‘एलआईसी नेपालमा बीमा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
18.7K
SHARES

काठमाडौँ – भारतीय बीमा कम्पनी एलआईसी नेपालमा बीमा गर्नु भनेको ‘आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह भएको’ पीडितले गुनासो गरेका छन् । बीमितको मृत्यु भएर दाबि गर्दा भुत्तानी नगरेको भन्दै पीडितले यस्तो गुनासो गरेका हुन् ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका स्वः अर्जुन कुमार अधिकारीको मृत्यु भएपछि दावि भुक्तानीका लागि एलआईसी नेपालको शाखा कार्यालय कोहलपुरमा निवेदन दिएको लामो समय भैसक्दा पनि भुक्तानी नगरेपछि मृतक अधिकारीका दाई चक्र बहादुर अधिकारीले ‘बीमा गर्नु भनेको आफ्नो खुट्कामा आफैले बन्चरो हान्नु सरह भएको’ बताए ।

दुई तीन दिनमा भुक्तानी दिन्छु भनेको थियो, भुक्तानी पाउनु भयो भन्ने मोटिभेट न्यूजको प्रश्नमा अधिकारीले भने, ‘दिएको छैन, नेपाल लाइफ इन्सुरेन्स र कर्मचारी संचय कोषको पैसा आयो । त्यही भारतीय कम्पनी एलआईसी नेपालको आउन बाँकी छ । यसमा बीमा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो । म त कसैलाई पनि बीमा नगर्न सल्लाह दिन्छु ।’

कोरोना भाइरसको संक्रमणभई मृत्यु भएका अधिकारीले एलआईसी नेपालमा ४ बर्षअधि जीवन बीमा गरेका थिए । उनको मृत्यु पश्चात परिवारका सदस्यले मृत्यु पछि भुक्तानी माग गर्दा कम्पनीले झुलाउँदै आएको थियो । अघिल्लो मंगलबार मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै कम्पनीका कोहलपुर शाखा प्रमुख सूर्य बहादुर बुढाथोकी सबै काम पुरा भइसकेकाले अबको एक दुई दिनमा भुक्तानी हुने बताएका थिए । तर उनले भनेको पाँच दिन भइसक्दा पनि भुक्तानी नगरेको पीडित अधिकारीको भनाई छ ।

‘पहिला यो कुरा मिलेन भन्यो, त्यो कुरा मिलेन भन्यो,’ अधिकारीले मोटिभेटसँग भने, ‘अहिले सबै मिल्दा पनि भुक्तानी गर्न आनाकानी गरिरहेको छ ।’ यस विषयमा कम्पनीका कोहलपुर शाखा प्रमुख बुढाथोकीसँग कुरा गर्न खोज्दा उनको फोन उठेन । उनको फोन नउठेपछि हामीले कम्पनीका सूचना अधिकारी सृजना नेपाललाई सम्पर्क गर्यो । उनले आफूलाई यस विषयमा जानकारी नहुने बताइन ।

‘मलाई यस विषयमा जानकारी हुँदैन सर । म खाजा खाँदैछु ।’ उनले मोटिभेटसँग भनिन्, ‘सुदर्शन सरकारसँग कुरा गर्नु न उहाँलाई जानकारी हुन्छ ।’ कम्पनीका सचिव सुदर्शन गिरीलाई टेलिफोन गर्दा उनले पनि फोन उठाएनन् ।

मान्छेको मृत्यु भएको भए मृत्यु दावि गर्ने विक्तिकै भुक्तानी गर्नपर्ने बीमा समितिले जनाएको छ । समितिका प्रबक्ता राजु रमन पौडेलले कुनैपनि कम्पनीले मृत्यु दावि गर्ने वित्तिकै भुक्तानी गर्न पर्ने बताए । ‘मृत्यु दावि मृत्यु भएपछि दावि गर्न आउने विक्तिकै दिन पर्छ । यदी कसैले दिएको छैन् वा उसको सेवा चित्त बुझेन भने बीमा समितिमा उजुरी गर्न सक्छ ।’ मोटिभेट न्यूजसँग कुरा गर्दै उनले भने, ‘उजुरी गर्ने अन्तिम निकाय बीमा समिति हो । बीमा समितिमा उजुरी गर्ने वित्तिकै हामी कम्पनीलाई कारवाही गरेर भुक्तानी दिलाइदिन्छौँ ।’

मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल