फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप
काठमाडौं – शैक्षिक परामर्श व्यवसाय क्षेत्रको दोश्रो ठूलो छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का अध्यक्ष राजु निरौलामाथि मानव तस्करी गरेको आरोप लागेको छ । संस्थाको दुरुपयोग गर्दै निरौलाले संस्थागत अस्ट्रेलिया भ्रमण (फार्म ट्रिप) गर्दा असम्बन्धीत व्यक्तिहरुलाई टिममा राखेर मानव तस्करी गरेको आरोप लागेको हो । उनीमाथि ‘अस्ट्रेलिया फार्म ट्रिप’ नामक कार्यक्रम डिजाइन गरि फेकनको कार्यसमिति तथा साधारण सदस्यसमेत नभएको व्यक्तिलाई टिममा राखेर अस्ट्रेलिया पु¥याएको आरोप छ ।
निरौलामाथि भिसा लगाएर अस्ट्रेलिया पुगेका असम्बन्धीत व्यक्तिसँग प्रतिव्यक्ति ३० लाखका दरले रकम उठाएको आरोप छ । श्रोतले दिएको जानकारी अनुसार फेकनले यस्ता १५ जनालाई भिसा आवेदनका लागि सिफारिस गरेको थियो । फेकनको सिफारिसमा भिसा आवेदन दिएकामध्ये ८ जनाको भिसा लागेको बताइएको छ । जसमध्ये दुई जनाको नाम मोटिभेट न्यूजको समाचार डेक्समा प्राप्त भएको छ । चितवनमा सुजन अर्याल र हेटौडाका पुस्करराज मैनालीले फेकनका अध्यक्षलाई प्रभावमा पारी अस्ट्रेलिया पुगेको अतिगोप्य श्रोतबाट प्राप्त विवरणमा उल्लेख छ । यो फार्म ट्रिप अहिले पनि जारी छ । टिममा गएका व्यक्तिहरु फेकनको सम्पर्कमा नरहेको बताइएको छ ।
‘उहाँहरु अस्ट्रेलिया पुगेपछि फेकनको सम्पर्कमा हुनुहुन्न । सायद पैसा लिएर भगाएको हुनुपर्छ ।’, श्रोतले भन्यो । फेकनले २०८० साल साउन ३२ गते अस्ट्रेलिया भ्रमण गर्ने निर्णय गरेको थियो । बैठकले कार्यसमितिमा रहेका १५ जना सदस्यलाई फार्म ट्रिपका लागि अस्ट्रेलियाका शैक्षिक संस्थाबाट निमन्त्रणा मगाउने र उनीहरुलाई नै भ्रमण भिसाका लागि अस्ट्रेलियन हाइकमिसन, नयाँ दिल्लीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर पछि निर्णय विपरित भिसा आवेदन दिदा २९ जनालाई सिफारिस गरेको श्रोतको भनाई छ । ‘हामीले विश्वास गरेर साथीलाई काम गर्ने जिम्मा दियौं । तर उहाँहरुले गलत गर्नुभएको रहेछ ।’, फेकनका एक पदाधिकारीले भने, ‘हामीलाई हाम्रा पदाधिकारीको समेत भिसा नलागेपछि संका उत्पन्न भयो । छानविन गर्दै जाँदा गल्ती गरेको पुष्टि भयो ।’
फेकनका अध्यक्षमाथि मानव तस्कर जस्तो आपराधिक र घिणित कार्य गरेको आरोप लागेपछि आन्तरिक छानविन समितिसमेत बनेको छ । फेकनका पूर्वअध्यक्ष मानवहादुर राईको संयोजकत्वमा बनेको ५ सदस्यीय समितिले अस्ट्रेलिया फार्म ट्रिप नामको कार्यक्रममा असम्बन्धीत व्यक्तिलाई भिसा आवेदनका लागि सिफारिस गरेको पुष्टि गरेको छ । मोटिभेटलाई प्राप्त ५ पृष्ठ लामो छानविन प्रतिवेदनमा अध्यक्ष र बरिष्ठ उपाध्यक्षलाई दोषी ठहर गरेको छ । अध्यक्ष पक्षले भने एकपक्षीय प्रतिवेदन अस्वीकार गरेको छ ।
‘अब फेकनमा चुनाव लाग्यो भनेर बुझ्नुहोस् । पूर्वअध्यक्ष बासु नेपाल र महासचिव छवि ओझाले गुटबन्दी गर्नका लागि यो सबै फण्डा गरेका हुन् ।’, अध्यक्ष निकट श्रोतले भन्यो, ‘हाम्रो सचिव पृथ्वीबहादुर चन्दको भिसा लागेन भनेर बबण्डर गरिएको हो । भिसा दिने फेकनले हो ? अध्यक्षले हो ? कि उपाध्यक्षले ? आफू भिसाका लागि योग्य नहुने अनि आफ्नो भिसा लागेन भनेर रुँदै कराउँदै हिड्नु त भएन नी ।’
फार्म ट्रिप काण्ड : छानविन समिति गठन त्रुटिपूर्ण छ – पूर्वअध्यक्ष कटुवाल
फेकनका बरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय मामिला प्रमुख उमेश कुश्वाहले पृथ्वीबहादुर चन्दको भिसा नलागेपछि छानविन समिति बनेको बताए । ‘जसको भिसा लागेको छैन उसैलाई छानविन समितिमा राखेको छ । गुटबन्दी गरेको छ । अब फेकनमा चुनाव लाग्यो भनेर बुझ्नुहोस् ।’, बरिष्ठ उपाध्यक्ष उमेश कुस्वाहले भने, ‘यो फार्म ट्रिपले फेकनलाई अस्ट्रेलियामा स्थापित गरेको छ । अरु संस्थाहरुलाई फेकनले फार्म ट्रिप गरेर यसरी व्यवसायीलाई एक्स्पोजर दिएको चित्त बुझेको छैन । फेकनले गरेका व्यवसायीमैत्री गतिविधि धेरैलाई मन परेको छैन । त्यही भएर यसलाई स्क्याण्डल बनाइएको हो । हामीले फेकनको सदस्य व्यवसायीभन्दा बाहिरको मान्छेलाई ट्रिपमा लिएका छैनौं । त्यस्तो कार्य हामीबाट हुँदैन ।’
फार्म ट्रिप काण्ड : प्रक्रिया गलत भयो होला, यसको जिम्मेवारी म लिन्छु : निरौला