मोटिभेट समाचार प्रभाव : आकारुईले फिर्ता गर्यो नक्कली डकुमेन्ट बनाउन लिएको पैसा
चितवन – चितवनको आकारुई एजुकेशन कन्सल्टेन्सीले नक्कली डकुमेन्ट बनाउने भन्दै विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । जापानको ताकाराजुका विश्वविद्यालयमा २०२३ अप्रिल इन्टेकमा एप्लाई गरेका ३१ जना विद्यार्थीको पैसा फिर्ता गरिदिएको हो ।
मोटिभेटले गएको बैशाख १९ गते ‘नक्कली डकुमेन्ट बनाउँछ चितवनको आकारुई एजुकेशन’, शिर्षकमा समाचार बनाएको थियो । विश्विद्यालयसँग पैसा फिर्ता माग्ने भन्दै कस्सिएको कन्सल्टेन्सीले समाचार सम्प्रेषण भएपछि पैसा तिर्न तयार भएको थियो । विद्यार्थीले दिएको जानकारी अनुसार आकारुईले एक जना विद्यार्थी बराबर ४० हजार रुपैयाँका दरले पैसा फिर्ता गरेको छ ।
नक्कली डकुमेन्ट बनाएर विद्यार्थी झुक्याए बापत आकारुईले यो बर्ष १२ लाख ४० हजार रुपैयाँ तिरेको छ । जापानको ताकाराजुका विश्वविद्यालयले संचालन गरेको जापानीज भाषा अध्ययन कार्यक्रममा भर्नाका लागि पठाइएका डकुमेन्ट नक्कली भएको पाइएपछि विश्वविद्यालयले ३१ जना विद्यार्थीको डकुमेन्ट फिर्ता गरिदिएको थियो । लामो समयपछि डकुमेन्ट फिर्ता भएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विद्यार्थीको आक्रोश थेग्न नसकेपछि कन्सल्टेन्सीले विश्वविद्यालयलाई गुहारेको थियो । विश्वविद्यालयले कन्सल्टेन्सीले नक्कली डकुमेन्ट बनाएर पठाएकाले यसको क्षतिपुर्ति कन्सल्टेन्सीले तिर्नुपर्ने भन्दै इमेल लेखेको थियो ।
कन्सल्टेन्सीका संचालक प्रज्वल पौडेलले सबै विद्यार्थीको पैसा फिर्ता गरेको स्वीकारेमा छन् । ‘हाम्रो भन्दा पनि विश्वविद्यालयको गल्ती हो । विश्वविद्यालयले समयमै विद्यार्थीको सीओई एप्लाई नगरिदिएर उनीहरुको भविष्य वर्वाद पारिदिएको हो । तिम्रो कारण विद्यार्थीको भविश्य विग्रीयो विद्यार्थीको पैसा फिर्ता गर भन्दा मानेन । त्यही भएर आफैले सेटल गरेको छु ।’ श्रोतले दिएको जानकारी अनुसार पौडेलले साथीहरुसँग सापटी मागेर यो नक्कली डकुमेन्ट काण्ड सेटल गरेका छन् ।
आकारुईले विद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र, बैंकिङ डकुमेन्ट, सम्पत्ति विवरण लगायतका डकुमेन्ट बनाएबापत ४० हजार रुपैयाँ लिएको थियो । नक्कली डकुमेन्ट बनाएर भिसा आवेदन गर्दा भिसा नलागेपछि विद्यार्थी र उनका अभिभावकले पैसा फिर्ता मागेका थिए ।
पौडेल नेपाल शैक्षिक परामर्श संघ इक्यान चितवनका उपाध्यक्ष हुन् । तत्कालिन कोषाध्यक्ष रहेको उनले पदको दुरुपयोग गर्दै विश्वविद्यालयसँग आफूले नक्कली डकुमेन्ट बनाएको पैसा फिर्ता मागेका थिए । त्यही समाचारका कारण विश्वविद्यालयमा कार्यरत चितवनका एक नेपालीको जागिर चट भएको छ । अहिले उनले विचौलियाको काम गर्न जापानमा नयाँ कम्पनी खोलेका छन् ।