जापान पढ्न जाने विद्यार्थीले सजिलै शैक्षिक कर्जा पाउने

बुधबार, २७ असार २०८१

काठमाडौं – अध्ययनका लागि जापान जान चाहने विद्यार्थीले सजिलै शैक्षिक कर्जा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएपछि विद्यार्थीले सजिलै शैक्षिक कर्जा पाउने भएका हुन् ।

उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।

बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात् विद्यार्थीहरूले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्नेछन् ।