‘क्यानडा पठाउने भन्दै, विद्यार्थी ठग्दै’ युरो ग्लोब कन्सल्टेन्सीका ‘राम शाह’

आइतबार, ७ माघ २०८०

काठमाडौं – युरो ग्लोब एजुकेशन कन्सल्टेन्सी तथा करिअर्स डेभलपमेन्टका संचालक राम शाहले क्यानडा पठाइदिने भन्दै विद्यार्थी ठग्ने गरेको पाइएको छ । क्याानडामा दर्तासमेत नभएको भोकेशनल कलेजहरुबाट अफर लेटर मनाएको भनेर नक्कली अफरलेटर बनाई विद्यार्थीसँग लाखौं रकम अशुल्ने गरेको पाइएको हो ।

उनले क्यानडाको क्यानडियन टेक्नोलोजी कलेजमा भर्ना गरिदिने भन्दै एक सयभन्दा धेरै विद्यार्थीको रकम उठाएको पीडित विद्यार्थीले बताएका छन् । ‘राम शाहले विभिन्न बहानामा पैसा मागे, हामीले पनि भिसा लाग्ने भएपछि भनेजति पैसा दियौं ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएकी एक विद्यार्थीले भनिन्, ‘अहिले भिसा रिजेक्सन भनेर आयो । त्यो कलेजमा कसैको पनि भिसा नलाग्ने रहेछ । हामीलाई भिसा ग्यारेन्टी भनेर ठग्यो ।’

उनले एक जना विद्यार्थीबाट तीन लाखसम्म रुपैयाँ उठाएको पीडित विद्यार्थीको भनाई छ । ‘पहिलो अफवेयरमा काम पनि पाइन्छ भनेर म जस्ता धेरै युवालाई प्रलोभन देखायो । त्यसमा भिसा नलागेपछि भोकेशनल कलेजमा पठाउने भन्यो ।’, उनले भनिन्, ‘अहिले त्यसमा पनि भिसा लागेन । राम शाह भन्ने मान्छे युवालाई ठग्न बसेको रहेछ । म जस्ता एक सयभन्दा धेरै विद्यार्थीलाई ठगेको छ ।’ ‘उसले भिसा आउँछ भनेर १ बर्षसम्म झुलायो । पैसा धेरै खर्च भयो । तर भिसा लागेन ।’, नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन्, ‘भिसा नलागेपछि हामीले पैसा फिर्ता माग्यौं । हाम्रो खर्च भएको पैसा फिर्ता गर्न आनाकानी गरेको छ ।’

‘आफ्टर पे भिसा’ को नारा दिएर विद्यार्थी ठगिरहेको एक अर्का विद्यार्थीको आरोप छ । ‘भिसा लागेपछि मात्र पैसा पठाउने हो, अहिले कलेजमा पैसा पठाउनु पर्दैन भनेर सुरुमा फकायो ।’, पीडित विद्यार्थीले भने, ‘त्यो त उसको पैसा उठाउने धन्दा रहेछ । हाम्रो भिसा नलागेपछि मात्र हामीले चाल पायौं ।’ उनले प्रोसेसिङ गरिदिने भन्दै एक जना विद्यार्थीबाट ३ लाखसम्म पैसा लिने गरेको पीडितको भनाई । केही विद्यार्थीहरुले कार्यालय घेरेपछि कन्सल्टेन्सीले पैसा फिर्तासमेत गरिसकेको छ । ‘१०/१५ जना युवाहरु आएर अफिस घेरेपछि उनीहरुको पैसा फिर्ता गरेको छ ।’, अर्का पीडित विद्यार्थीले भने, ‘ठूलो स्वर गरेर कराएपछि पैसा दिने रहेछ । केही दिन अगाडि युवाहरुले प्रहरीकोमा बुझाएपछि उनीहरुको पनि पैसा फिर्ता गरेको थियो ।’

बैंकमार्फत रकम बुझाएको प्रमाण

बैंकमार्फत रकम बुझाएको प्रमाण

कन्सल्टेन्सी संचालक राम शाहले भने प्रमाणसहित विद्यार्थी आए आफूले पैसा फिर्ता गरिदिने बताए । ‘मलाई पैसा दिएको प्रमाणसहित आएको खण्डमा पैसा फिर्ता गरिदिन्छु ।’, उनले भने, ‘तर पैसा दिएकै छैन, नदिएको पैसा नै दिएको हो भनेर ब्ल्याकमेल गर्छ भने त्यो त राम्रो हुँदैन ।’ मोटिभेट न्यूजसँगको टेलिफोन संवादमा शाहले मोवाइलको स्कृनसर्ट आफूलाई मान्य नहुने बताए । ‘मलाई बैंकको स्टेटमेन्ट चाहिन्छ, मोवाइलको स्कृनसर्टले हुँदैन ।’, उनले भने, ‘उसले ल्याएको बैंक स्टेटमेन्ट र मेरो बैंक स्टेडमेन्ट म्याच गराएर मात्र पैसा फिर्ता गर्छु ।’

तर विद्यार्थीले बैंकमार्फत भन्दा पनि क्यास धेरै बुझाएको बताएका छन् । ‘हामीले बैंकमार्फत त थोरै पैसा पठाएको हो । उसले क्यास माग्ने गर्थ्यो, हामीले पनि भिसा लाग्ने आसले क्यास बुझाएका थियौं ।’, विद्यार्थीले भने, ‘मोवाइल बैंकिङको स्कृनसर्ट मान्दैन भन्नु ठगको भाषा हो । उसले विभिन्न बहाना बनाएर पन्छिन खोज्दैछ ।’ क्यानडियन टेक्नोलोजी कलेज क्यानडामा दर्ता भएको छैन । क्यानडामा बुझ्दा यो नामको कुनै पनि कलेज नभएको पाइएको छ । दर्ता नभएको कलेजमा विद्यार्थी पठाउने भन्दै शाहले विद्यार्थीबाट पैसा उठाएर ठगी गरेका तथ्यले देखाएको छ । शाहले भने अहिले उक्त कलेज बन्द भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले राम्रै गर्न खोजेको हो । तर विद्यार्थीको भिसा लागेन । हामीले काम गर्ने क्यानडियन टेक्नोलोजी कलेज गएको अक्टोबरमा बन्द भयो । अहिले त्यो कलेज चालु छैन ।’, उनले भने ।

सुरुमा शाहले आईएलटिएस नचाहिने, अन्तरवार्ता नहुने, भिसा रेट उच्च रहेको र भिसा लागेपछि मात्र ट्युसन फि पठाउनुपर्ने भन्दै विद्यार्थीलाई प्रलोभनमा पारेका थिए । उनको प्रलोभनमा परेका विद्यार्थीहरुले आफूहरु ठगिएको आरोप लगाएका छन् ।

विद्यार्थी ठग्न कन्सल्टेन्सीले बनाएको प्रचार सामाग्री

विद्यार्थी ठग्न कन्सल्टेन्सीले बनाएको प्रचार सामाग्री