्नेछौं ।
