कन्सल्टेन्सीमै पुग्छ प्रभु बैंकको नक्कली शैक्षिक कर्जा, सीईओकै छ मिलेमत्तो

सोमबार, १५ मंसिर २०८२

काठमाडौं – पुतलीसडकको एक शैक्षिक कन्सल्टेन्सीले शैक्षिक कर्जाका लागि विद्यार्थीको पासपोर्ट र विश्वविद्यालयको अफर लेटर इमेल गरिदियो । अर्विट इन्ट्रान्स प्रिपरेशन सेन्टरलाई इमेल गरेको आधा घण्टामा विद्यार्थीको शैक्षिक कर्जाको सर्टिफिकेट (पेपर लोन) कन्सल्टेन्सीमै आइपुग्यो । कन्सल्टेन्सीले ति विद्यार्थीको शैक्षिक कर्जालाई समेत आधार मानेर अस्ट्रेलियाको भिसा एप्लाई गरिदिए ।

भिसा एप्लाई गरेको केही दिनमा अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीले प्रभु बैंकलाई शैक्षिक कर्जा भेरिफाइ गर्न इमेल गर्यो । सम्बन्धित शाखामा गरिएको इमेलबाट यो कर्जा स्वीकृत भएको रेकर्ड नभेटिएको भन्दै हाइकमिसनलाई जवाफ फर्कायो । कर्जा नक्कली भएको पाइएपछि विद्यार्थीको भिसा रिजेक्सन भयो र ५ लाख बढी रकम गुम्यो ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । अर्विटले यस्ता थुप्रै विद्यार्थीलाई नक्कली शैक्षिक कर्जा बनाएर विद्यार्थीको जिन्दगी वर्वाद पारिरहेको छ । प्रभु बैंकका सीईओ अशोक शेरचनले चर्को कमिसनका लागि सुनिल रेग्मीको अर्विटसँग सम्झौता गरी नक्कली कर्जा प्रमाणपत्र बनाउने ठेक्का दिएका छन् । रेग्मीले विद्यार्थीबाट नेपाल राष्ट्र बैंकले तोकेको सेवा शुल्क लिएर नक्कली कर्जा प्रमाणपत्र बनाउँदै विद्यार्थीको हातमा सक्कली हो भनेर थमाएकै कारण केही बर्षअघि बेलायतबाट विद्यार्थीहरु फर्किएका थिए ।

रेग्मीले एक जना विद्यार्थीको ४० लाखदेखि १ करोडसम्मको कर्जा स्वीकृत भएको प्रमाणपत्र दिने गरेका छन् । उनले कर्जा स्वीकृत गरेको जानकारी बैंकका सीईओलाई दिन्छन् । त्यही नक्कली कर्जा स्वीकृत गरेबापत रेग्मीले एउटा विद्यार्थीबाट सेवा शुल्कको नाममा कुल कर्जा रकमको ०.७५ प्रतिशत लिने गरेका छन् । यसरी रेग्मी र शेरचन मिलेर एक जना विद्यार्थीबाट ३० देखि ७५ हजार रुपैयाँ उठाउँछन् । यसरी उठाएको रकम बैंकका सीईओ शेरचन, डिसीईओ मणिराम पोखरेल लगायत सुनिल रेग्मीले दामासाहीका दरमा भाग लगाउने गरेका छन् ।

नक्कली कर्जा स्वीकृत गरेबापत बर्षमा एक जनाको भागमा ३ देखि ५ करोड भन्दा धेरै पर्ने गरेको छ । रेग्मीको अर्विटले बर्षमा लगभग ५ हजार भन्दा धेरै नक्कली कर्जा स्वीकृतको प्रमाणपत्र विद्यार्थीको हातमा थमाइदिने गरेका छन् । कर्जा स्वीकृत गरेको विवरण बैंकको सिस्टममा देखिँदैन । सिस्टममा नदेखिएपछि विद्यार्थीलाई कर्जाको रकम भुक्तानी गर्नपनि परेन । बैंकलाई पनि उक्त कर्जा दिएबापत पर्ने दायित्वको भार पनि परेन ।

बैंकको यो धन्दाले अस्ट्रेलिका थुप्रै विश्वविद्यालयले प्रभु बैंकको शैक्षिक कर्जा अस्वीकार गर्दै आएका छन् । बेलायत, अमेरिका, जापान लगायत देशमा भिसा लगाउनका लागि यही नक्कली कर्जा प्रयोग हुँदै आएको छ । बेलाबेलामा बेलायतले कर्जा भेरिफाइ गर्ने भएपनि अन्य देशले खासै मतलव गरेको पाइदैन ।

सीईओको यो धन्दाले बैंकले अर्बोंको नाफा गुमाएको छ भने करोडौंको सर्विस चार्ज सीईओ डिसीईओको खल्तिमा पुगेको छ । अर्कै बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बैंकका सीईओ, डिसीइओ र सीसीओलाई पक्राउ गरेको छ । उनीहरुमाथि नक्कली शैक्षिक कर्जा बनाएर विद्यार्थीलाई ठगेको अभियोगमा पनि अनुसन्धान गर्न शैक्षिक परामर्श व्यवसायीले माग गरेका छन् ।

उनीहरु पक्राउ परेको जानकारी पाएपछि रेग्मी फरार भएका छन् । उनले कुनै पनि शैक्षिक परामर्श व्यवसायीको टेलिफोन उठाएका छैनन् भने काम पनि ठप्प पारेका छन् । मोटिभेट न्यूजको समेत फोन नउठाएका उनले म्यासेजको रिप्लाई समेत गरेका छैनन् ।

यसअघि पनि उनीहरुबीचको सम्बन्धबारे मोटिभेट न्यूजले समाचार लेखेको थियो । पहिलो समचार लेखेपछि बैंकले उनीसँगको सम्झौता तोडेको थियो । सम्झौता तोडिएपछि रेग्मी यस्तै सम्झौताका लागि माछापुच्छ्रे बैंक, प्राइम कर्मसियल बैंकमा गएका थिए । मोटिभेट न्यूजले रेग्मीका कर्तुत बताएपछि उनीहरुले सम्झौता गर्न आनाकानी गरेका थिए । अरु बैंकले आनाकानी गरेपछि रेग्मी पुन: प्रभु बैंककै शरणमा पुगेका थिए । सीईओ  शेरचनले पुनः सम्झौता गरेर गैरकानुनी धन्दाको सुरु गर्दै बैंकलाई कमजोर र आफू मोटाउने कर्मको थालनी गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रभु बैंकले लात हानेपछि माछापुच्छ्रे बैंकको शरणमा पुगे सुनिल

तेस्रो पटक किन सीईओ बन्दैछन् अशोक शेरचन ?